गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १० गते । एक सातादेखि सस्तो बनिरहेको सुनको मूल्यमा बुधबारसमेत गिरावट आएको छ । मङ्गलबार तोलामा छ सय रुपियाँले घटेको सुनको भाउ बुधबार तोलामा पुनः चार सयले घटेको छ । केही दिनदेखि नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमको निरन्तरता बुधबारसमेत कायम रहेकाे छ ।
मङ्गलबारको तुलनामा बुधबार छापावाल सुन तोलाको चार सय रुपियाँले घटेर ९६ हजार ८०० रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाल सुन चार सय रुपियाँ सस्तो हुँदा तेजाबी सुन पनि चार सय रुपियाँले नै घटेर तोलाको ९६ हजार ३०० सय रुपियाँँमा कारोबार भइरहेको छ । मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० सय र तेजाबी सुन ९६ हजार ७०० रुपियाँमा कारोबार भएको थियो ।
गत साउन २३ गते तोलाको एक लाख तीन हजार ५०० रुपियाँमा किनबेच भएर सुनले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । भदौ ३ गते तोलाको एक लाख चार सय रुपियाँ पुगेर सुन सस्तो बन्न थालेको छ हो । सुनको मूल्य घट्दा आज चाँदी पनि तोलाको १० रुपियाँले घटेर एक हजार ३१० रुपियाँ कायम भएको छ । कोरानाको कारणले सुनको मूल्यमा तलमाथि भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।