सिराज खान
नेपालगञ्ज, भदौ ११ गते । बाँकेमा एकै दिन ७३ जना सङ्क्रमित थपिएको भोलिपल्ट बिहीबार ७० वर्षीया महिलासहित २२ जनाले कोरोनालाई जितेर निको भई घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय, बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बिहीबार सङ्क्रमणमुक्त हुनुभएकी महिला उमेर समूहमा सबैभन्दा बढी उमेर भएकी जिल्लाकै पहिलो सङ्क्रमित महिला भएको बताउनुभयो ।
नेपालगञ्ज–२ निवासी ती महिला सङ्क्रमणमा परेपछि खजुरास्थित सुशील कोइराला प्रखर अस्पतालको आइसोलेसन अस्पतालमा राखिएको थियो । ती महिलालाई लक्षणसमेत देखिएकोमा उपचारपछि निको भएर घर फर्किनुभएको कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले बताउनुभयो ।
बिहीबार थप २२ जना डिस्चार्ज भएसँगै बाँकेमा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६८२ पुगेको छ । यसअघि बुधबार मात्रै बाँकेमा ५१ जना नेपाली सेनाका जवानसँगै ७३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित हुने सैनिकहरूमा कोहलपुर कौशिल्यानगरको सैनिक तालिम केन्द्रमा तालिम लिइरहेका सैनिकहरू हुन् ।
हालसम्म जिल्लामा कुल सङ्क्रमित हुनेको सङ्ख्या ९२० पुगेको छ । तीमध्ये दुई महिलासहित पाँच जनाको मृत्यु भइसकेको छ भने अहिले पनि २३३ जना विभिन्न आइसोलेसनमा उपचारका लागि भर्ना भएका छन् ।
पछिल्लो समयमा आएर विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सकहरूसमेत सङ्क्रमित हुन थालेकोमा स्वास्थ्य कार्यालयले चिन्ता जनाएको छ ।