पुँजी बजारलाई स्वच्छ, पारदर्शी, प्रभावकारी एवं प्रतिष्पर्धी बनाई पुँजी परिचालक तथा लगानीकर्ताका लागि पहुँच बढाउने, त्यसलाई विश्वसनीय बनाउने, लगानीकर्ताको हित संरक्षण गर्ने लगायत समग्र पुँजीबजारको नियमन तथा सुपरिवेक्षण गर्ने प्रमुख जिम्मेवारी बोकेको नेपाल धितोपत्र बोर्ड स्थापनाको २७ वर्ष पुरा गरी २८ औं वर्षमा प्रवेश गरेको छ । पछिल्लो समय पुँजी बजारप्रति आम लगानीकर्ताको आकर्षण बढिररहेका बेला यसको नियामक निकाय धितोपत्र बोर्डको भूमिका पनि महत्वपूर्ण रहनु स्वाभाबिकै छ । यसअघि धितोपत्र बोर्डको विज्ञ सञ्चालकको जिम्मेवारीसमेत सम्हालिसक्नुभएका धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानासँग नेपालमा पूँजी बजारको बिकास, समस्या र सम्भावनामा केन्द्रित रहेर गोरखापत्रका पत्रकार भेषराज बेल्बासेले गर्नुभएको कुराकानीः
नेपालमा धितोपत्र बजारको विकास र यसको प्रवद्र्धनमा बोर्डको प्रयासलाई कसरी समीक्षा गर्नुहुन्छ ?
धितोपत्र बोर्डको स्थापना गर्दा यसलाई तीन चार वटा जिम्मेवारी दिइएको छ । त्यसमा आर्थिक विकासको लागि पुँजी परिचालन गर्ने र पुँजी बजारको विकास गर्ने, लगानीकर्ताको हित संरक्षण, धितोपत्र निष्काशन, खरिदबिक्री तथा यसको विनिमयलाई व्यवस्थित बनाउने, धितोपत्र बजारको काम कारबाही, नियमन र व्यवस्थापन गर्ने अनि वस्तु विनिमय बजार नियमन र व्यवस्थापन गर्ने, क्रेडिट रेटिङ व्यवसायको प्रवद्र्धन गर्ने, इजाजत नियमन र व्यवस्थापन गर्ने जिम्मेवारी मुख्य छन । यहि जिम्मेवारी सहितको कार्यक्षेत्रभित्र रहेर हामी अगाडि बढिरहेका छौँ ।
नेपाल धितोपत्र बोर्ड स्थापनाको अहिले २७ वर्ष पुरा गरि २८ औँ वर्षमा लागेको छ । यो अवधिमा यसले धेरै उतारचढाव ब्यहोरेको छ । त्यसबेला सेक्युरीटि खरिद विक्री केन्द्रबाट नेपालको पुँजी बजार कारोबार शुरु भएकोमा अहिले नेपाल धितोपत्र बोर्ड, नेप्से, सीडिएस, मर्चेन्ट बैंकर, डिपी एबं आस्वा सदस्यहरुको निक्कै ठुलो सञ्जाल बनेको छ । अहिले झण्डै सवा दुईसय वटा संगठित संस्थालाई यसले नियमन गरिहेको छ । त्यसैले गर्दा यसको दायरा अहिले धेरै फराकिलो बनेको छ । धितोपत्र बजारको विकासका लागि विगतमा भएका प्रयासको सम्वद्र्धन गर्दै अझै धेरै कुरा गर्न बाँकी नै छ । पुँजी बजारको नियामक संस्था भएको हिसाबले बजारमा कसरी स्थिरता ल्याउने भन्ने प्रमुख चुनौति हामीलाई छ ।
बजार भन्ने वित्तिकै हाम्रो दिमागमा एउटा मुद्रा बजार अर्को पुँजी बजार आउँछ । मुद्रा बजार नेपाल राष्ट्र बैंकले नियमन गर्दछ र पुँजी बजार धितोपत्र बोर्डले । यी दुईवटै बजारको बीचमा ठुलो अन्तरसम्बन्ध हुन्छ । मुलुकको आर्थिक विकासमा यी दुई वटै बजारको समानुपातिक विकास भएर जानुपर्छ ।
पूँजी बजारमा अहिलेका मुख्य चुनौती के के देख्नु भएको छ ?
अहिले हेर्ने हो भने पुँजी बजारमा व्यवसायिकताको अभाव देखिन्छ । यहाँ काम गर्ने जति पनि संघसंस्था छन् तिनीहरुमा यो मात्रै मेरो व्यवसाय हो र यसबाटै मैले जीविकोपार्जन गर्न सक्छु वा म अन्य व्यवसायमा आश्रित हुनु पर्दैन भन्ने भावना राम्रोसँग जागिसकेको अवस्था देखिँदैन । ब्रोकरहरु काम गर्छन तर उनीहरु पनि अरु सहायक व्यवसायमा संलग्न रहनु पर्दछ भन्छन् । इन्भेस्टर छन उनीहरु पनि हामीले सेयर कारोबार मात्र हैन अरु व्यवसाय पनि गर्नुपर्छ भन्छन् । त्यस्तै अन्य क्षेत्रमा पनि व्यवसायिकता अभिबृद्धि भएको देखिँदैन । यसलाई अभिबृद्धि गर्नुपर्ने अवस्था छ ।
बजारमा सूचना र प्रविधिको विकास उच्चतम स्तरको हुनुपर्ने ठाउँ पुँजी बजारमा सूचना प्रविधिको उच्चतम प्रयोग हुन सकेको देखिँदैन । यही बोर्डभित्रै पनि यो प्रविधिको विकास गर्नुपर्ने अबस्था छ । कारोबारका संयन्त्र पनि सूचना प्रविधिमा आधारित हुनुपर्ने हो । सेयरको कारोबार भयो, सेयर कारोबार सेटलमेन्टका कुराभए , त्यस्तै पुँजी बजारमा प्रयोग हुने के वाइ सि, यसको वितरण प्रणाली, यसको प्रयोग र पहँुचमा अभिबृद्धि गर्ने कुरा पनि हामीले अहिले बढाउनुपर्ने अवस्था छ ।
यदि सूचना प्रविधिको प्रयोग अहिले पुँजी बजारमा राम्रो भएको हुन्थ्यो भने यतिखेर यो बन्द गर्नुपर्ने अवस्था पर्दैनथ्यो । त्यसले गर्दा हामीले सूचना प्रविधिको विकास पुँजी बजारमा गर्नुपर्ने छ । त्यस्तै पुँजी बजारका क्रियाकलापमा संस्थागत सुशासनको पनि राम्रो विकास भएको देखिँदैन । यसले के देखाउँछ भने बजारको कारोबारमा कर्पोरेट गभर्नेन्स राम्रो नभएको हुनाले त्यसलाई प्रभाब पार्ने विभिन्न व्यक्ति, संस्थाहरु सक्रिय हुन्छन । जसले बजारलाई सहि दिशामा अगाडि बढ्न मद्दत पु¥याउँदैन । बजारमा कायम हुने मूल्य, कारोबार, स्वच्छ प्रवृत्ति जस्ता बिबिध पक्षलाई राम्रोसँग विकासको लयमा लैजान सकिएको छैन भन्ने कुरा पनि बजारमा आइरहन्छ ।
धितोपत्र बजारमा बेला बेलामा समस्या र अवरोध आउने गरेको पाइन्छ । यस्तो समस्या समाधान गर्न के कस्ता नीतिगत र प्रक्रियागत व्यवस्था गरिएको छ ?
हामीले पाँच छ महिनाको अवधिमा ऋणपत्रको कारोबारलाई सकेसम्म दोस्रो बजारमा ल्याउने गरि व्यववस्था मिलाएका छौं । यहि सन्दर्भमा यो छ महिनाको अवधिमा रु १०० अर्बका ऋणपत्र लिष्टिङ गरेका छौँ । त्यस्तै विभिन्न कम्पनीको आइपीओलाई स्वीकृति दिएका छौँ । त्यसपछि आएर चार वटा विनियमाबली संशोधन गरेका छौँ । जसमा धितोपत्र दर्ता तथा निष्काशन नियमाबली, धितोपत्र व्यवसायी नियमाबली, सामुहिक लगानी कोष नियमाबली, मर्चेन्ट बैंकको नियमाबली संशोधन गरेका छौँ र नेपाल सरकारमा पठाइसकेका छौँ । तत्कालै आएर विशिष्टिकृत लगानी कोषसम्बन्धी नियमावली अनुसार संस्था दर्ता गर्ने प्रक्रियालाई अगाडि बढाएका छौँ । वस्तु विनिमय बजारको सञ्चालन गर्नको निमित्त प्रक्रिया अगाडि बढाउन छलफल भइरहेको छ । यस्तै विभिन्न किसिमका काम भइरहेका छन । खासगरी यो ‘अनलाइन रिपोटिङ’ र ‘सिस्टम इम्प्रुभमेन्ट’को लागि पनि हामीले प्रक्रिया सुरु गरि सकेका छौँ । यस्तै केही कामहरु भएका छन यो समयमा ।
अहिले ब्रोकरमार्फत मात्रै कारोबार भइरहेको छ । यसलाई व्यापक बनाउन बैंकिङ क्षेत्रलाई पनि सहभागी गराउनुपर्छ भन्ने सुझाव आएको छ । यसमा के हुँदैछ ?
सेयर बजारमा सेयरको कारोबार वा ऋण पत्रको कारोबार वा मिसाएर भन्दा धितोपत्र कारोबार व्यवस्थित गर्ने सन्दर्भमा विभिन्न किसिमका मोडालिटि विभिन्न मुलुकले अवलम्बन गरेका छन । अवलम्बन गरिएका ति नीतिमध्ये कसैले कमर्सियल बैंक मोडल र कसैले ब्रोकर मोडल प्रयोग गरेका छन् । कसैले यी दुईवटै प्रयोग गरेका छन् । कसैले कमर्सियल मोडल, ब्रोकर मोडल, र प्रतिनिधि मोडल यी तीन वटैलाई ‘कम्बाइन्ड’ गरेर पनि गरेका छन् । यसमा के हुन्छ भने हामीले सर्वसाधारणलाई बजारप्रति जति सहज पहुँच दिन सक्छौँ उनीहरुको सहभागिता पनि त्यत्तिनै बढि विकास र विस्तार हुनसक्छ ।
अहिले हामीसँग ब्रोकर मोडल मात्र छ, धेरैको चाहना वाणिज्य बैंकहरुको सहायक कम्पनीमार्फत पनि कारोबार हुने व्यवस्था होस भन्ने छ । यसमा अझै केही विवाद पनि छ । एकातिर अहिले काम गरिरहेका ब्रोकर हामी नै गरिहाल्छौ नि बैंक किन चाहियो, बजारै पुग्दैन भन्नु हुन्छ । अर्कोतिर पहुँच बढाउनु पर्छ बैंकलाई पनि दिनुपर्छ भन्ने कुरा पनि छ । यो केही समयदेखि कै विवादको बिषय बनेको छ । यहि देखेर नेपाल सरकारले संसदको एउटा उपसमिति बनाएर त्यसलाई यस सम्बन्धी के कस्तो अभ्यास कसरी गरेर अगाडि बढ्ने भन्ने प्रतिवेदन तयार गर्ने भनिएको छ । उहाँहरु अध्ययनको क्रममा हुनुहुन्छ । त्यो अध्ययनको रिपोर्ट पनि आओस । हामी पनि के कसरी जान उपयुक्त हुन्छ भन्ने कुरा अध्ययन गरिरहेका छौँ ।
स्टक एक्सचेञ्जको क्षमता विस्तारमा अब चाल्ने कदमहरु के के हुन्छन् ?
हाम्रो मुलुकमा एउटा मात्रै स्टक एक्सचेन्ज छ । त्यसले गर्दा नेप्सेको कार्यसम्पादन स्थिति, र यसको ‘प्रफरमेन्स’मा बजार निर्भर रहन्छ । अहिले हामीले अनलाइन ट्रेडिङको व्यवस्था ग¥यौं । तर यो अहिलेसम्म फुल ‘इन्ट्रिगेसन’ हुन सकेको छैन । त्यसले गर्दा बजारमा समस्या देखिएको छ । नेप्से आफै पनि सरकारी स्वामित्वको संस्था हो । त्यसमा पनि सरकारी स्वामित्वको संस्थामा हुने गुण अवगुण दुईवटै निहीत हुन्छ ।
एउटै संस्थाले मात्र मुलुकमा काम गर्न सक्दैन भन्ने पनि होइन । यदि त्यो संस्था सक्षम भयो भने हाम्रो लागि एउटै संस्था पनि पर्याप्त हुन्छ । त्यो संस्थाले राम्रोसँग काम गर्न सकेन भने वैकल्पिक उपाय पनि खोज्नुपर्ने अवस्था हुन्छ । यहि हुनाले बजेटमा पनि, सरकारको नीति कार्यक्रममा पनि धितोपत्र बोर्ड, नेप्से र सीडिएस तीन वटैलाई पुन संरचना गने पनि भनिएको छ । त्यसले गर्दा नेप्सेमा केही संरचनागत सुधार एबं यथेष्ट आधुनिक प्रविधिको विकास गर्नुपर्ने अवस्था हामीले देखेका छौं र आगामी दिनमा हामी त्यही किसिमले अगाडि बढेर जान्छौँ ।
पुँजी बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षित गर्न सकिएन नि किन ?
अहिले सरसर्ति हेर्दा हामीले के देखिरहेका छौँ भने पुँजी बजारमा अधिकांश संगठित संस्था र बैंक वित्तीय संस्था छन । करिब ८० प्रतिशत हिस्सा बित्तीय क्षेत्रले ओगटेको छ । रियल सेक्टरको प्रतिनिधित्व एकदमै कम छ । विभिन्न किसिमका वास्तविक क्षेत्रका उद्योग बजारमा आए भने बजारमा बिबिधता आउँछ । मान्छेलाइ विभिन्न किसिमका व्यवसायमा सहभागी हुने मौका मिल्छ । त्यसैले यसलाई बिधिकरण गरेरै अगाडि बढ्नु पर्दछ । वास्तविक क्षेत्रका कम्पनी जुन अहिले प्राइभेट कम्पनीका रुपमा सञ्चालन भइरहेका छन् तिनीहरुलाई पब्लिक लिमिटेड कम्पनीको रुपमा आउन र बजारमा धितोपत्र जारी गर्न प्रोत्साहन होस भन्ने उद्देश्यले उनीहरुलाई नेपाल सरकारले केहि सुविधा पनि प्रदान गरेको छ । ५० करोडभन्दा माथिका कम्पनी आए भने उनीहरुलाई कर लगायत विभिन्न सुविधा दिइएको छ । त्यति हुँदाहँुदै पनि यी सबै कम्पनीहरु आउन सकेका छैनन् ।
त्यसमा एक दुईवटा कमजोरीका पाटा छन । एउटा के भने संगठित संस्था धितोपत्र बजारमा आइसकेपछि उनीहरुले थप लाभ के पाउँछन् वा बजारमा आइसकेपछि उनीहरुलाई कुन किसिमले थप प्रवद्र्धन गर्न सकिन्छ भन्ने प्रश्न आएका छन् । अहिले हामीले कस्ता कस्ता कम्पनीहरु आउन सक्छन् भनेर कम्पनी रजिष्ट्रारको कार्यालयसँग विवरण मागेका छौँ । त्यो विवरण लिइसकेपछि यी यी कम्पनीहरु सम्भाव्य हुन्छन भनेर प्रस्ताब गर्छौँ ।
उनीहरुको चाहना के छ भने अहिलेको सेयर इस्यू गर्ने मोडालिटीमा पनि हामीले केही परिवर्तन गर्नुपर्ने अवस्था छ । अहिले कम्पनीले आईपीओ र एफपीओबाट मात्रै सेयर इस्यू गर्न सक्छन् । यसमा रहेका त्रुटी हटाउनको निम्ति हामीले अहिले बुक बिल्डिङ प्रोसेस नयाँ सुरु गरेका छौँ । बुक बिडिङमा के हुन्छ भने बजारमा त्यसको रियल मुल्य जति हो र लगानी कर्ताले कति मुल्य हाल्न चाहन्छन भन्ने हुन्छ । यसबाट उनीहरुले राम्रो मूल्य पाउँछन । राम्रो मूल्यमा सेयर निष्काशन गरेपछि उनीहरुको क्यापिटल रिजर्भ बढ्छ ।
यो सबै व्यवस्थाको फाइदा कम्पनीलाई नै हुन्छ । अर्को के छ भने हामी रेटिङ गराउँछौँ । रेटिङबाट आएको स्तर अनुसार बैंकले जोखिम मूल्यांकन गर्छ । त्यही अनुसार ब्याजमा पनि सहुलियत प्रदान गर्छ । यस्ता किसिमका फाइदा पाउने भएकाले हामीले कम्पनीहरुलाई क्रमिक रुपमा पे्रात्साहन गरिरहेका छौ । अहिले पनि केही उद्योग हाम्रो ‘टच’मा हुनुहुन्छ । त्यस्ता उद्योग आउलान भन्ने अपेक्षा गरेका छौँ । जलबिद्युत सेक्टरको लागि समस्या भएन कम्युनिकेसन सेक्टर आउने तरखरमा छन् । कुनै सिमेन्ट उद्योग पनि छन् कुनै उत्पादनमूलक कम्पनी पनि छन । उनीहरुले पनि रुचि दिइरहेको अवस्था छ ।
पुँजी बजारमा जनचेतनाको कमी देखियो । बुझेर भन्दा नबुझेरै लाग्ने धेरै छन् ? यसलाई कसरी हेरिरहनुभएको छ ?
पुँजी बजारसम्बन्धी माद्यमिक तहदेखि नै शिक्षा दिनु पर्दछ । यो हाम्रोमा हुन सकेन । हाम्रा बालबालिका व्यवहारिक हुन पुँजी बजार, बैंकिङ पद्दति, बीमा व्यवसाय जस्ता पक्षको अत्यावश्यक ज्ञान जरुरी हुन्छ । त्यस्ता रिलेटेड पक्षमा शिक्षा दिइएन भने उनीहरुलाई गा¥हो हुन्छ । यस्ता किसिमका विषयहरु पठनपाठनमा पनि राख्नु पर्छ भनेर हामीले पाठ्यक्रम विकास केन्द्रसँग पनि ‘एप्रोच’ गरिरहेका छौँ र यस सम्बन्धी छुट्टै उच्च स्तरीय शिक्षाको लागि पनि हामी एप्रोच भइरहेको छ । हामीले रेडियोबाट पनि महिनामा दुई पटक प्रशिक्षण कार्यक्रम सन्चालन गरिरहेका छौँ । नेप्से धितोपत्र बोर्डले वार्षिक कार्यक्रम नै आयोजना गरेर विभिन्न स्तरमा लगानीकर्ता शिक्षा कार्यक्रम पनि हामी सञ्चालन गरिरहेका छौँ । यति मात्रै नभएर हामीले विभिन्न किसिमका बुकलेटहरु, पर्चा पम्प्लेट तयार गरेर इन्भेस्टरलाई शिक्षित गर्ने काम पनि गरिरहेका छौँ । यति मात्रै नभएर यदि कुनै पनि नयाँ लगानीकर्ता क्यापिटल मार्केटको बारेमा, सेयर बजारको बारेमा बुझ्न चाहनु हुन्छ भने बोर्डले नै पनि एप्रोज गरेर २० ÷ ३० जना हुने बित्तिकै एउटा शिक्षामूलक कार्यक्रम सञ्चालन गरिदिन्छौँ ।
यति कार्यक्रम हुँदाहुँदै पनि यी अझै पनि पर्याप्त भइरहेको छैनन । यसले गर्दा आगामी दिनमा यस्ता कार्यक्रमलाई अझै प्रभावकारी कसरी बनाउने भन्ने सन्दर्भमा विभिन्न मुलुकले अवलम्बन गरेका मोडल अध्ययन गर्दै छौ । त्यो मोडल भनेको आधिकारिक प्रतिनिधि मोडल हो । यो मोडल अन्तर्गत तालिम प्राप्त ब्यक्तिलाई हामी प्रमाणित गछौँ । त्यसपछि उनीहरु ७५३ वटा स्थानीय निकायमा गएर आ–आफ्ना एरियाका मान्छेलाई शिक्षित गरिदिन्छन् । सेयर किन्नु प¥यो, आइपीओ खुलेको छ यसरी हाल्नुपर्छ, मेरो शेयर खाता यसरी खोल्नुपर्छ भनेर उनीहरुले नै सिकाइदिन्छन ।
कमोडिटी मार्केट फष्टाउन सकेन, किन होला ?
वस्तु विनिमय बजार क्यापिटल मार्केटको एउटा महत्वपूर्ण कम्पोनेन्ट हो । यो बजार सञ्चालन हुनुपर्छ । यसले लगानीकर्तालाई नयाँ उपकरणहरु दिन्छ, नयाँ क्षेत्र प्राप्त हुन्छ । विशेषगरी यसको महत्व के हुन्छ भने नेपालमा विभिन्न किसिमका कृषि उपजहरुको उत्पादन हुन्छ । यिनिहरुको मुल्य ‘एक्सपेक्टेसन’ कस्तो हुन्छ भविष्यमा, त्यसको कारोबार कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुराहरु हुन्छन।
क्यापिटल मार्केट भन्ने वित्तिकै ३,४ वटा कुराहरु हुन्छन । एउटा सेयरको, एउटा ऋणपत्रको अनि एउटा चाहीँ डेरिभेटिभको अनि अर्को म्यूचुअल फन्डको कारोबार त्यस्तै वस्तु विनिमयको कारोबार पनि हुन्छन । वस्तु विनिमयको कारोबार विभिन्न मुलुकमा चलेको छ । हाम्रो मुलुकमा पनि केही समय अगाडिसम्म धेरै संस्थाले कमोडिटी मार्केटको व्यवसाय गर्थे । जब वस्तुविनिमय बजारसम्बन्धी ऐन आयो तब ती संस्थाको काम कारबाही अनुमति नपाइकन गर्न पाइँदैन भन्ने कुरा भयो त्यसले गर्दा यिनीहरु अहिले केही निष्कृय छन । विभिन्न किसिमका खाद्यान्न र अनाज हुन्छन । विभिन्न किसिमका दलहन र तरकारी उत्पादन हुन्छन । तिनीहरुको मूल्य र बजारको विकास तथा विस्तार गर्न वस्तुविनिमय बजारको महत्वपूर्ण हुन्छ । यस्ता वस्तुको भोलिपर्सीको मुल्य बढ्छ कि घट्छ । ‘एक्सपेक्टेसन’ के छ ? त्यो अनुसार
‘क्रियट’ गर्न पाइन्छ । अर्को सुविधा के दिन्छ भने यस्ता किसिमका वस्तुको सञ्चय गर्ने प्रवृत्ति बढाइदिन्छ । जस्तो अहिले नेपाल सरकारले विभिन्न कृषि वस्तुहरुको मुल्य निर्धारण गरिदिएको छ । किनिदिन्छु पनि भनेको छ । त्यो वस्तुहरु खाद्य संस्थानले मात्रै होल्ड गरिदिन्छ । भोलिपर्सि चाही हामी यस अन्तरर्गत गोदाम व्यवस्था भन्ने हुन्छ । जसले भण्डारण गर्ने हो उनीहरुले आफनै व्यवस्था रहेर त्यस्ता वस्तु भण्डारण गरिदिन्छ । जसले गर्दा नेपाल सरकारको पनि आपूर्ति ब्यवस्थामा सहयोग पु¥याउँछ । त्यसले गर्दा वस्तु विनिमय बजार चाहिन्छ । र यसको लागि ऐन आइसकेको छ । हामीले एक पटक केहि एप्लिकेसन प्राप्त गरिसकेका छौँ । अब यसलाइ कसरी अगाडि बढाउने यो केही लामो समय पनि भयो एप्लिकेशनहरु आएको अब हामिले पुरानै एप्लिकेशनकै आधारमा अगाडि बढाउने कि नयाँ एप्लिकेशनको आधारमा बढाउने भन्ने कुराको छलफल भइरहेको छ । निधो भएपछि हामी वस्तु विनिमय बजार अगाडि बढाउछौं र यसलाई सञ्चालनमा ल्याउछौं । यसमा संस्थागत सुशासनका विभिन्न पक्षलाई सशक्त र बलियो बनाउनुपर्ने अहिलेको आबश्यकता छ । त्यस्तैगरी, नियमनका व्यवस्थालाई पनि हामीले अझै परिष्कृत गरेर लैजानुपर्ने छ ।
भबिष्यमा पुँजी बजारलाई कसरी अगाडि बढाउनु पर्ला ? नियमन कसरी ब्यवस्थित गर्नु पर्ला ?
हुनत विगतको २७ वर्षमा विभिन्न किसिमका ऐन कानुन नियम विनियम ,मार्गदर्शन, निर्देशन तयार आदि कार्यान्वयन भएका छन । त्यति हुँदाहँुदै पनि यसलाई धेरै परिष्कृत गर्नुपर्ने आजको खाँचो छ । मैले देखेको आधारभूत कुरा के छ भने धितोपत्र बोर्डसम्बन्धी छुटै ऐन बनाउनुपर्ने अवस्था छ । धितोपत्र बोर्डसम्बन्धी ऐन छुटै रहेनछ । आगामी दिनमा नेपाल धितोपत्र बोर्डसम्बन्धी ऐन र धितोपत्र कारोबारसम्बन्धी ऐन हामीले बनाउनुपर्ने अवस्था देखिन्छ । त्यस्तै अरु विभिन्न किसिमका नियम बनाउनुपर्ने अवस्था छ । त्यस्तै नियमन तथा बजार विस्तार गर्नको निम्ति पनि अझै धेरै कुरा गर्न बाँकी नै छ ।
कोरोना समस्याले गर्दा पुँजीबजारसम्बन्धी सबै क्रियाकलाप ठप्प छन्, यो लामो समयसम्म पनि जाला । कोरोना र काम सँगसँगै भन्ने अर्को सुझाव पनि आइरहेको छ । यस्तो अवस्थामा धितोपत्र बजारलाई कसरी व्यवस्थापन गर्न सकिएला ?
हो, कोरोना माहामारीले पुँजी बजारलाई पनि प्रभाव पारेको छ । यो कति समयसम्म जान्छ भन्ने कुरा अहिले ठ्याक्कै भन्ने स्थिति छैन। जहिलेसम्म यसको असर रहन्छ त्यसलाइ हामीले दुई भागमा बाँडेर हेर्नुपर्ला जस्तो लाग्छ । एउटा कोरोनाको असर रहँदा रहँदै पनि हामीले बजार सञ्चालन गर्न सक्ने अवस्था र अर्को कोरोनाको असर रहिरहने बाँकी समय । विश्वका विभिन्न मुलुकहरुलाई हेर्दा कोरोनाको असर रहँदा रहँदै पनि आर्थिक क्रियाकलाप अगाडि बढाइरहेको अवस्था छ । भारत र विकसित मुलुकमा पनि धेरै ठाउँमा बजार खुलिसके । त्यहाँ पनि कोरोनाको असर समाप्त भइसकेको अवस्था छैन ।त्यसले हामीले के देख्छौँ भने कोरोनाको असर हुँदाहुँदै पनि हामीले गर्न सक्ने अवस्था रहुन्जेलसम्म केही गर्नुपर्छ ।
यहि वैशाख २४ गतेको निर्णय अनुसार जब नेपाल सरकारले केही क्षेत्रहरु खुला गर्ने र धितोपत्र बजारलाई पनि सञ्चालन गर्ने व्यवस्था मिलाउने भन्ने निर्णय गर्यो त्यसपछि हामीले बजार खुला गर्यौ । बजार खोल्दा एकदम सावधानिपूर्वक खोल्ने भनेर विभिन्न उपाय लगायौ । कोरोनाको असर कम हँुदै जाला भनेर हामीले बजार खोल्यौँ तर फेरी कोरोना संक्रमण असाध्यै बढेर गयो । त्यसपछि बजारमा मानिस सहभागी हुनसक्ने अवस्था र वातावरण रहेन । बन्द गर्नु प¥यो । अब हामीले बजार खोलिसकेपछि हाम्रो बजारमा माग र आपुर्तिको लागि आउने लगानीकर्ताले सहज रुपमा काम गर्न सक्ने स्थिति हुनु प¥यो । त्यो भएपछि हामी बजार सञ्चालन गरिदिने भन्ने पक्षमा छौँ ।
बजार सञ्चालन गरिसकेपछि अब हामीले मान्छे आफै उपस्थित भएर होइन कि प्रविधिलाई आधार बनाएर कारोबार गर्ने स्थिति पनि बनाइदिनुपर्ने हुन्छ । तर त्यसको लागि हामीले केही गृहकार्य गरिराखेका छौँ । हामीले यहि लकडाउनको अवधिमै इडिआइएस सेयर कारोबार गर्दाखेरी सेयर खरिदबिक्री गर्नको लागि चेक काटिरहनु पर्छ, त्यो चेक काट्न नपर्ने कम्प्युटरबाटै जम्मा र खर्च गर्न सक्ने व्यवस्था मिलायौँ । अहिले बैंकहरुसँग कारोबार गर्नको लागि कनेक्ट आइपीयस, वालेट र अन्य विद्युतीय माध्यमबाट पनि ब्रोकर कहाँ पैसा पठाउने, पाउने व्यवस्था हामीले गरेका छौँ । यहि अवधिमा हामीले कोरोना संक्रमण भए पनि ग्राहकलाई खाता खोल्न जुन शुल्क लाग्ने हो त्यो शुल्क तिर्न नपर्ने अनि असार मसान्तसम्म निःशुल्क युजर आइडी र पासपोर्ट लिन पाउने व्यवस्था गरिदिएका छौँ । त्यसले गर्दा कोरोनाको संक्रमण भए पनि कुनै एउटा स्टेजमा आइपुगेपछि नेपाल सरकारले वातावरणप्रति गरेको मूल्यङ्कनलाई आधार मानेर हामीले पनि बजार खोल्ने र निश्चित कारोबार गर्न सक्ने स्थिति बनाउनु पर्ला जस्तो लाग्छ ।
यो बाहेक भबिष्यमा बिशिष्टिकृत लगानी कोष मार्फत स्वदेशी र विदेशी पुँजी परिचालन र वस्तु बिनिमय बजारको ब्यवस्थापन गर्ने, नेपाल धितोपत्र बोर्डको पुर्नसंरचना लगायत बजारमा प्रविधि भियाएर त्यसलाई आधुनिक र प्रबिधि मैत्री बनाउँदै लैजाने तयारी भइरहेको छ ।