logo
२०८१ असोज ११ शुक्रवार



डीएसपीसहित आठ प्रहरी हत्याका अभियुक्त प्रहरी इन्काउन्टरमा मारिए

अन्तर्राष्ट्रिय |


डीएसपीसहित आठ प्रहरी हत्याका अभियुक्त प्रहरी इन्काउन्टरमा मारिए


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २६ गते । भारतको उत्तरप्रदेशमा आठ जना प्रहरीको हत्याका अभियुक्त प्रहरी मुठभेडमा मारिएका छन् । मध्यप्रदेशको उज्जैनमा अभियुक्त विकास दुबे बिहीबार पक्राउ परेका थिए ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार पक्राउ परेका विकास दुबे उत्तरप्रदेश ल्याउँदै गर्दा मुठभेडमा मारिएका छन् । गाडी दुर्घटना हुँदा प्रहरीको हतियार खोसेर भाग्ने क्रममा भएको मुठभेडमा  उनी मारिएका हुन् । हिन्दूस्तान टाइम्सका अनुसार ‘स्पेशल टास्क फोर्स’को टोलीको नियन्त्रणमा रहेका दुबे चढेको गाडी दुर्घटना भएको थियो । दुर्घटनालगत्तै दुबेले एक प्रहरी अधिकारीको हतियार खोसेर भाग्ने क्रममा मुठभेड भएको हो । मुठभेडको घटना शुक्रबार बिहान भएको हो ।
गत शुक्रबार भारतको कानपुरनजिकैको बिक्रु गाउँमा प्रहरीले पक्राउ गर्न दुबेको घर पुगेको बेला भएको भिडन्तमा एकजना डीएसपीसहित आठ जना प्रहरीको मृत्यु भएको थियो । लगत्तै दुबे आफ्नो सहयोगीहरूका साथ फरार भएका थिए ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुबेको संलग्नता ११ हत्यासहित ६० वटा अपराधिक घटनामा रहेको छ । भारतीय प्रहरीले दुबेलाई पक्राउ गर्न ४० वटा टोली परिचालन गरेको थियो । अभियुक्त दुबे उज्जैनस्थित एक मन्दिरमा दर्शनका लागि गएको बेला प्रसाद र फूल बेच्ने मालीले पहिचान गरी प्रहरीलाई खबर गरेको थियो । लगत्तै प्रहरीको टोली मन्दिर पुगेर दुबेलाई पक्राउ गरी उत्तरप्रदेश प्रहरीलाई बुझाएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?