काठमाडौं, साउन २५ गते । पछिल्लो २४ घण्टामा दुई हजार ६०९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ४५५ जनामा आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै, छ हजार १४९ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ७८४ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण २२ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ११५ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.५३ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।
यस्तै, सघन कक्षमा रहेका ७४१ जना मध्ये १८६ जनाले भेन्टिलेटरको सहयोगमा उपचार गराइरहनुभएको छ । होम आइसोलेसनमा ३२ हजार ९०७ र संस्थागत आइसोलेसनमा तीनहजार ३८१ संक्रमित रहेका छन् । क्वारेन्टाइनमा ४४१ जना रहेका छन् । नेपालमा अहिले सक्रिय संक्रमितहरु ३६ हजार २८८ रहेका छन् । पछिल्लो २४ घण्टामा एकलाख ४५ हजार ३० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको छन् ।