logo
२०७९ असार २० सोमवार



पुस्तान्तरण हुँदै गरेको काँग्रेस

अबको पार्टी सञ्चालन महाधिवेशनको भावनालाई अनुसरण गरेर हुनुपर्छ

विचार/दृष्टिकोण |


पुस्तान्तरण हुँदै गरेको काँग्रेस


डा. सुरेश आचार्य

नेपाली काँग्रेसको चौधौं महाधिवेशनले केही नयाँ सन्देश लिएर आएको छ । शेरबहादुर देउवा दोस्रो पटक सुविधाजनक हिसाबमै सभापति निर्वाचित हुनुभएको छ, यद्यपि विजयी घोषणा हुन यस पटक पनि विधानको बाध्यताका कारण दोस्रो चरणको निर्वाचनसम्म पुग्नुप-यो । महाधिवेशन प्रतिनिधिले देउवालाई सभापतिमा दोहो-याउँदै गर्दा पदाधिकारी र सदस्यमा भने युवा पुस्तालाई खोजेको छ । यद्यपि, केन्द्रीय सदस्यमा लडेका पदाधिकारीका आकाङ्क्षीलाई हार्न दिएको छैन । यो महाधिवेशनले पन्ध्रौँ महाधिवेशनमा पुग्दा अहिलेको काँग्रेसको दोस्रो पुस्ताले निकै चुनौतीको सामना गर्नुपर्ने प्रष्ट सन्देश भने दिएको छ ।

उपसभापतिमा विजय गच्छदारको पराजय प्राविधिक मात्र मान्दै गर्दा पनि तेस्रो पुस्ताका धनराज गुरुङले प्राप्त गरेको विजय उमेरको पनि हो । काँग्रेसमा गुट चलाउँदै गर्दा धनराजले गुटभन्दा माथि उठेर ठीक र बेठीकलाई प्रष्ट रूपमा राखेर आफ्नो अलग पहिचान बनाउनु भएको थियो । बेलाबखत कथित युवा पुस्ताका बाह्र वा सोह्र भाइका वक्तव्यमा धनराजको नाम जोडिने गरे पनि उहाँको पहिचान त्यतिमा मात्र सीमित थिएन । यद्यपि, धनराजले प्राप्त गरेको मतको भार काँग्रेस महाधिवेशन प्रतिनिधिमा ठूलो सङ्ख्यामा प्रतिनिधित्व गर्दै गरेका आदिवासी जनजातिको पनि हो भन्न सकिन्छ । तर, जातीय मतका आधारमा मात्र विजय सम्भव थिएन भन्ने सहमहामन्त्रीका उम्मेदवारको चयनले पनि देखाएको छ ।

निर्वाचनका बेला गुट बनाउनु सभापतिको उम्मेदवार हुनेको बाध्यता पनि हो । महाधिवेशनले गुटको चयनभन्दा योग्य उम्मेदवार चयन गरेको छ । पराजय भोग्नेहरू सबै अयोग्य भन्ने अर्थ नलगाउने हो भने जित्दै गरेका उम्मेदवार पार्टी सङ्गठनका लागि आवश्यक र उपयुक्त पात्र नै धेरै छन् । कुनै समूह वा गुटमा बस्नु उम्मेदवारको तात्कालिक आवश्यकता वा बाध्यता भए पनि मतदाताको छनोट त्यस किसिमको मात्र छैन । महामन्त्रीका दुवै विजेताले यो तथ्यलाई प्रमाणित गरेका छन् । गगन थापाले पाएको ६४.५ प्रतिशत मत उहाँले उम्मेदवारीका लागि रोजेको समूहको मतभन्दा झण्डै दोब्बर हो । त्यसैगरी विश्वप्रकाश शर्माले पाएको ४२.४ प्रतिशत मत उहाँ उभिएको समूहको भन्दा पाँच गुणा बढी छ । अर्थात्, दुवै महामन्त्रीले पाएको मत कुनै गुट वा समूह विशेषको होइन । यसको स्वाभाविक अर्थ यी दुवै महामन्त्रीलाई कुनै गुटका रूपमा केन्द्रीय समितिमा प्रस्तुत हुने र साङ्गठनिक गतिविधि गर्ने छुट हुने छैन ।

महाधिवेशनले गुटको अस्तित्वलाई एक हिसाबले समाप्त गरेको छ । सभापतिमा पहिलो चरणमा ४८.३ प्रतिशत मत पाउनुभएका सभापति देउवा समूहबाट उठेको पदाधिकारी उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा सबै विजयी बन्न सकेनन् । जो जुन समूहबाट जितेका छन्, राम्रा र युवा उम्मेदवार जितेका छन् । समग्र टिम मात्रै हेर्ने हो भने डा. शेखर कोइरालाको टिममा बढी युवा देखिन्थे तर त्यो समूहबाट जित्ने भन्दा हार्ने धेरै छन् । युवा हुनु मात्र योग्यता होइन भन्ने पनि यसले पुष्टि गरेको छ । अर्कातिर अहिलेसम्मको परिणाम हेर्दै गर्दा ७० प्रतिशतभन्दा बढी देउवाको टिममा रहेका उम्मेदवार विजयी हुने लगभग निश्चित देखिएको छ । समूहलाई महाधिवेशन प्रतिनिधिले विल्कुल बिर्सिए भन्ने अर्थ पनि गर्न मिल्दैन ।

अधिकांश युवा जित्दै गर्दा अब दोस्रो पुस्ता सङ्कटमा परेको छ भनेर अनुमान गर्न कठिन छैन, यद्यपि यो महाधिवेशनले केन्द्रीय सदस्यमा पार्टीका पुराना हस्ती कसैलाई विस्थापित पनि गरेको छैन । शशाङ्क कोइरालाले सबैभन्दा पहिलो मत पाउनु भएको छ । एनपी साउदलाई उदीयमान नेताका रूपमा प्रस्तुत गरेको छ । बालकृष्ण खाण, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, उदयशमशेर राणा, जितजङ्ग बस्नेत, नैनसिंह महर, गोविन्द भट्टराई, दीपक गिरी सबैले सम्मानजनक मत पाउनुभएको छ । यसरी नै उमेरले सबैभन्दा अग्रज गोपालमान श्रेष्ठ, ८० कै दशकका अर्जुननरसिंह केसी, रामशरण महत, दिलेन्द्र बडु मात्र होइन, कुनै बेलाका अत्यन्त जुझारु नेता बलबहादुर केसीले पनि निर्वाचन हार्नु परेको छैन । महाधिवेशनले नेताहरूको सम्मान पनि गरेको छ । भावी नेताका रूपमा युवा पुस्तालाई अघि बढाएको पनि छ । यस अर्थमा महाधिवेशनको फैसला समग्रमा न्यायसङ्गत नै छ ।

यो महाधिवेशनले रामचन्द्र पौडेललाई निर्वाचनको मैदानबाट बाहिर राख्यो । यसको स्पष्ट कारण उहाँ आफैँले पोस्दै र उहाँकै शब्दमा उहाँले संरक्षण गर्दै आउनुभएको उपगुट नै हो । खासमा पौडेलले आफ्नो राजनीतिक मञ्च बनाउनुभएन, कोइराला परिवारको विरासतमा आफूलाई उभ्याउनुभयो । त्यो विरासत यस पटक उहाँका लागि खाली रहेन । यो सम्भावना धेरै अघिदेखि नै प्रष्ट थियो, तैपनि सहमतिका नाममा आफू आउन सक्ने झिनो आशमा बसिरहँदा उहाँ मैदानमा उभिने अवस्था रहेन । पौडेलका अनुभव र विचार पार्टीका लागि मार्गनिर्देशक बनाउने भूमिकामा उहाँको स्थान अहिले पनि सुरक्षित छ ।

यस पटक सबैभन्दा बढी आत्मपरीक्षण गर्ने अवसर विमलेन्द्र निधिलाई मिल्यो । सभापति देउवाले उत्तराधिकारीका रूपमा अगाडि बढाएका निधिले यस पटक आफ्नो परीक्षण आफैँ गर्ने निधो गर्नुभयो र सभापतिको प्रत्याशी बन्नुभयो । सभापतिमा खसेका ४ हजार ६ सय ८० मतमध्ये उहाँको भागमा २ सय ५० मत मात्र प¥यो । प्रदेश २ र गण्डकीका १ हजार ३ सय मतमा उहाँको भागमा १६६ मत परे । अरू दुई बुथमा उहाँले आधा सयमा चित्त बुझाउने अवस्था रह्यो । यो मत पार्टीमा उहाँले प्राप्त गर्नु भएको हैसियत अनुरूपको थिएन र होइन । पार्टीको दोस्रो हैसियतको व्यक्ति प्रतिस्पर्धामा उत्रँदै गर्दा दोस्रो मत ल्याउन सक्नुपथ्र्यो । तेस्रो स्थानमा आउँदै गर्दा पनि सम्मानजनक मत आउनुपथ्र्यो । तर, उहाँ चौथो स्थानमा पर्नुभयो र त्यो पनि, अत्यन्त न्यून मतका साथ । पार्टी उपसभापतिका हैसियतमा नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई उपयोग गरेर उहाँले समानान्तर सङ्गठनको प्रयत्न पनि गर्नु भएको थियो । प्रतिष्ठानमा कहिल्यै नभएका जिल्ला तह गठन गरेर वडा तहका कार्यकर्ता समेतलाई समेट्नु भएको थियो र सम्भवतः यही साङ्गठनिक बलमा उहाँले आफ्नो हैसियत परीक्षण गर्न चाहनुभएको थियो । तर, उहाँको यो परीक्षण आत्मघातीसिद्ध भयो ।

सभापतिका लागि दोस्रो चरणको मतदानको अवस्था आउँदा शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङ एक ठाउँमा उभिनुभयो । डा. शेखर कोइरालाले अरूको साथ नपाउँदै गर्दा एक्लै लड्नुको एउटै मात्र विकल्प थियो–मैदान खाली गरेर देउवाले प्राप्त गर्नु भएको मतको सम्मान गर्ने । तर, उहाँले लोकतान्त्रिक विधि र प्रक्रियामा जाने बताउनुभयो । यस पटकभन्दा कम मतान्तर रहेको अघिल्लो महाधिवेशनमा पनि रामचन्द्र पौडेलले यही बाटो अपनाउनुभएको थियो । यस पटक डा. कोइरालाले पनि त्यही मार्ग रोज्नुभयो । विधि र प्रक्रियाका हिसाबले यो अन्यथा थिएन, यद्यपि, मतदाताको आकाङ्क्षा बुझिसकेपछि उहाँहरूलाई दोहोरो दुःख नदिएको भए सद्भावको राजनीतिक संस्कार देखिने थियो ।

दोस्रो चरणको प्रतिस्पर्धामा जाँदा काँग्रेस फेरि एक पटक २०५९ सालको अवस्थामा फर्केको आभास भयो, जहाँ कोइरालाको विरासतमा रहनेहरू एकातिर थिए र अरू अर्कातिर । भलै यस पटक कोइराला परिवारमा विरासतको राजनीति डा. शेखरले लिइरहँदा शशाङ्क र सुजाता फरक धारमा उभिनुभयो । कोइराला परिवारका यी दुई शीर्ष सदस्यलाई बिर्सेर हेर्दै गर्दा काँग्रेस प्रजातान्त्रिकका सभापति देउवा, महामन्त्री प्रकाशमान सिंह, विमलेन्द्र निधि, नेविसङ्घका अध्यक्ष कल्याण गुरुङ एकै ठाउँमा उभिएर चुनाव हाँकिरहनुभएको थियो । उबेलाका उपसभापति गोपालमान श्रेष्ठ र विजय गच्छदार त्यसै पनि देउवा समूहमै हुनुहुन्थ्यो ।

यसको अर्थ काँग्रेसमा फेरि पुरानै धार रहन्थ्यो भन्ने होइन, शशाङ्क र सुजाताको उपस्थितिले त्यो गुट भत्काइसकेको थियो । उपसभापति र महामन्त्रीको निर्वाचन परिणामले अब कुनै गुटको औचित्य साबित गर्न कठिन बनाइदिएको छ । काँग्रेसमा नेतृत्व हस्तान्तरण मात्र होइन, यो महाधिवेशनले धेरै हदसम्म पुस्तान्तरण पनि गरिदिएको छ । आगामी पन्ध्रौँ महाधिवेशन कस्तो होला भन्ने स्वरूपको समेत आकलन गरिदिएको छ । अबको पार्टी सञ्चालन महाधिवेशनको त्यही भावना समेटेर हुनुपर्छ । त्यसका लागि सभापति देउवा र उहाँको सिङ्गो टिम तदनुरूप परिचालन हुन आवश्यक छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?