logo
२०८० चैत्र १६ शुक्रवार



काँग्रेस वडा अविधेशनमा झडप, मतदान अधिकृतसहित पाँच घाइते

खुला |
प्रदेश |


काँग्रेस वडा अविधेशनमा झडप, मतदान अधिकृतसहित पाँच घाइते


जनार्जन खत्री
सर्लाही, मङ्सिर १३ गते । सर्लाहीको बलरा नगरपालिका– ८, गहडीयामा सोमबार दिउँसो नेपाली काँग्रेसको वडा अधिवेशनस्थलमा झडप हुँदा मतदान अधिकृतसहित पाँच जना घाइते भएका छन् ।

काँग्रेसको एक समूहले आफूहरुसँग बहुमत रहेको भन्दै मतदान अधिकृत उमेशचन्द्र झालाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले अधिवेशन गराउन खोजेपछि झडप भएको बताइएको छ । प्रहरीले मतदान अधिकृत झालाई उद्धार गरेर प्रहरी कार्यालयमा लैजान खोज्दा काँग्रेस कार्यकर्ताले ढुङ्गामुढा गरेका थिए ।

त्यसक्रममा मतदान अधिकृत झा, जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट खटिनुभएका प्रहरी निरीक्षक (इन्सपेक्टर) सुरेश ठाकुर, एक प्रहरी हवल्दार, अर्का एक प्रहरी र एक जना नागरिक घाइते हुनुभएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिनुभयो । मतदान अधिकृत झाको टाउकोमा गहिरो चोट लागेको छ ।

झासहित अन्य घाइतेहरुको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । प्रहरीले झडपलाई नियन्त्रणमा लिन केही शेल अश्रुग्याँस प्रहार गरेको सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो । झडपपछि वडा अधिवेशन स्थगित गरिएको छ । यसअघि आइतबार पनि बलरा नगरपालिका–९, अचलगढमा काँग्रेसका दुई समूहबीच झडप भएको थियो ।

त्यसक्रममा काँग्रेस नेता एवं प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहका अङ्गरक्षकले एक राउण्ड हवाई फायर गर्नुभएको थियो । झडपका कारण सोमबार पनि बलराका विभिन्न वडाहरुमा काँग्रेसको वडा अधिवेशन स्थगित गरिएको छ ।

विवादपछि सर्लाहीमा आइतबारबाट काँग्रेसको वडा अधिवेशन प्रक्रिया सुरु भएको हो । जिल्लाका ११ नगरपालिका र १० गाउँपालिकाका २०० वडामध्ये हिजो १६० भन्दा बढी वडाहरुमा सहमतीबाटै नेतृत्व चयन भएको थियो । बाँकी वडाहरुमा सोमबार मतदान चलिरहेकाबेला एक समूहले आक्रमण गरेको निर्वाचन अधिकृत भरत राउतले बताउनुभयो ।

झडपका कारण ४ नम्वर निर्वाचन क्षेत्रमा पर्ने बलरा नगरपालिकाका विभिन्न वडाहरुमा अधिवेशन नै अन्यौलमा परेको छ । सो क्षेत्रमा पार्टीका प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंह र पार्टीकै नेता एवं प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह समूहबीच विवाद देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?