logo
२०८१ मंसिर १४ शुक्रवार



प्रभावकारी बन्दै स्वास्थ्य बीमा कार्यक्रम

स्वास्थ्य |


प्रभावकारी बन्दै स्वास्थ्य बीमा कार्यक्रम


काभ्रे समाचारदाता

काभ्रे, साउन ३१ गते । नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम काभ्रेमा प्रभावकारी बन्दै गएको छ । पाँच जनासम्मको परिवारका लागि तीन हजार पाँच सय रुपियाँ तिरेर बीमा गरेपछि एक वर्षसम्म एक लाख रुपियाँ बराबरको स्वास्थ्य सेवा उपलब्ध हुने भएपछि बीमा गराउने बढ्दै गएका छन् ।
बेथानचोक गाउँपालिका–१ का नेत्रप्रसाद दाहालले स्वास्थ्य बीमा कार्यक्रम निकै राम्रो रहेको भन्दै एक वर्षमा पटकपटक गरेर ६५ हजार रुपियाँ बराबरको सेवा लिएको बताउनुभयो । मेरो नवीकरण सकिएको छ । छिट्टै नै नवीकरण गर्नेछु, उहाँले अन्यलाई पनि स्वास्थ्य बीमा गरेर सरकारले दिएको सुविधा लिन अनुरोध गर्नुभयो ।
स्वास्थ्य बीमा कार्यक्रम काभ्रेमा २०७६ भदौ २४ बाट लागू भएको हो । स्वास्थ्य बीमा बोर्ड, काभ्रेकी दर्ता अधिकारी मुना निरौलाले असार मसान्तसम्म काभ्रेमा ३० हजार परिवारका ९१ हजार तीन सय जनाले स्वास्थ्य बीमा गरेको जानकारी दिनुभयो । काभ्रेमा धुलिखेल अस्पताल, मेथिनकोट अस्पताल, पाँचखाल प्राथमिक केन्द्र, धुलिखेल प्राथमिक केन्द्र, खोपासी, सुन्थान प्राथमिक स्वास्थ्य केन्द्र र रेयुकाइ एईको मासुनागा आँखा अस्पतालबाट बीमितले सेवा लिन पाउनेछन् ।
नेपाल सरकारले एचआईभी सङ्क्रमित, एमडीआर टीबी, पूर्ण अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, कुष्ठरोगीले तिर्नुपर्ने प्रिमियम रकममा पूर्ण छुट र महिला स्वास्थ्य स्वयंसेविकाले तिर्नुपर्ने प्रिमियम रकममा ५० प्रतिशत छुट दिइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?