logo
२०७९ जेष्ठ १२ बिहीवार



उपचारमा अब्बल न्युरोइन्टरभेन्सन

पढ्नै पर्ने |
शनिवार |


उपचारमा अब्बल न्युरोइन्टरभेन्सन


केही समयअघि पाल्पा रामपुरका गङ्गाधर पाठकको घरमा पूजा थियो । दिनभरि भोको बसेर पूजा सकिएपछि बेलुकी पाठकले खाना खानुभयो । खाना खानेबित्तिकै उहाँलाई बान्ता भयो । परिवारले ‘जचाउन जाऊँ’ भन्दा गङ्गाधरले ‘दिनभरिको भोकले गर्दा हो’ भन्दै टार्नुभयो । दुई दिनसम्म पनि बान्ता नरोकिएपछि उहाँलाई मेडिकल लगियो । मेडिकलले ‘यहाँ नराख्नु’ भनेर लुम्बिनी मेडिकल कलेज लैजान सुझाव दियो । लुम्बिनी मेडिकल कलेजमा दुई दिन औषधि खुवाएर राखियो । टाउको दुख्न भने कम भएन । एनजीओग्राफी गरियो । एनजीओग्राफी गरेपछि बल्ल थाहा भयो कि टाउकोमा एउटा नसा फुटेको रहेछ र अर्को फुट्ने अवस्थामा रहेछ । यो समस्यालाई चिकित्सकीय भाषामा ‘यनोरिजम’ अर्थात् मस्तिष्कघात भनिन्छ । पाठकमा यो समस्या देखिएपछि लुम्बिनी मेडिकल कलेजले पनि उहाँलाई तत्काल काठमाडौँ लैजानु भन्ने सल्लाह दियो । अनि उहाँलाई काठमाडौँ ल्याइयो ।

काठमाडौँमा न्युरो अस्पताल बाँसबारी लगियो । आकस्मिक कक्षमा डा.सुवास फुयालले उहाँको उपाचार सुरु गर्नुभयो । यस क्रममा इन्डोभास्कुलर कोइलिङ गरियो । न्युरोइन्टरभेन्सन प्रविधिद्वारा शल्यक्रिया गरियो । शल्यक्रिया डेढ घन्टामा नै सकियो । शल्यक्रियापछि उहाँ पहिलेकै अवस्थामा आउनुभयो । एकदिन आइसियुमा राखेर सामान्य बेडमा ल्याइयो । सामान्य बेडमा ल्याएको हप्तादिनपछि उहाँ घर फर्कनुभयो ।

मस्तिष्कमा रगत लिएर जाने नसा बन्द हुनुलाई मस्तिष्कघात (स्ट्रोक) भनिन्छ । मस्तिष्ककोे नसामा गुच्छा बन्नुलाई ‘एभिएम’ भनिन्छ । मस्तिष्ककोे नसा फुल्नुलाई ‘एन्युरिजम’ भनिन्छ र एन्युरिजम फुटेर हुने अवस्थालाई ‘ब्रेन हेमरेज’ भनिन्छ ।
मस्तिष्कमा भएका नसाका रोगहरूलाई नयाँ प्रविधिबाट गरिने शल्यक्रिया तथा उपचारलाई न्युरोइन्टरभेन्सन भनिन्छ । न्युरोइन्टरभेन्सनमा टाउको नखोलीकन शल्यक्रिया गरिन्छ । शल्यक्रिया गर्दा ठूलो घाउ बनाइँदैन । हात या खुट्टाको नसाबाट सानो (तीन एमएम) तार पठाएर शल्यक्रिया गरिन्छ । टाउको खोलेर मस्तिष्कघातको शल्यक्रिया गर्दा बिरामीमा धेरै जोखिम हुन्छ ।

न्युरोइन्टरभेन्सनमा स्ट्रोक भन्ने विषय जोडिएको हुन्छ । स्ट्रोक भनेको दिमागको मोटो वा पातलो नसा बन्द भएपछि बिरामीलाई अचानक आउने समस्या नै हो । स्ट्रोकमा दिमागको नसा एक्कासि बन्द हुन्छ । मस्तिष्कमा भएको नसा कुनै पनि कारणले बन्द हुनसक्छ । नसा बन्द भइसकेपछि बिरामीलाई प्यारालाइसिस हुन्छ । हात या खुट्टामा कमजोरी आउनु, एक्कासि आँखा धमिलो देख्नु, बोली लरबराउनु, मुख बाङ्गिनुजस्ता लक्षणलाई स्ट्रोकको लक्षण भनिन्छ । यसलाई सजिलै सम्झनका लागि ‘बि फास्ट’को सूत्र बनाइएको छ ।

के हो ‘बि फास्ट’ ?
मस्तिष्कघातमा ‘बि फास्ट’ अपनाएमा बिरामीलाई पहिलेको अवस्थामा ल्याउन सकिन्छ । ‘बि फास्ट’मा ‘बि’ भन्नाले ‘ब्यालेन्स’ अर्थात् सन्तुलन हो । ‘स्ट्रोक’ले व्यक्तिको सन्तुलन एक्कासि बिग्रन सक्छ । ‘इ’ भन्नाले आँखा हो । एउटा या दुवै आँखाले एक्कासि धमिलो देख्न सक्छ । ‘एफ’ भन्नाले ‘फेस’ अर्थात् अनुहार हो । मुख बाङ्गो हुँदा मस्तिष्कघात भएको बुझ्नुपर्छ । ‘ए’ भन्नाले ‘आर्म’ अर्थात् पाखुरा हो । हात या खुट्टामा पक्षघात हुने वा कमजोर हुन सक्छ । ‘एस’ भन्नाले ‘स्पिच’ अर्थात् बोली हो । बोली लरबराउन सक्छ ।
‘टि’ भन्नाले टाइम अर्थात् समय हो । यस समस्यामा समयको महत्त्व धेरै हुन्छ । ‘स्ट्रोक’ भएको बिरामीलाई दुख्दैन । त्यसैले मस्तिष्कघात जटिल रोग हो । मुटुको नसा बन्द भएर हृदयाघात हुँदा मानिसलाई पीडा हुन्छ । ऊ तुरुन्त अस्पताल जान्छ तर दिमागको नसा बन्द भएर मस्तिष्कघात हुँदा बिरामीलाई पीडा हुँदैन । त्यही भएर चाँडोभन्दा चाँडो बिरामीलाई अस्पताल लैजानु पर्छ ।

पहिले पहिले मस्तिष्कघात भएको छ घन्टाभित्र अस्पताल पु¥याउनु पथ्र्यो तर अहिले २४ घन्टाभित्र पु¥याउँदा पनि उपचार सम्भव हुन्छ । उदाहरणका लागि घरमा आगो लाग्यो भने आगो लाग्दा लाग्दै निभाइयो भने घर खरानी हुनबाट बचाउन सकिन्छ तर आगो लागेर घर खरानी भइसकेपछि आगो निभाउँदा केही काम लाग्दैन । त्यस्तै मस्तिष्कघात भन्नु पनि मस्तिष्कमा आगो लाग्नु हो । त्यसैले मस्तिष्कघात हुनेबित्तिकै छ वा २४ घन्टाभित्र अस्पताल लैजान सकियो भने मात्र बिरामीलाई पहिलेकै अवस्थामा ल्याउन सकिन्छ । मस्तिष्क पूर्ण रूपमा बिग्रिएपछि बिरामी अस्पताल पुगेमा केही पनि गर्न सकिँदैन ।

कस्ता व्यक्तिलाई ?
उमेर बढी भएको मानिसलाई मस्तिष्कघात हुने सम्भावना प्रबल रहन्छ । मधुमेह, उच्च रक्तचाप भएका व्यक्तिलाई पनि मस्तिष्कघात हुने सम्भावना हुन्छ । यस्तै धेरै चिनीको प्रयोग गर्ने बिरामी, चिल्लो धेरै खाने बिरामी, निरन्तर व्यायाम नगर्ने व्यक्ति, मोटोपन भएका, चुरोट, रक्सी निरन्तर खाइरहने व्यक्तिलाई पनि यसको सम्भावना हुन्छ । अन्य बिरामी जस्तै मुटुका रोगी पनि यसकोे जोखिममा पर्छन् । मुटुको कुनै पनि रोग या खराबी भएका व्यक्तिलाई पनि मस्तिष्कघात हुने सम्भावना रहन्छ । मस्तिष्कघात हुनबाट बच्न नियमित रूपमा व्यायाम गर्नुपर्छ । चिनी भएको खानेकुरा खानु हँुदैन । चिल्लो पनि नखाएकै राम्रो । नुनिलो खानेकुरा पनि धेरै खानु हुँदैन ।

कसरी गरिन्छ शल्यक्रिया
न्युरोइन्टरभेन्सन प्रविधिअनुसार उपचार गर्दा हात वा खुट्टाको नसाबाट सानो तार पठाइन्छ । तारलाई मस्तिष्कको नसा बन्द भएको ठाउँ वा नसा च्यातिएको ठाउँसम्म पु¥याइन्छ । नसा च्यातिएर फुटेको छ भने त्यसलाई भरेर टालिन्छ । यदि नसा बन्द भएको छ भने खुलाइन्छ । यो कार्यका लागि एउटा मेसिन आवश्यक पर्छ । हेर्नका लागि एक्सरे आवश्यक पर्छ । यसलाई क्याथल्याब भनिन्छ । बाइप्लेन क्याथल्याब नेपालमा न्युरो अस्पताल बाँसबारीमा मात्र छ । बाइप्लेन क्याथल्याबमा एकै पटक अगाडि, पछाडि या छेउछेउबाट पनि हेर्न सकिन्छ । यसले शल्यक्रिया गर्न सजिलो हुन्छ । सिङ्गल प्लेन क्याथल्याबको माध्यामबाट शल्यक्रिया गर्दा जटिलता धेरै हुन सक्छन् । बाइप्लेन क्याथल्याबमा बिरामीलाई छिटो शल्यक्रिया गर्न सकिन्छ । बिरामीलाई पनि सजिलो हुन्छ । यो प्रविधि टाउको खोलेर गरिने शल्यक्रियाभन्दा खर्चिलो चाहिँ छ ।

प्रविधि सहज, सामान महँगो
डा.फुयालका अनुसार न्युरोइन्टरभेन्सन उपचार प्रविधि महँगो हुनुको कारण शल्यक्रियामा प्रयोग हुने सामानहरू अत्यन्तै महँगो भएर हो । यो उपचारमा प्रयोग हुने सामान युरोप र अमेरिकामा बन्छन् । अमेरिका/युरोपमा बनेका समान नेपाल भित्रिँदा महँगो पर्नु स्वाभाविक हो । जस्तै– एउटा क्याथेटर र कोयलको एक लाख रुपियाँभन्दा बढी पर्छ । यो सामान एउटा व्यक्तिको उपचारमा अवस्था हेरीकन दुई/ तीनवटादेखि चार/पाँच या सातवटासम्म पनि प्रयोग हुने गर्छ । त्यसैले यो उपचार प्रविधि महँगो हुन गएको हो । पहिले पहिले मुटुको शल्यक्रिया पनि धेरै महँगो हुन्थ्यो । अहिले यो उपचारमा सरकारले सहुलियत दिएको छ । त्यसैले मुटुको उपचार सहज भएको हो । यस्तो काम गर्न सक्ने भनेको सरकारले मात्र हो । डाक्टरले र अस्पतालले सस्तोमा उपचार गर्छु भनेर गर्न सक्ने स्थिति हुँदैन । सरकारी अस्पतालमा यो प्रविधि भित्र्याएमा अझ सस्तो हुन जान्छ । नत्र सरकारले सहुलियत दिनुको विकल्प छैन ।

यस्ता प्रविधि भित्र्याउन सरकारी अस्पतालले पहल गर्नुपर्ने हो तर कुनै विधामा अध्ययन गरेर दक्ष बनेका चिकित्सकलाई त सरकारी अस्पतालले वास्ता नै गर्दैन । सरकारी अस्पतालमा पनि यस्ता सुविधा दिनसके धेरै राम्रो हुन्छ । न्युरोइन्टरभेन्सनको शल्यक्रियामा लाग्ने सामानमा सरकारले पहल गरेर उपचारलाई सहज बनाउन सकिन्छ । बिरामीका लागि यो प्रविधि धेरै राम्रो छ भने सरकारी अस्पतालमा किन सुरुवात नगर्ने ? सरकारले त न्युरोइन्टरभेन्सनमा लाग्ने सामानमा कर छुट पनि दिन सक्छ । यो प्रविधिलाई सस्तोमा नेपाल भित्र्याउन सक्यो भने बिरामीले एकदेखि दुई लाख रुपियाँसम्ममा यो उपचार पाउन सक्छन् । बिरामीले अहिले यो सेवा लिन पाँच लाखदेखि १२ लाख रुपियाँसम्म खर्च गर्नु परेको छ ।

पहुँच भएका वा धनीहरू विदेश गएर पनि उपचार गराउन सक्छन् । कोही विदेशमा उपचार गराउने पैसा भएर पनि विदेश किन जाने, नेपालमै उपचार गरौँ भन्ने हुन्छन् तर धनीलाई मात्र हेरेर हुँदैन । गरिब बिरामीलाई पनि हेर्नुपर्ने हुन्छ । त्यसैले सरकारले न्युरोइन्टरभेन्सनमा लाग्ने सामग्रीमा कर छुट दिन सके धेरै सस्तोमा यो उपचार गर्न सकिन्छ । यही उपचार भारतमा गराउँदा २० लाख रुपियाँ पर्छ तर महँगो भए पनि भारतमा गएर उपचार गर्ने पनि छन् ।

डा.सुवास फुयालका अनुसार तीन वर्षको अन्तरालमा सात सय बिरामीको उपचार न्युरोइन्टरभेन्सन प्रविधिबाट भइसकेको छ । यदि नेपालमा ‘न्युरोइन्टरभेन्सन’को उपचार तथा शल्यक्रिया सस्तो हुन्थ्यो भने दुई हजार बिरामीको उपचार गर्न सकिन्थ्यो । न्युरोइन्टरभेन्सन प्रविधिमा जोखिम कम हुन्छ । जटिलता पनि कम हुन्छ तर महँगो भयो भनेर यो प्रविधि नचाहने स्वयं चिकित्सकहरू पनि छन् । त्यसैले यसको सामान सस्तोमा ल्याइदिने व्यवस्था हुनुपर्छ । अनि मात्र बिरामीको उपचार सहज हुन्छ ।

सरकारले यो उपचारमा लाग्ने सामानमा कर छुट र सहुलियत दिनुपर्छ । यस उपचार प्रविधिमा जोखिम भनेको तीनदेखि पाँच प्रतिशतसम्म मात्र हुन्छ । शल्यक्रिया गर्ने बेलामा नसा बन्द हुने, दिमागमा रगत बग्ने समस्या हुन्छ । हालसम्म सात सयको उपचार गर्दा तीन जनालाई मात्र बचाउन नसकिएको पनि डा. फुयालले भन्नुभयो । यो प्रविधिबाट बाँसबारीस्थित न्युरो अस्पतालमा मात्र रहेको बाइप्लेन क्याथल्याबमा शल्यक्रिया गरिन्छ । 

 

डा.फुयाल पहिलो

डा. सुवास फुयाल नेपालमा एक मात्र ‘न्युरोइन्टरभेन्सन सर्जन’ हुनुहुन्छ । भारतको चण्डीगढबाट रेडियोलोजीमा एमडी गर्नुभएका डा. फुयालले भारतकै नयाँ दिल्लीस्थित अलइन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसबाट न्युरोइन्टरभेन्सनमा डिएम गर्नुभएको हो । यस उपचार पद्धतिबारे डा. फुयालले भन्नुभयो– “मस्तिष्कघात भएका बिरामीकोे मस्तिष्कको नसा परीक्षण गर्छौं । मस्तिष्कको नसा बन्द भएमा वा च्यातिएको रहेमा वा रगतले प्रेसर दिएर रगतको भित्ता तन्किदै गएर (एन्युरिजम) फुटेमा वा अन्य समस्या रहेमा हामी त्यसको उपचार गर्छौं । यो उपचार पहिले टाउको खोलेर गर्नुपथ्र्यो । अहिले टाउको नखोलीकन गर्न सकिन्छ । नेपालमा यस पद्धतिबाट मैले सात सय जनाभन्दा बढीको शल्यक्रिया गरिसकेँ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?