logo
२०७९ जेष्ठ १२ बिहीवार



दोहनले जन्माएको सङ्कट

विचार/दृष्टिकोण |


दोहनले जन्माएको सङ्कट


शिरीषवल्लभ प्रधान
जलवायु परिवर्तन अहिले विश्वकै जल्दोबल्दो समस्याका रूपमा देखापरेको छ । हालैका दिनमा विश्वमा जलवायु परिवर्तनको असर यति भयानक देखिएको छ । त्यसका कारण स्वयं मानव जाति नै निकट भविष्यमा लोप हुने प्राणीको वर्गमा पर्न सक्ने सम्भावना बढेको छ । केही समयअघि बेलायतको ग्लास्गोमा सम्पन्न कोप–२६ वा त्यसभन्दा अगाडि भएका जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा विकसित तथा विकासोन्मुख राष्ट्रहरूले कार्बन उत्सर्जन न्यूनीकरणका सम्बन्धमा जनाएका प्रतिबद्धता कागजमै सीमित राख्ने हो भने त्यस्ता सम्मेलनको कुनै अर्थ रहने छैन ।

हालै युरोप, अमेरिका तथा एसियाकै केही देशको मौसममा देखिएको असाधारण उतारचढावका कारण हावा, हुरी, अतिवृष्टि, सुक्खा, बाढीजस्ता प्राकृतिक प्रकोपका घटना जुन भए त्यसलाई जलवायु परिवर्तनका पछिल्ला विध्वंशकारी प्रभावका रूपमा लिन सकिन्छ । सुक्खाको समयमा अति वर्षा भई बाढीले युरोपेली सहर जलमग्न हुनु र चिसो मौसममा आँधीबेहेरी आएर अमेरिकाका केही राज्यमा सयभन्दा बढी व्यक्ति हताहत हुनुजस्ता घटना केवल संयोग मात्र हुन सक्दैन । अमेरिकास्थित टेनेसी, केन्टुके, अर्कान्सस, मिसौरीलगायतका राज्यमा २०२१ को मध्य डिसेम्बरमा आएको विध्वंशकारी आँधीबेहेरीका कारण एक सयभन्दा बढी मानिसको ज्यान गएको थियो ।

त्यस्तै जर्मनी, फ्रान्स र बेल्जियमलगायतका देशमा सोही वर्षको मध्य जुलाइमा अचानक देखापरेको अतिवृष्टि तथा बाढीले दुई सयभन्दा बढी मानिसको ज्यान जानुका साथै ४० अर्ब डलरभन्दा बढी धनसम्पत्ति नोक्सान भएको सञ्चारमाध्यमले जनाएको छ । त्यस्तै फिलिपिन्समा डिसेम्बरको तेस्रो सातातिर आएको राइ नामक शक्तिशाली आँधी, तुफानले झन्डै चार सय मानिसको ज्यान गयो भने कैयौँ बस्ती उडाइदिएका छन् ।
अस्ट्रेलियामा सन् २०१९–२० ताका भएको भीषण डँडेलोको कारक तìव पनि जलवायु परिवर्तन नै मानिएको छ, जसमा करोडौँ जीवजन्तु डढेर खरानी भए भने एक सय अर्ब डलरभन्दा बढीको नोक्सान भएको थियो । सो डढेलो सुक्खा मौसम र बढ्दो तापक्रमका कारण लागेको भन्ने अध्ययनले जनाएको छ । जसको प्रत्यक्ष सम्बन्ध जलवायु परिवर्तनसँग हुन्छ ।

यसबाट के कुरा प्रमाणित भएको छ भने जलवायु परिवर्तनले नेपालजस्ता हिमालय वरपरका देशमात्र प्रभावित नभई विश्वका कुना काप्चामा रहेका देश पनि त्यसको विध्वंशबाट बच्न सक्दो रहेन छ । तसर्थ, अब अमेरिका, चीन तथा भारतलगायत युरोपका केही देश जसको कार्बन उत्सर्जन र पृथ्वीको तापक्रम वृद्धिमा अत्यधिक योगदान रहेको छ, अब प्राकृतिक प्रकोपको जोखिमबाट मुक्त छैनन् । निश्चय पनि ती विकसित र औद्योगिक राष्ट्रहरूको आंँखा यसले खोलिदिएको हुनुपर्छ ।

पृथ्वीको तापक्रममा अत्यधिक वृद्धि, सुक्खा, बाढी, डँडेलो, अतिवृष्टि तथा समुद्री सतहमाथि उठ्नेजस्ता घटना हालैका दिनमा जसरी विश्वव्यापी रूपमा वृद्धि भएको छ, त्यसको पछाडि जलवायु परिवर्तन नै मुख्य कारक तìव रहेकोमा शङ्का छैन । ग्लास्गोमा गत वर्षको नोभेम्बरमा सम्पन्न कोप–२६ को उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको एक उच्चटोलीले सहभागिता जनाएको थियो । सो अवसरमा विश्व तापक्रम वृद्धिमा नगन्य योगदान रहेको नेपालजस्तो अल्पविकसित देशले समेत कार्बन उत्सर्जनलाई शून्यमा झार्र्ने वचनबद्धता देखाएको थियो । सो सम्मेलनको मुख्य उद्देश्य विश्वको तापक्रम वृद्धि दरलाई शताब्दीको अन्त्यसम्ममा १.५ डिग्री सेल्सियस वा सोभन्दा तल झार्न शून्य कार्बन उत्सर्जनप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता हासिल गर्नु र जलवायु परिवर्तन सम्बन्धमा आमजनमानसमा चेतना अभिवृद्धि गर्नु थियो ।

अर्को कुरा, कोरोनाको महामारीले विगत दुई वर्षमा विश्वका करोडौँ मानिसलाई सङ्क्रमित तुल्याउनुका साथै ५० लाखभन्दा बढी सङ्मितको ज्यान लिएको छ । कोरोनाविरुद्ध भ्याक्सिनको व्यापक अभियान चलाएका अमेरिका तथा युरोपेली राष्ट्रमा ओमिक्रोन नामक नयाँ भेरियन्ट अहिले यसरी फैलिएको छ कि त्यसबाट हरेक दिन एकै देशमा एकदेखि दुई लाख मानिस सङ्क्रमित हुन थालेका छन् । पृथ्वीमा हाल भइरहेको बढ्दो वातावरण प्रदूषण र कोरोनाजस्ता महामारीबीच प्रत्यक्ष नभए पनि अप्रत्यक्ष सम्बन्ध रहेको बलियो आधार देखापरेको छ ।

कोरोना महामारीले गर्दा प्रकृतिले एक प्रकारले विश्राम लिन पायो । यसरी प्रकृतिले मानव जातिको कथित विकास र सभ्यताको कारण बोक्न परेको भारी बिसाएर केही क्षण आराम गरेको जस्तो देखियो । वास्तवमा हामी लकडाउनको समयमा आफ्ना न्यूनतम आवश्यकता पूरा गरेर पनि बाँचिरहेका थियौँ । यातायात, कलकारखाना आदि बन्द हुँदा पनि हाम्रो जीवन गुजारा चलिरहेको थियो । कतै प्रकृतिले हामीलाई एकक्षण सबै प्रकारका दौडधूप, प्रतिस्पर्धा, आपसी द्वन्द्व, तडक, भडकलाई त्यागेर कथित विकास र सभ्यताको गतिलाई ठप्प पारेर चुपचाप जीवनलाई नियालेर हेर्न सन्देश दिएको त हैन ? आधुनिकता र कृत्रिमता पराकाष्ठामा पुगसिक्यो अब एक क्षण प्रकृतितर्फ फर्क भनेर हामीलाई धर्तीमाताले सुझाव दिएकोे त हैन ? किनभने हामी मानिस मात्र चेतनशील प्राणी नभई जनावर र रुखविरुवामा पनि चेतना भएको वैज्ञानिकले प्रमाणित गरिसकेका छन् । पूर्वीय दर्शनले भन्छ, यो सारा विश्व, ब्रह्माण्ड नै चेतनाको पुन्ज हो, कण, कणमा चेतना व्याप्त छ ।

श्रीमद्भागवत्मा उल्लिखित गाईरूपी पृथ्वी र राजा पृथुबीचको संवाद उल्लेख गर्नु सान्दर्भिक हुनेछ । त्यसमा पृथ्वी भन्छिन्ः दुष्ट तथा लुटेराले मसँग भएका अन्न तथा बहुमूल्य औषधि लुटेर लगेकाले मैले भविष्यका निम्ति बचाउन मैले त्यसलाई आफ्नो गर्भमा लुकाइराखेको छु । यसरी भागवतले हामीलाई पृथ्वीको अति दोहन नगरी त्यसको संरक्षण पनि गर्न आवश्यक छ भन्ने शिक्षा दिन्छ । हिन्दु धर्ममा हावा, पानी, अग्नि, आकाश, पृथ्वी, चन्द्रमा, सूर्य तथा सम्पूर्ण प्राणीलाई अष्टमूर्ति अर्थात् आठ प्रकारका देवताको संज्ञा दिइएको छ । हाम्रो धर्म संस्कृतिले तिनीहरूको पूजा, उपासना, स्तुति र महिमा गाउन सिकाउँछ । जस्तै छठमा सूर्यको पूजा गरिन्छ भने अग्नि र वायुलाई देवता तथा नदीलाई देवीको रूपमा हामी पुज्ने गर्छौं । हाम्रो जीवनलाई सरल र कष्ट रहित तुल्याइदिएकोमा ती प्राकृतिक शक्तिहरूको उपासना गर्नु हाम्रो कर्तव्य पनि हो र तिनीहरूले हामीलाई लगाएका ऋण चुक्ता गर्न स्तुति गाउँदै सम्मान व्यक्त गर्न र तिनको संरक्षण गर्नपर्ने कर्तव्य बोध गराइएका श्लोक ऋग्वेद र अथर्ववेदमा पाइन्छ ।

त्यसैगरी वैदिक अर्थशास्त्रले भन्छ, आवश्यकतालाई न्यूनतम राख र आफूलाई चाहिने जति मात्र उपयोग गर । वेदले इन्द्रियको पछाडि नदौडिकन आफ्ना आवश्यकतामा अङ्कुश लगाउन र चाहिने जति मात्र उपभोग गर भन्ने सिकाउँछ । त्यसमा विलासिताको जीवन जिउन वर्जित गरिएको छ, जुन मानिसका असीमित आवश्यकता पूर्ति गर्न जोड दिने आधुनिक अर्थशास्त्रको ठीक विपरीत छ ।
अहिले आधुनिकताको नाममा हामी विलासिताको जीवनलाई अँगालिरहेका छौँ । स्वतन्त्रताको नाममा प्रकृतिको अत्यधिक दोहन गरिरहेका छौँ, जसको कारण हामी धर्तीमाताको निम्ति बोझझैँ बनेका छौँ । युरोप र अमेरिकाका मानिसको जस्तो विलासिताले भरिपूर्ण जीवन सबैले अपनाउने हो भने अहिलेको जस्तो तीनवटा पृथ्वी भए पनि पुग्ने छैन ।

त्यसैगरी कठोपनिषद्मा यमराज र नचिकेताको संवादमार्फत सन्देश दिन खोजिएको छ, मानिसको जीवनमा श्रेय र प्रेय गरी दुई प्रकारका बाटो देखा पर्छन् । त्यसबखत हामीले प्रेयलाई रोज्यौँ भने हामी क्षणिक सुखको भोग त गर्छौं तर दीर्घकालमा हाम्रो जीवन दुःखले भरिपूर्ण हुन्छ । तर यदि प्रेयलाई छोडेर श्रेयको चुनाव ग-यौँ भने हामीले सदाका लागि दुःखबाट मुक्त हुनेछौँ । त्यस्तै हामीले विलासितापूर्ण जीवनको निम्ति वातावरणलाई प्रदूषित हुन दियौँ, प्रकृतिमाथि अनावश्यक बोझ थप्दै गयौँ र केवल भौतिक विकास र प्रगतिमा मात्र ध्यान दिई पृथ्वीको तापक्रम वृृद्धि दरलाई वेवास्ता ग¥यो वा कार्बन उत्सर्जनलाई बेवास्ता ग-यौँ भने हाम्रो सन्तानको भविष्य नरक समान हुनेछ ।

तसर्थ वेद, उपनिषद्ले देखाएको सादा जीवन, उच्च विचारको मान्यतालाई आत्मसात् गर्नु आजको अपरिहार्य आवश्यकता हो । पर्यावरण जोगाउने हो भने जलवायु परिवर्तनको समस्या स्थायी समाधान खोज्ने हो भने हाम्रो जीवनशैलीमा पूर्ण परिवर्तन नल्याई सम्भव छैन । हामीले आफ्ना सन्ततिको सुरक्षित भविष्यको ग्यारेन्टी गर्ने हो भने जलवायु परिवर्तन रोक्न प्रकृति र मानिसबीचको सम्बन्धलाई सुमधुर बनाउन जरुरी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?