गोरखापत्र अनलाइन
काठमाडौं, साउन १७ गते । तालिबानले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धारस्थित विमानस्थलमा रकेट आक्रमण गरेको छ । आइतबार सूर्योदय हुनुअघि कान्धार विमानस्थलमा तीन वटा रकेट प्रहार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आक्रमणपछि केही बेर विमान अवतरण र उडान भर्ने कार्य रोकिएको थियो ।
कान्धार विमानस्थलका प्रमुख मस्सौद पश्तुनले अलजजिरासँगको कुराकानीमा तीन वटा रकेट प्रहार गरिएकोमा दुई वटा रनवेलाई लक्षित गरी लागेको बताउनुभएको छ । काबुलस्थित नागरिक उड्डयनका एक अधिकारीले आक्रमणको पुष्टि गर्नुभयो । अधिकारीहरुले आक्रमणबाट कुनै प्रकारको क्षतिका विवरण आइनसकेको बताउनुभएको छ ।
तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले विमानस्थलबाट हामीलाई लक्षित गरी गतिबिधि सञ्चालन गरिएकोले तालिबानले विमानस्थललाई लक्षित गरी रकेट प्रहार गरेको जिम्मेवारीको दाबी गर्नुभएको छ ।