वासिङ्टन, मंसिर १५ गते।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो बजेट प्रमुखमा भारतीय मुलकी अमेरिकी नागरिक निरा टन्डनलाई नियुक्त गर्ने संभावना देखिएको छ । अर्थसम्वन्धी आफ्नो खास समूहको मुख्य पात्रका रुपमा उहाँलाई नियुक्त गरेर बजेट तर्फको जिम्मेवारी दिने सम्भावना रहेको समाचारमा जनाइएको छ ।
न्युयोर्क टाईम्सले लेखेको समाचारका अनुसार उहाँलाई अमेरिकामा विकासका बारेमा अनुभवी व्यक्तिका रुपमा चिनिने गरिन्छ । बाइडेनले अर्थसम्वन्धी आफ्नो समूहका अन्य व्यक्तिहरुको पनि सूची बनाउनुभएको र त्यसलाई अन्तिम रूप दिएर घोषणा गर्न लाग्नुभएको जनाइएको छ ।
उहाँले नियुक्त गर्ने मुख्य मुख्य पदहरुमा बाइडेनले महिलाहरुलाई प्राथमिकता दिनु भएको देखिएको छ । अर्थबाहेक अन्य दर्जनौ सल्लाहकार तथा सहयोगी समुहहरुमा पनि उहाँले महिलाहरुलाई प्राथमिकता दिनुभएको छ ।
बाइडेनले ह्वाइट हाउसको सञ्चार टोलीका सदस्यहरुमा पनि सबै जना महिला हुने घोषणा गर्नुभएको छ । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहनु भएकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको छ ।
बाइडेनले आफूले ह्वाइट हाउसको सञ्चार टोलीका सबै सदस्यमा महिलाहरूलाई नियुक्त गर्न पाएकामा आफूलाई निकै खुशी र गर्व लागेको बताउनुभएको छ । बाइडेनको सञ्चार टोलीको नेतृत्व भने केट बेडिङफिल्डले गर्नुहुनेछ । उहाँले ह्वाइट हाउसको सञ्चार निर्देशकको रुपमा भूमिका निर्वाह गर्नुहुनेछ । बेडिङफिल्डले बाइडेन–ह्यारिस चुनाव प्रचार अभियानको उप–प्रचार व्यवस्थापकका रूपमा सेवा गर्नुभएको छ ।
उहाँहरु सबै योग्य, अनुभवी सञ्चार विज्ञ रहनु भएको बताउँदै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रतिबद्धतालाई कामबाटै प्रतिबिम्बित गर्न चाहेको बताउनुभयो । उहाँ पनि अमेरिकाको इतिहासमै पहिलो महिला उपराष्ट्रपतिको रूपमा निर्वाचित हुनुभएको हो ।
बाइडेन र ह्यारीको नयाँ टिमले आफ्नो कार्यकाल सुरु गर्नु अगाडि अहिले पुर्व तयारीका कार्यहरुलाई तिव्रता दिएको छ । यसअघि बाइडेनले अन्य पदहरूमा पनि धेरै व्यक्तिहरुलाई नियुक्त गरिसक्नुभएको छ । अमेरिकामा हरेक चार बर्षको नोभेम्बरमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन कार्यभार सम्हाल्ने व्यवस्था रहेको छ ।
राष्ट्रपति कार्यालय ह्वाईट हाउस प्रवेश गरेपछि पूर्ण क्षमताका साथ काम गर्नेगरी अहिले उहाँहरुले पुर्व तयारीलाई तिव्रता दिनुभएको हो ।