logo
२०८१ मंसिर १४ शुक्रवार



बागलुङमा एक वर्षिया बालिकासहित थप आठ जनामा कारोना पुष्टि

फिचर |
पढ्नै पर्ने |


बागलुङमा एक वर्षिया बालिकासहित थप आठ जनामा कारोना पुष्टि


नवीन शिशिर विक

बागलुङ, भदौ ११ गते । बागलुङमा एक वर्षीया बालिकासहित आठ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको 'क्लोज कन्ट्याक्ट ट्रेसिङ' गर्दा यसअघि सङ्क्रमित बागलुङ नगरपालिका–३ की ३२ वर्षीया महिलाकी एक वर्षीया छोरीमा कोरोना पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा भदौ ६ गते सङ्क्रमण पुष्टि भएका बानपा–३ कै २५ वर्षीय सैनिक जवानको सम्पर्कमा रहेका तीन जनामा पनि कोरोना देखिएको छ । उहाँको परिवारका २७ र १९ वर्षीया महिला तथा बागलुङ नगरपालिका–१० भकुण्डेका २८ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ । २८ वर्षीय पुरुष नेपाली सेनामा कार्यरत हुनुहुन्छ ।

बागलुङ नगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक सुशील पौडेलका अनुसार रामरोखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा कार्यरत नेपाल प्रहरीका ३४ वर्षीय पुरुषमा पनि सङ्क्रमण देखिएको छ । सोही होटल क्वारेन्टाइनमा रहेका सङ्क्रमित २४ वर्षीय पुरुष भारतबाट आउनुभएको थियो ।

त्यस्तै काठेखोला गाउँपालिकका ३१ वर्षीय र २१ वर्षीय दुई पुरुषमा पनि कोरोना पुष्टि भएको छ । सङ्क्रमितमध्ये एक जना गाउँपालिकाका इन्जिनियर रहेको गाउँपालिकाका सिनियर अहेव सोम पाण्डेले बताउनुभयो । इन्जिनियर भदौ २ गते काठमाडाैँदेखि र अर्का एक जना भारतदेखि आएर क्वारेन्टाइनमा बस्नुभएको थियो । सङ्क्रमित सबैलाई प्रि–आइसोलेसनमा ल्याउने तयारी भएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका वरिष्ठ स्वास्थ्य सहायक डिल्ली आचार्यले बताउनुभयो ।

विशेष गरी बागलुङ बजार क्षेत्रमा सङ्क्रमित सम्पर्कमा रहेका व्यक्तिहरूमा दैनिक जसो कोरोना पुष्टि हुन थालेपछि बजार जोखिम क्षेत्रको रुपमा विकास हुन थालेको छ । जिल्ला समदरमुकामसमेत रहेको बागलुङ बजार क्षेत्रमा सङ्क्रमण व्यापक हुन थालेपछि जिल्ला कोभिड–१९ व्यवस्थापन समितिले समुदायस्तरको परीक्षण दायरालाई फराकिलो बनाउने निर्णय गरेको छ ।

जोखिम क्षेत्रमा कोरोना पहिचानको लागि दूध, तरकारी, खाद्यान्न, फलफूल मासु व्यवसायी, बैङ्क वित्तीय, बिमा कम्पनी, सहकारी, मानव सेवा आश्रम, कारागार, सुधार गृह, जस्ता संस्थाका कार्यरत रहेको व्यक्तिका पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउन स्वास्थ्य कार्यालय र बागलुङ नगरपालिकालाई जिम्मेवारी प्रदान गरेको छ । बागलुङ नगरपालिकामा भदौ ३ गतेदेखि जारी निषेधाज्ञा एक हप्ता थप गरी भदौ १५ गतेसम्म लम्ब्याइएको छ ।
पछिल्लो आठ सङ्क्रमणसँगै हालसम्म बागलुङमा सङ्क्रमितको सङ्ख्या २९२ पुगेको छ । जसमध्ये २६१ निको भएका छन् भने ३० जना उपचाररत रहेका छन् । लक्षणविहीन सङ्क्रमितलाई प्रि–आइसोलेनमा राख्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?