logo
२०८० चैत्र १६ शुक्रवार



नियमित खोपमा कुनै समस्या छैन

मुख्य समाचार |
स्वास्थ्य |


नियमित खोपमा कुनै समस्या छैन



सरोज ढुङ्गेल

काठमाडौँ, पुस १८ गते । कोभिड–१९ का कारण नियमित तथा राष्ट्रिय खोप तालिकालाई असर नपरेको पाइएको छ । शिशु जन्मिनेबित्तिकै बीसीजी लगाइसकेपछि निश्चित हप्तापछि रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, एचआईबी, दादुरा, रुबेलालगायतका खोप लगाइन्छ ।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा दैनिक सरदर ८० शिशु जन्मिने गरेका छन् । तीमध्ये सरदर ६० जनाले नियमित खोप लगाउने गरेका छन् । अस्पतालका प्रवक्ता डा. कीर्तिपाल सुवेदीले बालबालिकालाई लगाउने गरिएका नियमित खोपमा कोरोना महामारीले कुनै प्रभाव नपरेको बताउँदै भन्नुभयो, “बीसीजी लगाइसकेपछि अन्य नियमित खोपका लागि कतिपय आमाले प्रसूति गृहमै ल्याउँछन् । कतिपयले नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यचौकीमा गएर नियमित खोप लगाउने गर्छन् । तर, नियमित खोपमा कुनै असर परेको छैन ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नियमित खोप देशभरि सहज रूपमा सञ्चालन भइरहेको बताउनुभयो । उहाँले कोरोनाविरुद्धको खोपले नियमित खोपलाई असर नगरेको भन्दै नियमित खोपका लागि प्रणाली स्थापित भइसकेकाले कुनै प्रभाव नपरेको उल्लेख गर्नुभयो ।

एक वर्षमा २२ हजारभन्दा बढी बच्चालाई जन्म दिने गरिएको प्रसूति गृहका निर्देशक डा. अमिरबाबु श्रेष्ठले प्रसूति गृहमा नियमित खोप व्यवस्थित भएकाले कुनै असर नपर्ने बताउनुभयो । “नियमित खोप लगाउने प्रणाली चुस्त र सहज छ,” उहाँले थप्नुभयो, “कोरोनाविरुद्धको खोप अलग पक्ष भएकाले नियमित खोपलाई कुनै असर पार्दैन ।”

बीसीजीबाहेक नियमित खोप छ हप्तादेखि नौ महिनासम्म लगाइसक्नुपर्छ । दादुरा खोप नौ महिनामा पहिलो पटक लगाइन्छ । कतिपय खोपको बुस्टर डोजसमेत लगाउनुपर्ने हुन्छ । त्यसबाहेक कुनै खोप तीन वा पाँच वर्षमा लगाउनुपर्ने हुन्छ ।
स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर दाहालले बन्दाबन्दीका बेला नियमित खोप सामान्य प्रभावित हुन पुगेको बताउँदै नियमित खोप कार्यक्रममा खासै समस्या नआएको बताउनुभयो । छ हप्तामा रोटा भाइरसबाट हुने झाडापखालादेखि बचाउन रोटा खोप लगाइन्छ । पीसीभी निमोनिया र न्युमोकोकल रोगबाट बचाउन लगाइन्छ ।

एचआईबी खोप भ्यागुते रोग र लहरेखोकीबाट बचाउन लगाइन्छ । यसैगरी १० हप्तामा रोटा, १४ हप्तामा पोलियोको तेस्रो मात्रा, नौ महिनामा पीसीभी तेस्रो मात्रा र एमआर खोप लगाइन्छ । बच्चा जन्मेको १२ महिनामा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप लगाइन्छ । यस्तै, १५ महिनामा एमआर दोस्रो मात्रा खोप दादुरा र रुबेलाबाट बचाउनका लागि लगाइन्छ ।

खोप शाखा प्रमुख दाहालका अनुसार यी नियमित खोपबाहेक भिटाभिन ‘ए’, जुकाको औषधि र हात्तीपाइलेविरुद्धको औषधि खानेलगायतका राष्ट्रिय कार्यक्रम पनि नियमित रूपमा सञ्चालन भइरहेका छन् । हाल देशभर १६ हजार खोप केन्द्रबाट नियमित खोप लगाउने गरिन्छ । बालबालिकाबाहेक गर्भवती आमालाई टिटानस खोप दुई पटक लगाउनुपर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?