logo
२०८१ मंसिर १४ शुक्रवार



विश्व बैङ्कले करिब १२ अर्ब रुपियाँ ऋण उपलब्ध गराउने

अर्थ |


विश्व बैङ्कले करिब १२ अर्ब रुपियाँ ऋण उपलब्ध गराउने


गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २१ गते । नेपालको विद्युत क्षेत्रको वित्तीय सुनिश्चिता, सुशासन प्रवर्द्धन र कोरोना प्रभावबाट उन्मुक्तिलाई लक्षित गर्दै विश्व बैङ्कले १० करोड डलर (करिब १२ अर्ब रुपियाँ) ऋण उपलब्ध गराउने भएको छ ।

डेभलपमेन्ट पोलिसी क्रेडिटअन्तरगतका तीनमध्ये दोस्रो चरणका लागि यो ऋण प्रवाह हुने बैङ्कले जनाएको छ । नेपालको विद्युत क्षेत्रको आर्थिक सम्भाव्यताको प्रवर्द्धन गर्न आवश्यक नीतिगत संस्थागत तथा नियमनकारी पक्षमा खर्च गर्ने विश्व बैङ्कले जनाएको छ ।

यो सहयोगबाट नेपाल विद्युत प्राधिकरणको वित्तीय स्थिरता सुधार, क्षेत्रीय बजारमा नेपालको विद्युतकाे पहुँच स्थापित गर्ने तथा नेपाल विद्युत प्राधिकरणको पुनःसंरचनालगायतका क्षेत्रमा रकम परिचालन हुनेछ ।

सङ्कटको समय र सङ्कटपछिको समयमा नेपालको विद्युत क्षेत्रमा सुधार गर्नु महत्वपूर्ण रहेको विश्व बैङ्कका नेपाल प्रबन्धक फरिस हदद जर्भोसले बताउनुभयो ।

गुणस्तरीय, सर्वसुलभ र दीगो विद्युत क्षेत्रको विकासमार्फत गरिबी निवारण तथा समृद्धिका यो क्षेत्रमा लगानी र सहयोग बढाउने रणनीतिलाई विश्व बैङ्क सघाउन तयार रहेको उहाँको भनाइ छ ।

पछिल्लो समयमा नेपालले विद्युत उत्पादन बढाउँदै चुहावट नियन्त्रण, अन्तरदेशीय प्रसारण लाइनको निर्माण गरेर लोडसेडिङ अन्त्य गर्दै ठूलो प्रगति गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना प्रभावले नेपालको विद्युत् क्षेत्रमा परेको तत्कालीन, मध्यम र दीर्घकालीन प्रभावको मूल्याङ्कन गरी विकास ऋण नीति अन्तर्गतको तेस्रो प्याकेजको ऋणबाट सम्बोधन गर्ने पनि विश्व बैङ्कले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?