काठमाडौँ, माघ ६ गते । एट्लेटिको म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबलको प्रिक्वार्टर फाइनलबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा एट्लेटिको स्पेनिस ला लिगा प्रतिद्वन्द्वी रियल सोसिडाडसँग २–० गोलले पराजित भयो । घरेलु मैदानमा सोसिडाडलाई जिताउन एडनान जानुजाज र एलेक्जेन्डर सोर्लोथले गोल गर्नुभयो ।
३३औँ मिनेटमा जानुजाजले जोसेवा जल्डुआको पासमा गोल गर्दै सोसिडाडलाई अग्रता दिलाउनुभयो । दोस्रो हाफको सुरुवातमै सोर्लोथले गोल गर्दै सोसिडाडको अग्रता दोब्बर बनाउनुभयो । बल पोसेसनमा अब्बल देखिएको एट्लेटिकोले घरेलु टोलीलाई दबाबमा राखेपनि गोल फर्काउन नसक्दा हार खेप्यो । एजेन्सी