logo
२०८१ असोज १३ आईतवार



पचास वर्षमा वन्यजन्तु सङ्ख्या दुई तिहाइले घट्याे

अन्तर्राष्ट्रिय |


पचास वर्षमा वन्यजन्तु सङ्ख्या  दुई तिहाइले घट्याे


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ २५ गते । पछिल्लो पचास वर्षमा वन्यजन्तुको जनसङ्ख्या दुई तिहाइले कमी आएको छ । प्रकृति संरक्षणका लागि विश्वव्यापी सङ्गठन विश्व वन्यजन्तु कोषले वन्यजन्तुको जनसङ्ख्यामा भयावह रुपमा कमी आएपनि गतिविधि सुस्त हुने कुनै सङ्केत नदेखिएको जनाएको छ ।
बीबीसीका अनुसार विश्व वन्यजन्तु कोषले मानवबाट अहिले भइरहेको प्रकृति विनाश विगतमा कहिल्यै नदेखिएको दरमा हुँदै आएको चेतावनी दिएको छ । विश्व वन्यजन्तु कोषकी कार्यकारी प्रमुख तान्या स्टिलेले भन्नुभयो, “हामीले वन क्षेत्रमा आगो लगाएका छौँ, समुद्रका अत्याधिक माछा मारेका छौँ, वन क्षेत्र नष्ट गरेका छौँ जसले गर्दा वन्यजन्तु ह्वात्तै घटेको छ ।”
“हामी आफैँ आफ्नो संसार ध्वस्त गर्न लागेका छौँ, जसले हाम्रो स्वास्थ्य, सुरक्षा र बाँच्ने आधारलाई जोखिममा पुर्याउनेछ र प्रकृतिले आफ्नो सन्देश पठाइरहेको छ, अझै हामी सचेत भएनौँ भने समय घर्किसकेको हुन्छ ।”– अध्ययनको प्रतिवेदन सार्वजनिक गर्दै उहाँले यस प्रकारको टिप्पणी गर्नुभयो ।


सन् १९७० यता २० हजारभन्दा बढी प्रजातिका स्तनधारी, चरा, उभयचर र सरिसृपमा ६८ प्रतिशतले कमी आएको छ ।
सन् २००० यता करिब १९ लाख वर्ग किलोमिटर जमीन समाप्त भएको छ । जुन बेलायतभन्दा आठ गुणा बढी हो । दश लाख वन्यजन्तु प्रजाति लोप हुने खतरामा छन् । एक अर्ब तीस करोड टन खाद्य वर्षेनी खेर जान्छ । जुन करिब एक खर्ब डलर बराबरको हुन आउँछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?