गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २३ गते । नुवाकोटको देवीघाटमा बनाइएको ठूलो आकारको सौर्य आयोजनाबाट १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ । हिउँदको समयमा हुने विद्यु्त् कमीका बेला उपयोग हुने गरी विद्युत् सम्मिश्रण सन्तुलनका लागि यो आयोजना सुरु गरिएको हो । यो आयोजनाको कुल क्षमता २५ मेगावाट रहेको छ ।
आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युत्गृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत् केन्द्रकोे जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारणमा जोडिएको हो । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुनेछ । २५ मेगावाट जडित क्षमताको ग्रिडमा आबद्ध यो नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार यो आयोजनाबाट आगामी मध्यसाउनसम्म १० मेगावाट विद्युत् ग्रिडमा जोडिने छ ।
खासगरी देवीघाटमा रहेको सबस्टेसनको क्षमता कमजोर रहेकाले हाल न्यून मात्र विद्युत् उत्पादन थालिएको हो । बाँकीको काम अगाडि बढिरहेको तर प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेकाले निर्माणमा केही समय लाग्ने देखिएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । गत वैशाखभित्रै १५ मेगावाट ग्रिडमा जोड्नेगरी काम गरेकामा बन्दाबन्दीका कारण निर्माण प्रभावित भएको उहाँकोे भनाइ छ ।
सरकारले आगामी दस वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र यसमा विभिन्न खाले विद्युत्को सम्मिश्रणको सूत्र तय गरेअनुरूप यो आयोजना बनाइएको हो । यसअनुरूप राष्ट्रिय विद्युत् प्रणालीमा जलाशययुक्त तथा पम्प स्टोरेजबाट ३०–३५ प्रतिशत, पिकिङ रन अफ द रिभरबाट २५–३० प्रतिशत, रन अफ द रिभरबाट ३०–३५ प्रतिशत र अन्य वैकल्पिक स्रोतबाट ५–१० प्रतिशत अनुपात कायम रहने व्यवस्था गरिएको छ ।