गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २६ गते । सरकारले मानसिक स्वास्थ्य उपचारका लागि १३ वटा अस्पतालहरूमा छुटै् वार्ड बनाउने भएको छ ।
त्यसका लागि सरकारले बजेटको समेत व्यवस्था गरिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले मानसिक रोगको उपचार गर्नका लागि अब १३० शøया छुट्याउने जानकारी दिनुभयो । उहाँले मानसिक स्वास्थ्यसम्बन्धी औषधि आपूर्तिमा सहज हुने उद्देश्यले सबै प्रदेशमा ५० लाख रुपियाँका दरले बजेट विनियोजन गरिएको बताउनुभयो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुखसमेत रहनुभएका डा. पौडेलले आत्महत्या रोकथाम हेल्पलाइन ११६६ सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । विश्व स्वास्थ्य सङ्गठनको सहयोगबाट सञ्चालित यो सेवा यसै आर्थिक वर्षबाट सञ्चालन गरिनेछ । उहाँले सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम ४२ जिल्लाबाट आगामी दुई वर्षभित्र ७७ वटै जिल्लामा विस्तार गर्ने लक्ष्य सरकारले लिएको बताउनुभयो ।
वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. सरोजप्रसाद ओझाका अनुसार देशमा आत्महत्या दिनहुँ बढी रहेको छ । गत वर्ष नेपालमा सात हजार एक सयले आत्महत्या गरेका थिए ।
प्रत्येक सेप्टेम्बर १० तारिखमा आत्महत्या रोकथामविरुद्धको दिवस मनाइने गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार प्रत्येक वर्ष विश्वमा आठ लाख मानिसको मृत्यु आत्महत्याको कारण हुने गरेको छ । तीमध्ये ८० प्रतिशत निम्न तथा मध्य आय भएका देशमा छ । सङ्गठनका अनुसार प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गर्दछन् भने एक जनाको आत्महत्याले १३५ जनालाई असर पर्दछ ।