जिवछ यादव
लहान, भदौ ७ गते । सिरहा सदरमुकामा रहेको जिल्ला अस्पताल सिरहामा बिरामीहरूको चाप बढ्न थालेको छ । स्थानीय बिरामीहरू टाढा गएर लिइनुपर्ने स्वास्थ्य सेवा अब आफ्नै गाउँ ठाउँमा पाउन थालेपछि अस्पतालमा बिरामीको चाप बढेको अस्पतालले जनाएको छ ।
केही वर्ष पहिले जिल्ला अस्पताल सिरहा ‘रेफर’ केन्द्रको रूपमा थियो । सामान्य रोगका बिरामीहरूलाई यहाँ उपचार हुन नसक्ने भन्दै अस्पतालले रेफर गरेर धरान विराटनगर पठाउने गर्ने गर्थे । केही वर्ष यता अस्पतालको व्यवस्थापन र उपचारमा स्थानीयहरूले चासो लिन थालेपछि पहिलेको तुलनामा अहिले अस्पतालमा व्यापक सुधार देखिएको नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष रही सक्नु भएको स्थानीय देव कुमार यादवले बताउनुभयो ।
अहिले अस्पतालभित्र पसेपछि बिरामीहरूको उपचारमा अस्पतालका चिकित्सकहरू व्यस्त देखिन्छ, पहिले कुनै वास्ता नै गरिदैन्थ्यो । बिरामीहरूले स्वयम अस्पतालबाट सन्तोषजनक उपचार पाएको खुसी व्यक्त गर्न थालेको स्थानीयहरू बताँउछन । स्थानीय दिनेश यादवकाअनुसार सुपरिटेन्डेन्ट भएर नागेन्द्र प्रसाद आएपछि अस्पतालको सुधारमा ह्वातै प्रगति देखिएको छ ।
अरू ठाउँमा गएर फिस्टुलाको शल्यक्रिया गराउन ५० हजारभन्दा बढी खर्च हुन्थ्यो । तर आफ्नै नगरपालिकामा रहेको सिरहा अस्पतालमा डा. नागेन्द्र यादवले शल्यक्रिया गरिदिएपछि निको भएको सिरहा नगरपालिका हक्पराका महेश यादवले खुसी व्यक्त गर्दै शल्यक्रिया गराउन साढे सात हजार मात्रै खर्च लागेको बताउनुभयो । उहाँले भन्नुभयो,आफ्नै गाउँ ठाउँको अस्पताल सुध्रिएपछि निकै लाभ भयो । हाम्रा स्थानीय सरकारले अस्पताललाई सबल बनाउन ध्यान जाओस् । म जस्ता धेरैले यस अस्पतालबाट स्वास्थ्य लाभ लिएका छन् ।’
महेश यादव जस्तै दर्जनौँ बिरामीहरू अहिले सिरहा अस्पतालमा भर्ना भएर आमा सुरक्षा कार्यक्रम अन्तर्गत सेवा सुविधा, निःशुल्क डाइलोसिस, हर्निया फेस्टुला जस्ता बिरामीहरू उपचार गराएर आफ्नै गाउँ ठाउँमा स्वास्थ्य लाभ लिनुले सिरहा नगरपालिकाका स्थानीयहरू असाध्यै खुसी भएको जिल्ला समन्वय समितिका सदस्य गीता पासवानको भनाइ छ । उहाँको अनुसार सामान्य स्वास्थ्य उपचारको लागि धरान विराटनगर र भारतको दरभङागासम्म जाने बाध्यताको अन्त्य भएपछि यस अस्पताललाई अझै सुविधा सम्पन्न बनाउन सबै सरोकारवालाहरूको पहल हुनुपर्ने आवश्यकता छ ।
२०७५ वैशाख २५ गते आफू अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट भएर आएपछि बिस्तारै बिस्तारै थालेको सुधारको प्रयासले परिणाममुखी हुन थालेको मेसु नागेन्द्र यादवले जानकारी दिँदै थप्नुभयो,‘अस्पतालमा चिकित्सकहरूको अभाव छ । यस अभावलाई पूर्ति गर्न अधिकार प्राप्त भइसकेकोले त्यो समस्या पनि चाँडै समाधान हुनेछ । ५० शय्याको अस्पतालमा अहिले सबै शैय्याहरु भरिएका हुन्छ । एक दिनमा १८ जना बिरामीहरूको शल्यक्रिया गर्न सफल भएका छौ ।’