logo
२०८१ मंसिर १४ शुक्रवार



अत्याधुनिक पाँचतले मेगा हल निर्माण हुँदै

अर्थ |


अत्याधुनिक पाँचतले मेगा हल निर्माण हुँदै


शिवा तामाङ
काठमाडौँ, असार २ गते । काठमाडौँ महानगरपालिकाले भृकुटी मण्डपस्थित २१२ रोपनी क्षेत्रफलमा अत्याधुनिक पाँचतले मेगा हल निर्माण गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले मेगाहलको प्रस्तावित डिजाइन तयार पारेपछि काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको ‘ड्रिम प्रोजेक्ट’का रुपमा रहेको उक्त भवन निर्माणको प्रक्रिया अगाडि बढ्ने भएको हो ।
काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पाँचतले मेगा हल निर्माणका लागि प्रस्तावित डिजाइन तयार भएको जानकारी दिनुभएको हो ।
‘दुई सय १२ रोपनी क्षेत्रफलमा करिब ६० प्रतिशतमा हरियाली बगैँचा रहने छ भने ४० प्रतिशत स्थानमा पाँचतले मेगा हल निर्माण हुनेछ ।’ उपाध्यक्ष बस्नेतले भन्नुभयो ।
उक्त भवनका दुई तलामा एक हजार कार अटाउने पार्किङ हुनेछ भने दुई सय जना अटाउने छ वटा मिटिङ हल, ४ सय ५० जना अटाउने तीन वटा कन्फरेन्स हल र तीन हजार अटाउने अडिटोरियम हलसमेत बन्नेछ ।
‘मेगा हलमा एकै पटक दुई हजारसम्म अट्ने दुई वटा प्रर्दशनी हलसहितको डिजाइन तयार पारेका छौँ,’ बस्नेतले भन्नुभयो, ‘नवप्रर्वद्धन केन्द्र ६ ओटा रहने छन् भने पाँच ओटा स्वागत कक्षको डिजाइन तयार पारेका छौँ ।’
यो मेगा हलमा २२ ओटा लिफ्ट र १२ ओटा एस्कालेटर रहने छन् । ‘बाहिरबाट हेर्दा यो हल एक तलाको जस्तो देखिने छ,’ उहाँले भन्नुभयो, ‘तर, अत्याधुनिक र प्रविधिमैत्री हुनेछ ।’
बाह्र अर्ब रुपियाँको लगानीमा निर्माण गरिने मेगा हलमा ग्रिन रुम, फुडकोड, सार्वजनिक सौचालय, रेष्टुरेन्ट, सभाहल, प्रदर्शनी हललगायत रहने छन् ।
समाज कल्याण परिषद्को मातहतमा रहेको उक्त जग्गालाई महानगरपालिकाको मातहतमा ल्याएर मेगा हल निर्माण गर्न सम्बन्धित निकायसँग सहमतिको लागि आवश्यक पत्राचार भएरु प्रक्रिया अघि बढेको पनि उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?