गोरखापत्र अनलाइन
काठमाडौं, साउन १७ गते । दक्षिण एशियाली राष्ट्र पाकिस्तानमा गएको चौबीस घण्टामा दैनिक थपिने सङ्क्रमित तीन महिना यताकै सबैभन्दा बढी पुष्टि भएको छ । गएको चौबीस घण्टामा पाँच हजार २६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । यो गत् अप्रिल २९ यताकै सबैभन्दा बढी हो । अप्रिल २९ मा पाँच हजार ११२ जना सङ्क्रमितको पुष्टि भएको थियो ।
पाकिस्तानको ‘नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर’का अनुसार थपिएका सङ्क्रमितसँगै कोरोनाका कुल सङ्क्रमित दश लाख ३४ हजार ८३७ पुगेको छ । गएको चौबीस घण्टामा ६२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट पाकिस्तानमा मृत्यु हुनेको संख्या २३ हजार ४२२ पुगेको छ ।
गएको चौबीस घण्टामा प्रति एक सय नमूना परीक्षण गर्दा ८.८ नमूना पोजेटिभ पाइएको छ । पाकिस्तानमा हालसम्म तीन करोड जनाले खोप लगाएका छन् । गएको चौबीस घण्टामा मात्रै नौ लाख ३४ हजार खोप लगाइएको छ । पाकिस्तान पहिलो एक करोड ब्यक्तिलाई खोप लगाउन ११३ दिन लागेको थियो । दोस्रो एक करोडले खोपको डोज पाउन २८ दिन लागेको छ । अन्तिम एक करोड ब्यक्तिसम्म पुग्न मात्र १६ दिनमा लागेको छ ।