logo
२०७९ जेष्ठ १४ शनिवार



लुप्त पाठ्यक्रमको प्रभाव

विचार/दृष्टिकोण |


लुप्त पाठ्यक्रमको प्रभाव


रमाकान्त शर्मा

शिक्षाले मानवीय मूल्य–मान्यता संरक्षण गर्छ । शिक्षा प्राप्त गरेका व्यक्तिहरू आदर्श, नैतिकवान, विवेकशील, सामाजिक भावना भएका नागरिक तयार हुन्छन् भन्ने ठानिएको हुन्छ तर व्यवहारमा उच्च शिक्षा लिएका व्यक्तिहरू पनि त्यसको विपरीत भएका देखिन्छन् । राष्ट्रले एककिसिमका नागरिक तयार पार्ने भनेर ठूलो लगानी गर्छ तर किन त्यसको विपरीतका नागरिक तयार हुन्छन् ? अध्ययनको विषय भएको छ ।
विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्यहरूमा प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व विकास गर्ने, लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध, श्रमप्रति सम्मान एवम् सकारात्मक सोच भएका, रोजगार तथा स्वरोजगारउन्मुख, उत्पादनमुखी, वैज्ञानिक सुझबुझ भएका, समालोचनात्मक चिन्तन गर्ने गुण भएका नागरिक उत्पादन गर्ने भन्ने राखिएको छ । यी उद्देश्य जहिलेदेखि औपचारिक रूपमा शिक्षण सिकाइको समग्र योजना तथा पाठ्यक्रम तथा निर्माण गरियो, त्यतिबेलादेखि नै राखिएको थियो । यसअनुसार औपचारिक शिक्षा लिएका व्यक्तिहरूमा यी गुणहरू विद्यमाान हुनुपर्ने हो तर औपचारिक शिक्षा लिएका व्यक्तिहरूमा पनि यी गुणविपरीतका गुणहरू किन पाइन्छन् ? के छन् त्यस्ता कुरा, जसले सोचिएकाभन्दा फरक नागरिक विकास गराउँछन् ? यसो हुनुमा धेरै कारण होलान्, शिक्षाविद्हरूले एउटा प्रमुख कारण लुप्त पाठ्यक्रमको प्रभाव हो भन्ने ठान्छन् । औपचारिक, निर्धारित, निर्देशित, स्वीकृत पाठ्यक्रम, शिक्षकले गरेको औपचारिक शिक्षण सिकाइका क्रियाकलापभन्दा विद्यार्थीलाई फरकखालका कुराहरू सिक्न उत्प्रेरित गर्ने, विद्यालय, घरपरिवार र समाजमा जे–जे कार्यहरू हुन्छन्, ती लुप्त तथा छिपेको पाठ्यक्रम हुन् भन्ने ठान्छन् ।
यत्रतत्र शिक्षाले बालबालिकालाई अनुशासन, नैतिकता, असल व्यवहार सिकाउन सकेन, आदर्शविहीन बनायो भन्ने गुनासो गरिन्छ । हरेक शिक्षकले आफूले पढाएको विद्यार्थी असल र आदर्श बनोस् भन्ने अपेक्षा गरेको नै हुन्छ । शिक्षकले जानेसम्म राम्रै कुरा पढाउने प्रयत्न गरिरहेको हुन्छ । बालबालिकालाई विद्यालयका व्यवस्थापक, कर्मचारीले गर्ने व्यवहार, विद्यालयमा हुने शिक्षक, विद्यालय व्यवस्थापक, कर्मचारीबीचमा हुने अन्तरक्रिया, छलफल, अनौपचारिक व्यवहार, हिँडाइ, डुलाइ, अनुहारमा देखिने भाव, सोचाइमात्र होइन, समाजले महŒव दिने व्यक्ति, सामाजिक नेतृत्वको व्यवहारले शिक्षकले पढाएकाभन्दा फरक कुराहरू सिक्न उत्प्रेरित गरिरहेका हुन्छन् । घरपरिवारबाट प्रत्यक्ष तथा परोक्ष रूपमा सिक्नका लागि झनै ठूलो प्रभाव परिरहेको हुन्छ । औपचारिक शिक्षण नगरिएका तर तिनै सिक्नका लागि प्रभाव पार्ने कुराहरूलाई लुप्त पाठ्यक्रम मानिन्छ ।
समाजका गतिविधि र विद्यालयमा सिकाइने कुराहरू बिल्कुलै फरक–फरक बाटोबाट अगाडि बढ्न सक्दैनन् । समाजको विद्यालयमा र विद्यालयको समाजमा प्रभाव परिरहेको हुन्छ । परिवारका परम्परा, प्रचलन, परिवारमा हुने अनौपचारिक र औपचारिक अन्तक्र्रियाहरू, समाजमा हुने गतिविधिहरू, समाजका सदस्यहरूबीचमा हुने औपचारिक, अनौपचारिक अन्तरक्रियाहरू, सामाजिक रहन–सहन, परम्परा, चाडबाडले प्रभाव पारेको हुन्छ । सोसियल मिडिया (सामाजिक सञ्जाल)ले बालबालिकालाई झनै ठूलो प्रभाव पारिरहेको छ ।
पाठ्यक्रमको एक उद्देश्य हो, बालबालिकामा वैज्ञानिक सोचको निर्माण गर्ने । सोच निर्माण भन्ने कुरा एकछिन कक्षामा शिक्षकले पढाएकै आधारमा निर्माण हँुदैन, देखेर, भोगेर, चिन्तन गरेर निर्माण हुने हो । शिक्षकले पढाउँदा सुनेको कुराभन्दा विज्ञान विषय पढाउने शिक्षकले आफूले चलाउने गाडी, कम्प्युटर प्रयोगको पहिलो दिनमा पूजा गरेको, बलि दिएको विद्यार्थीले देख्छ । अनि भगवान्ले रक्षा गरून्, मेरो वाहन वा साधन लामो समय टिकोस्, दुर्घटना नहोस् भनेर कामना गरेको सुन्छ । विद्यार्थी द्विविधामा पर्छ‐ शिक्षकले भनेको कुराबाट सिक्ने कि, व्यवहारमा अपनाएको कुराबाट । विद्यार्थीलाई कक्षामा औपचारिक सिकाएको, किताबमा पढेकोभन्दा आफ्ना शिक्षकले व्यवहारमा नै गरेको कुराले बढी प्रभाव पार्छ ।
अर्काे उद्देश्य हो– बालबालिकालाई श्रमप्रति सम्मान जगाउने, परिश्रमी र उत्पादनमुखी बनाउने । कक्षामा शिक्षकले पढाउँदा श्रम गर्नेलाई सम्मान गर्नुपर्छ, समय र श्रम उत्पादनमुखी कार्यमा खर्चिनुपर्छ भन्छन् । तर, समाजमा जतासुकै श्रम गर्ने अपमानित भएको, नामले नभएर उपनामले बोलाइएको देख्छ । श्रम गर्ने व्यक्तिलाई निमुखो, सोझो, समय, परिस्थितिअनुसार चल्न नसकेको भन्ने दैनिक सुनेको, विनामेहनत दलाली गरेर, गफगाफ टपरटुइयाँ लगाएर धन–सम्पत्ति जोडेको र त्यसैका आधारमा समाजले सम्मान दिएको देखेको बालबालिकाले कसरी गर्न सिक्छ श्रमप्रति सम्मान ? अनि कसरी हुन्छ श्रम गर्ने र मेहनती ? ऊ त बरु एकैपटक रातारात धनी हुने र समाजमा रवाफ देखाउने भन्ने कुरा कल्पना गर्न थाल्छ ।
अर्को उद्देश्य राखिएको छ– लोकतान्त्रिक मूल्य–मान्यता विकास गर्ने । लोकतान्त्रिक मूल्य–मान्यता भनेको सबै व्यक्तिलाई समान व्यवहार गर्ने, सबैको समान हैसियत स्वीकार गर्ने, हरेकको विचारलाई कदर गर्ने हो । विद्यालयमा सरस्वती पूजाको दिनमा दलित बालबालिकालाई पूजा गर्ने लाइनबाट अलग्याएको, अधिकांश मुस्लिम परिवारका बालबालिका पढ्ने विद्यालयमा सरस्वती मन्दिर बनाएको, सरस्वती पूजामा मुस्लिम विद्यार्थीबाट समेत रकम सङ्कलन गरेको तर मुस्लिम धर्मावलम्बीले मनाउने कुनै पनि चाडमा विद्यालयले कुनै कार्यक्रम नगरेको प्रत्यक्ष देखेको विद्यार्थीले पढाएको कुरालाई मान्छ कि विद्यालयले गरेको व्यवहारबाट सिक्छ ? पुरुष शिक्षकहरू खेल खेल्ने, बौद्धिक बहस गर्ने र महिला शिक्षकहरू खेल्न नचाहने, प्रायः पोसाक, गहना, घर सजावट र खानाका परिकारका बारेमा कुरा गरेको सुनेको बालबालिकाले सबै समान भन्ने कसरी सिक्छ ? शिक्षकहरूले पढाउँदा समानताका कुरा पढाए पनि व्यवहार हाउभाउबाट छात्रालाई शारीरिक रूपमा कमजोर हुन्छन् भन्ने देखाएको र गाउने, नाच्ने, खाना पकाउने, सजावट गर्ने कार्यमा छात्रा (केटी) हरूलाई अगाडि सारेको अभ्यास र व्यवहारबाट विद्यार्थीले लैङ्गिक समानता सिक्छ कि असमानता ?
हुन त शिक्षाको मूल काम समाजमा विभेदको अन्त्य गर्ने र समानता स्थापना गर्ने हो । धेरै शिक्षाविद्हरूले शिक्षाले समाजमा भएको शक्ति संरचनालाई संरक्षण गर्ने तथा कामदारलाई कामदारमै अल्झाउने र सम्पन्नलाई सम्पन्न बनाउने कार्य गरिरहेको छ समेत भनेका छन् । नेपालको परिप्रेक्ष्यमा हेर्दा पनि अभिभावकको आर्थिक हैसियतअनुसार विद्यालय छनोट गर्ने तथा सम्पन्न परिवारले आफ्ना बालबालिकालाई सुविधासम्पन्न विद्यालयमा पढाउने र गरिब परिवारले सुविधाविहीन विद्यालयमा पढाउने कार्यले पनि बालबालिकाले सबैमा समान व्यवहार गर्ने लोकतान्त्रिक मूल्य–मान्यता सिक्न सक्दैन ।
चुरोट पिउने, सुर्ती माड्ने शिक्षकले धूमपानले स्वास्थ्यलाई हानिकारक छ भनेर सिकाउनुको कुनै अर्थ छैन । गफ चुटेर अधिकांश समय बिताउने समाजसेवी भनाउँदाले नयाँ पुस्ता उत्पादनशील हुनुपर्छ भन्नुको, आफ्नो मान्छेलाई लाभयुक्त पद दिलाउन घम्साघम्सी गर्ने नेताले मेनहत र प्रयासबाट योग्यता र दक्षता बढाउनेको भविष्य सुन्दर छ भन्नुको कुनै अर्थ छैन ।
लुप्त तथा छिपेको पाठ्यक्रमको प्रभाव सकारात्मक पार्ने हो भने हरेक नागरिकले के मैले गरेको कार्य तथा व्यवहार नयाँ पुस्ताले सिक्नयोग्य छ भनेर सोच्नुपर्छ । घरपरिवारका वयस्क सदस्य, शिक्षक, कर्मचारी, सामाजिक नेताहरूले सकारात्मक सोच राखी अनुकरणीय कार्यहरू गर्न प्रयत्न गर्नुपर्छ ।
(लेखक शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?