logo
२०८१ बैशाख १२ बुधवार



नागपञ्चमीको परम्परा र औचित्य

विचार/दृष्टिकोण |


नागपञ्चमीको परम्परा र औचित्य


विश्वनाथ खरेल
नागलाई हिन्दु धर्ममा देवता समान मानिएको छ । भगवान् विष्णु शेषनागलाई नै शøया बनाएर विश्राम गर्नुहुन्छ । भनिन्छ, नागलाई पनि साउनको सोमबार नै मन पर्छ । फलतः नेपाल विभिन्न जातजाति र भाषाभाषी रहेको एक मात्र हिन्दु देश हो । यहाँ विभिन्न पशुपन्छीको पूजा गर्ने संस्कृति रहँदै आएको छ । यसैअनुरूप विविधतायुक्त नेपाली समाज र संस्कृतिले मानव संस्कृतिबाहेक जीवजन्तु, पशुपन्छीको पूजाआजाको परम्परालाई समेत विशिष्ट स्थान दिएको छ । यस्ता जीवजन्तुको पूजाआजाका पछाडि धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक महìव झल्कँदै आएको छ । मूलतः पशुपन्छीको पूजा गर्ने क्रममा नागपञ्चमीमा नाग अर्थात् सर्पको पनि पूजा गरिन्छ । त्यसै कारणले गर्दा होला, प्रत्येक सालको साउन महिनाको पञ्चमी तिथिका दिन नागको पूजा र कागजमा नागका चित्र लेखेर वा छापेर घर–घरमा टाँस्ने गरिन्छ ।
नागलाई सर्पहरूको राजा मानी पुज्ने चलन आदिम कालदेखि नै प्रारम्भ भएको मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि विशेष पर्व पनि भनिन्छ । पूर्वीय हिन्दु ग्रन्थहरू नागसँग जोडेर विभिन्न कथा भन्ने गरिएको छ । वराह पुराणमा उल्लेख भएअनुसार साउन महिनाको शुक्ल पञ्चमीमा नागराजासँग ब्रह्माको संवाद भएको भन्ने कथनका आधारमा पनि यस तिथिमा नाग टाँस्ने गरिन्छ । यसरी घर–घरका मूलढोकामा नागको तस्बिरहरू विधिपूर्वक पूजा गरेर टाँस्ने चलन छ । जसले गर्दा वर्षभरि घरमा नागले दुःख दिँदैनन् भन्ने विश्वास रहिआएको छ । नाग अर्थात् सर्पको सम्बन्ध पानी तथा जमिनसँग जोडेर पनि हेर्न सकिन्छ । नाग रिसाए भने पानीको अभाव हुन्छ । पानीबिना जीवहरू बाँच्न नसक्ने ठानेर हिन्दु धर्ममा नागलाई सर्पहरूका राजा मानिन्छ । यस्तै नाग रिसाई घर छाडी गएमा घरको जग नै पल्टिने वा घरमा दुःख दिने ठानी घरको जग हाल्दा पनि नाग पूजा गर्ने चलन छ । समयमा नै वर्षा होस् र यस्तो समयमा बाढीबाट जनधनको क्षति नहोस् भन्ने उद्देश्यले नागको पूजा गरेर नागपञ्चमी मनाउने धार्मिक मान्यता रहिआएको छ ।
हाम्रो देशमा नाग पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नागपञ्चमी पर्व मनाउने परम्परा रहँदै आएको छ । नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै नागराजप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन छ । फलतः काठमाडौँ उपत्यकामा भचाखुसीस्थित घोडेनाग, गल्कोपाखा ठमेलको हरिनाग, टुँडिखेल सुन्धाराछेउको मीननाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, थानकोटको नागढुङ्गा, धापाखेलको नागदह, चोभारपारि टौदह, नक्साल नागपोखरी र चाँगुनारायण नगरपालिका–८, कलमसीस्थित कल्पेश्वर नागमा विशेष रूपमा पूजाअर्चना गर्ने प्रचलन छ ।
शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी आठ नागको विशेष महìव रहेको वर्णन गरिएको छ । त्यसरी नै प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं तस्बिरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने प्रचलन छ । आजको दिनदेखि बर्खा सकिएर हिउँद सुरु भएको मान्ने प्रचलन छ । नाग पञ्चमीका दिन नागका अष्टकुलका रूपमा लिइने नागको चित्र टाँस्नाले घरमा सर्पादी भय नहुने, चट्याङ नपर्ने तथा अग्निजन्य भय नहुने विश्वास गरिन्छ ।
मत्स्यपुराणमा प्राचीन पर्वतीय जातिको वर्णन गर्दा गन्धर्व, किन्नर, यक्ष, राक्षस, विद्याधर, किम्पुरुष, खस आदिको साथमा नाग जातिको पनि उल्लेख भएको छ । पुराणहरूले नाग जातिको सम्बन्ध शिवसित, गरुड जातिको सम्बन्ध विष्णुसित भएको र नागहरूको वैरभाव गरुडसँग भएको सन्दर्भ पनि उल्लेख छ । माथिको सन्धि सन्दर्भले शिव, विष्णु, नाग र बुद्ध संस्कृतिका अनुयायीहरूका बीच सङ्घर्ष र सम्झौता भएको सङ्केत दिन्छ ।
बुद्धधर्ममा भने नागलाई सकारात्मक दृष्टिले हेरिन्छ । कतै यसको दोष देखाइएको पाइँदैन । बुद्ध धर्मका विभिन्न ग्रन्थ र जातक कथाहरूमा नागलाई मानवको भलो चाहने, दयालु, बुद्धिमान र अमरताको प्रतीकका रूपमा पेस गरिएको छ । त्यस्तैगरी विष्णुपुराण र भागवतपुराणअनुसार वसुदेवको कुलमा उत्पन्न भएका विष्णुका अवतार श्रीकृष्ण स्वर्गारोहण हुनुभएपछि मानिसहरू पापमा रमाउन थाले । त्यसैबेलादेखि कलियुगको आरम्भ नागपञ्चमीकै दिन भएकाले पात्रोमा कल्की जयन्ती भनी लेखेको हुन्छ ।
नागपूजा साउन शुक्लपञ्चमी तिथिमा नै किन भन्ने प्रश्न पनि आउन सक्छ । लौकिक कथाअनुसार एउटा किसानले खेत जोतिरहेको बेलामा हलोमा परी धेरै सर्प मरे । सो कुरा सर्पमाताले थाहा पाएर किसानको सपरिवारलाई नै मार्ने सङ्कल्प लिइन् । किसानकी छोरीले चाल पाएर श्रद्धा भक्तिपूर्वक नागको पूजा गरिन् । नागमाताको क्रोध शान्त भयो र किसान परिवारले अभयदान पाए । सो दिन श्रावण शुक्ल पञ्चमीकै दिन थियो । सोही दिनबाट नाग पूजा गर्नुपर्दछ, सो दिन हलो जोत्नु हुँदैन भन्ने परम्परा चलिआएको छ ।
खासमा ऋषिमुनिले नाग जातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ । नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नागदेवताले संसारको सबैभन्दा बहुमूल्य रत्न मणिलाई शिरमा राखेका हुन्छन् । श्रीखण्ड र सङ्गीत नागलाई निकै मन पर्छ । यसबाट मुक्त हुँदा र वर्षायामको पानी र गर्मीले गर्दा जमिनभित्रबाट शीतलताका लागि बाहिर निस्कँदा मानिसलाई डस्ने हुनाले साउन महिनामा नागको पूजा गर्ने गरिन्छ । यसर्थ, नागले मानव जाति र प्राणी हितका लागि सुकार्य गरेकाले सबैले पुज्ने गर्छन् । वैज्ञानिकहरूले पनि यो कुरा पुष्टि गरिसकेका छन् । त्यसरी नै भगवान् शङ्करले सदासर्वदा सर्पको माला लगाई सर्पप्रति सम्मान गरेको प्रस्ट हुन्छ । त्यस्तै गुरु गोरखनाथले नौ नागको आसनमा बसी १२ वर्षसम्म तपस्या गरेकोजस्ता अनेकाँै प्रसङ्ग पाइन्छन् । यसका साथै नाग बास गरेको ठाउँमा लक्ष्मीले बास गर्छिन्, शान्ति भई फलिफाप हुन्छ भन्ने जनश्रुति छ । यसकारण पनि घरको जग हाल्दा विशेष रूपमा नागको पूजा गरी घरमा नागका लागि अलग्गै स्थान छोडिराख्ने प्रचलन उपत्यकाका आदिवासीको रहेको छ ।
यसका साथसाथै नागको महिमाको सम्झना गरी राख्न नागपोखरी, नागस्थान, नागढुङ्गा आदि नामका ठाउँ काठमाडौँ वरपर निकै प्रसिद्ध छन् । नागप्रति आस्था राख्दै चाडपर्व, विवाह, व्रतबन्ध, शुभ अन्नप्राशन आदिमा विधिपूर्वक नागदेवताको पूजा गरिन्छ । यसकारण नागपञ्चमी अझै पनि परम्परागत रूपमा मनाइएको पाइन्छ । यसर्थ, जमिनभित्र बस्ने नागले घरको धरातललाई हलचल गर्न नदिने र घरमा सुख, शान्ति र समृद्धि हुने धार्मिक मान्यता छ । नागपञ्चमी श्रद्धा र विश्वासको पर्व पनि हो । यस दिनमा नागका साथै नागधारी शिवको पनि पूजा–आराधना गरिन्छ ।
ज्योतिषशास्त्रीय मान्यताअनुसार पनि विभिन्न रोग, दोष निवारणका लागि नागपञ्चमीको दिन काल सर्पदोष निवारणसम्बन्धी पूजाआजा गर्ने चलन छ । यस दिन खेतमा खनजोत गर्दा सर्पहरू मर्दछन् भन्ने मान्यताले गर्दा जमिन खन्ने–जोत्ने कार्य गर्नुहुँदैन भन्ने जनविश्वास रहिआएको छ । कृषि र वर्षासँग पनि नागको समन्वय भएकाले यस्ता पर्वहरूमा प्रकृतिमा रहेका जीवको पनि पूजाआजा गरी पृथ्वीमा सबैको सहअस्तित्व स्वीकार्नु नेपाली संस्कृतिको विशेषता र मौलिकता हो, जसले प्रकृति र संस्कृतिबीच समन्वय स्थापित गरेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?