गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २१ गते । केन्द्रीय बैङ्कबाट उपलब्ध गराइने पुनर्कर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउन पुनर्कर्जा कार्यविधि, २०७७ को मस्यौदा तयार भएको छ । नेपाल राष्ट्र बैङ्कले साना तथा घरेलु उद्यमका लागि १५ लाखसम्मको पुनर्कर्जा दिन सकिने प्रावधानसहित पुनर्कर्जा कार्यविधि, २०७७ ल्याएको हो ।
कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्दै उद्यम व्यवसाय प्रभावकारी रूपमा पुनः अगाडि बढाउने लक्ष्यका साथ केन्द्रीय बैङ्कले उक्त कार्यविधि ल्याएको हो । बैङ्कले लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन प्रकारका पुनर्कर्जा लिन सकिने गरी प्रबन्ध गरेको छ । लघु, घरेलु तथा साना उद्यमका लागि केन्द्रीय बैङ्कले दुई प्रतिशत ब्याजदरमा बैङ्क तथा वित्तीय संस्थालाई ऋण उपलब्ध गराउने भएको छ ।
बैङ्क तथा वित्तीय संस्थाले पाँच प्रतिशत ब्याज लिएर त्यस्तो कर्जा प्रवाह गर्न सक्नेछन् । यस्तै विशेष पुनर्कर्जामा राष्ट्र बैङ्कले एक प्रतिशतमा दिने रकममा बैङ्क तथा वित्तीय संस्थाले तीन प्रतिशत ब्याज लिन सक्नेछन् ।
साधारण पुनर्कर्जामा राष्ट्र बैङ्कले तीन प्रतिशत ब्याजदरमा दिने रकम बैङ्क तथा वित्तीय संस्थाले पाँच प्रतिशतसम्म ब्याज लिएर लगानी गर्न पाउनेछन् ।
पुनर्कर्जा कोषको सीमा सञ्चालक समितिले समय निर्धारण गरेबमोजिम हुने भनिएको छ । राष्ट्र बैङ्कका अनुसार प्रतिग्राहक १५ लाख रुपियाँसम्मको लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, १० करोड रुपियाँसम्मका विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्ट रूपमा प्रदान गरिनेछ ।
राष्ट्र बैङ्कले जारी गरेको निर्देशनानुसार बैङ्क तथा वित्तीय संस्थाले समय तोकेर कर्जाका लागि आह्वान गर्नुपर्नेछ । तोकिएको कागजातसहित ग्राहकले बैङ्कका सम्बन्धित शाखामा निवेदन प्राप्त भएको एक महिनाभित्र पुनर्कर्जासम्बन्धी निर्णय गरिने राष्ट्र बैङ्कले जनाएको छ । बैङ्कको प्रतिशाखा पाँच ग्राहकले मात्रै त्यस्तो कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । उद्योगको सञ्चालन अवस्था राम्रो रहेको वा विगत तीन वर्षको मुनाफा औसतमा प्रतिवर्ष पुँजीमा प्रतिफल २० प्रतिशत वा सोभन्दा बढी रहेका उद्योग व्यवसायले भने त्यस्तो कर्जा नपाउने भएका छन् ।