logo
२०८१ मंसिर ८ शनिवार



पाकिस्तानी प्रधानमन्त्री खानद्वारा कोरोना फैलिनुमा विपक्षीलाई दोषारोपण

अन्तर्राष्ट्रिय |


पाकिस्तानी प्रधानमन्त्री खानद्वारा कोरोना फैलिनुमा विपक्षीलाई दोषारोपण
तस्विर-द् प्रिन्ट


इस्लामावाद, मंसिर १५ गते ।
पाकिस्तानका कोरोनाभाइरसको दोस्रो चरणको महामारी फैलिनुमा प्रधानमन्त्री इमरान खानले प्रतिपक्षी दलहरुलाई दोषारोपण गर्नु भएको छ । सरकारी अधिकारीहरु कोरोनाविरुद्धमा लडिरहेका बेलामा विपक्षी दलहरु मुख्य समस्याका रूपमा देखा परेको उहाँको आरोप छ ।
विपक्षी दलहरुकै कारण कोरोनाविरुद्धको लडाई प्रभावकारी हुन नसकेको, उनीहरुले नै अवरोध गरेको आरोप प्रधानमन्त्री खानले लगाउनुभएको छ । विपक्षी दलहरूले विभिन्न ठाउँमा जुलुश निकाल्न स्वीकृति नदिनु भएका प्रधानमन्त्री खानले उनीहरुप्रति अहिले असन्तुष्टि पोख्नुभएको हो ।
कोरोनाभाइरसको महामारी फैलिएका बेला जुलुश निकालेको भन्दै सरकारले बल प्रयोग गरेपछि प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीचमा झडपसमेत भएको थियो । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उहाँले देशमा अहिले फेरी महामारी फैलिएका बेला उच्च सतर्कता अपनाउने र कोरोनाविरुद्ध लड्ने बेला भएपनि त्यसका विरुद्ध गतिविधि भइरहेको उल्लेख गर्नुभएको छ ।
पाकिस्तानमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । अहिलेसम्म पाकिस्तानमा कोरोना लागेपछि मृत्यु भएकाहरुको सङ्ख्या आठ हजारभन्दा बढी पुगेको छ । त्यसैगरी पाकिस्तानमा अहिलेसम्म तीन लाख ९८ हजार २४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
कोरोनाभाइरसको महामारीका बेलामा कुनै पनि सहरमा राजनीतिक दलहरुलाई सरकार विरोधी जुलुश निकाल्न दिन नसकिने पनि प्रधानमन्त्री खानले स्पष्ट पार्नु भएको छ । प्रधानमन्त्री खानले कोरोनाभाइरसको महामारी डरलाग्दो तरिकाले फैलिदै गएकोले विपक्षी दलहरुले आफ्ना भिडभाड हुने गतिविधिहरु तत्काल रोक्नुपर्ने अडान राख्नु भएको छ ।
पाकिस्तानका ११ पार्टीहरुको गठबन्धनको रुपमा रहेको पाकिस्तान लोकतान्त्रीक आन्दोलन (पिडीएम)ले गरेको प्रदर्शनको विपक्षमा प्रधानमन्त्री खान कठोर रुपमा उभिनु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?