वसन्त पराजुली
भरतपुर, जेठ ३० गते । विदेशबाट फर्काइने नेपालीका लागि क्वारेन्टाइन राख्न चितवनका ५० वटा होटल तयार भएका छन् । कोरोनाको सङ्क्रमण बढ्दै गएका बेला विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने तयारी भइरहेका बेला चितवनका होटल व्यवसायीहरूले आफ्ना होटल क्वारेन्टाइनलाई दिन तयार भएका हुन् ।
व्यवसायीहरूले संस्थागत तथा व्यक्तिगत रूपमै जिल्ला प्रशासन कार्यालय चितवनलाई पत्र पठाएर आफ्ना होटलमा क्वारेन्टाइन राख्न सकिने जानकारी दिएका हुन् । “होटलहरूले क्वारेन्टाइनमा राख्न सकिने दररेटसहितको पत्र जिल्ला प्रशासन कार्यालयलाई बुझाएका छन् । हामी एक÷दुई दिनभित्रै होटलहरूको सूची सार्वजनिक गर्नेछौँ,” कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलले भन्नुभयो ।
पर्यटकीय नगरी सौराहामा मात्रै २९ वटा होटलमा क्वारेन्टाइन राख्न सकिने जनाएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराई आफूहरूले प्रतिव्यक्ति दुई हजारदेखि तीन हजार रुपियाँ प्रतिदिनको प्याकेजमा क्वारेन्टाइनमा राख्न सकिने जनाउनुभयो ।
“हामीले जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिइसकेका छाँै । अहिले हामी पहिलो चरणमा पाँच सय बेडसम्म क्वारेन्टाइनलाई दिने निर्णय गरेका छौँ,” उहाँले भन्नुभयो, “आवश्यक परे अझै थप गर्दै जानेछौँ । ” यस्तै भरतपुर र नारायणगढ क्षेत्रका २१ वटा होटलले पनि क्वारेन्टाइन बनाउन सकिने जनाएका छन् ।
नेपाल होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले होटलहरूले एक हजारदेखि एक हजार पाँच सय रुपियाँसम्मको प्याकेजको प्रस्ताव प्रशासनलाई बुझाएको जानकारी दिनुभयो । “विदेशवाट फर्कनेहरूका लागि क्वारेन्टाइन दिन हामी तयार छौँ,” उहाँले भन्नुभयो । विदेशमा अलपत्र परेका नेपालीलाई स्वेदशमा ल्याउने र उनीहरूले व्यक्तिगत खर्च गरेर होटलमा बस्न चाहनेलाई क्वारेन्टाइनकै रूपमा होटलमा राख्ने योजना सरकारले अघि सारेको हो । यसरी होटलको क्वारेन्टाइनमा बस्नेहरू १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने त्यसपछि कोरोना परीक्षणमा नेगेटिभ भए मात्रै आफ्नो घरमा जान पाउने व्यवस्था सरकारले गरेको छ । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले चितवन आउने जो कोहीलाई पनि होटलको क्वारेन्टाइनमा राख्न कुनै समस्या नभएको बताउनुभयो ।