धनगढी समाचारदाता
धनगढी, मङ्सिर ८ गते । कैलालीका किसानलाई यस वर्ष धान बिक्री गर्न मुस्किल भएको छ । वर्षा र बाढीले बाली बिगारेपछि धान बिक्री गर्न मुस्किल भएको हो ।
बाढीबाट बल्लतल्ल जोगाएको धान निजी खरिदकर्ताले सहजै लिन मानेका छैनन् । यस्तो हुँदा किसानलाई आफ्नो उत्पादन बिक्री गर्न धौधौ भएको छ । बिक्री गर्न लगेको धान व्यापारीले हेरेर फिर्ता पठाउने गरेको भजनी नगरपालिका–२ का कृषक गङ्गाराम चौधरीले बताउनुभयो ।
गत कात्तिकको पहिलो साता आएको बेमौसमी वर्षाले यस वर्ष पाकिसकेको धानको गुणस्तर पनि उति राम्रो हुन सकेको छैन । बाढीले कतिपय किसानको धानबाली खेतबाटै बगायो । बाढीले नबगाएको धान भिजेर खेतमै उम्रिएको थियो । वर्षा र बाढीका कारण धानको गुणस्तर खस्केपछि निजी खरिदकर्ताले सस्तोमा पनि किसानको उत्पादन खरिद गर्न आनाकानी गरेको कृषक चौधरीले दुःखेसो गर्नुभयो ।
नेपाल सरकारले यस वर्ष मोटा धानको प्रतिक्विन्टल दुई हजार ७५२ र मध्यम किसिमको धानको दुई हजार ९०३ रुपियाँ समर्थन मूल्य तोकेको थियो तर किसानले समर्थन मूल्य पाउन त परै जाओस्, आफ्नो उत्पादन किनिदिने निकाय नै पाइरहेका छैनन् ।
जिल्लामा क्रियाशील निजी व्यापारीले सुकेको र अलि राम्रो भएको धान केही मात्रामा खरिद गरिरहेका छन् । यद्यपि सबै धान खरिद गर्न गाह्रो रहेको उनीहरूको भनाइ छ । धनगढीमा हरेक वर्ष काँटा लगाएर धान खरिद गर्दै आउनुभएका व्यवसायी चेतराम चौधरीले यस वर्ष किसानको सबै धान खरिद गर्न नसकिने बताउनुभयो ।
“व्यक्तिगत सम्बन्ध भएका कारण मात्रै यस वर्ष म केही किसानको धान खरिद गरिरहेको छु,” उहाँले भन्नुभयो, “होइन भने धान खरिद गर्न सकिने अवस्था छैन । ” राम्ररी नसुकाइएको र बिग्रेको धेरैजसो धान फिर्ता पनि पठाएको खरिदकर्ता चौधरीले बताउनुभयो ।
निजी खरिदकर्ताले प्रतिक्विन्टल एक हजार वा एक हजार २०० रुपियाँमा खरिद गरिरहेका छन् । सुकेको र अलि राम्रो धान भने प्रतिक्विन्टल दुई हजार १०० रुपियाँमा पनि खरिद गरिरहेको उनीहरूको भनाइ छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि धान खरिद गर्न ढिलाइ गरिरहेको छ । धान बिक्री गरेर हिउँदे खेतीका लागि आवश्यक बीउ, मलखाद जुटाउँदै आएका उनीहरू आफ्नो उत्पादन बिक्री नहुँदा समस्यामा छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख एन्जिला बस्नेतले माथिबाट परिपत्र नआएकाले अहिलेसम्म धान खरिद गर्न नसकेको बताउनुभयो । “सम्भवतः एक हप्ताभित्रै परिपत्र आउन सक्छ,” उहाँले भन्नुभयो, “परिपत्र आएपछि हामी धान खरिद कार्यलाई अगाडि बढाउँछौँ । ”