logo
२०८० चैत्र १५ बिहीवार



फेरि बढ्यो कोरोना मृत्युदर

स्वास्थ्य |
मुख्य समाचार |


फेरि बढ्यो कोरोना मृत्युदर



काठमाडौँ, माघ ९ गते । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो दिन तीन जना सङ्क्रमितको मृत्यु भएकोमा शनिबार १६ जनाको मृत्यु भएको छ । विज्ञहरूले कोरोना सङ्क्रमितको मृत्यु बढ्नुलाई ओमिक्रोन भेरियन्टको प्रभाव भन्न थालेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६५१ पुगेको छ ।

ओमिक्रोनको प्रभाव
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले हाल नेपालमा कोरोना भाइसरका ओमिक्रोन र डेल्टा दुवै प्रकारको सङ्क्रमण रहेको बताउनुभयो । उहाँले हालै पनि दैनिक तीन–चार जना सङ्क्रमितको मृत्यु भइरहेको जानकारी दिँदै शनिबार १६ जना पुग्नुलाई ओमिक्रोनको प्रभाव बढेको हुनसक्ने बताउनुभयो ।
डा. पुनले ओमिक्रोन प्रकार कडा नभए पनि वृद्ध र खोप नलगाएकालाई त्यसले असर गरिरहेको जानकारी दिँदै त्यो वर्गका व्यक्तिमा समस्या कडा हुनसक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो । ओमिक्रोनले डेल्टालाई प्रतिस्थापन गरिसकेको भन्दै उहाँले डेल्टा भाइरस ओमिक्रोनभन्दा घातक रहेको बताउनुभयो । ओमिक्रोन आइसकेपछिका मृतकको तथ्याङ्कअनुसार ३४ जनामध्ये ३० जना खोप नलगाएका रहेको बताइएको छ । डेल्टाले सङ्क्रमितको श्वासप्रश्वासमा समस्या ल्याउने, कडा खालको निमोनिया हुने भन्ने पुष्टि भइसकेको छ, डा. पुनले थप्नुभयो, “म फेरि पनि भन्छु खोपलाई नै ध्यान दिनुपर्छ ।
खोप नलगाएकाहरूलाई ओमिक्रोनले असर पु¥याउने उहाँको भनाइ छ । ओमिक्रोन पहिले रोकथामको चरणबाट अब उपचारात्मक चरणमा आइपुगेको उहाँको भनाइ छ ।

सक्रिय सङ्क्रमित ७२ हजार नाघे
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७२ हजार ८६२ पुगेको छ । यस्तै आईसीयूमा उपचार गराउनेको सङ्ख्या पनि बढ्न थालेको छ । शनिबार २१० जना आईसीयूमा र ३७ जना सङ्क्रमति भेन्टिलेटरमा उपचाररत छन् । अघिल्लो दिन सक्रिय सङ्क्रमितको सङ्ख्या ६५ हजार ३७४ रहेको थियो, जसमा आईसीयूमा १९४ र भेन्टिलेटरमा ३५ जना थिए ।
यसैबीच गत चौबीस घण्टामा देशभर १० हजार २५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही अवधिमा थप ७०८ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी २० हजार १८७ वटा नमुना परीक्षण गर्दा १० हजार २५४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

उपत्यकामा बढे सङ्क्रमित
काठमाडौँ उपत्यकामा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र पाँच हजार ३१५ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा तीन हजार ७६२, ललितपुरमा एक हजार ११० र भक्तपुरमा ४४३ गरी पाँच हजार ३१५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा शनिबार तीन हजार ७६२ सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ हजार १५९ पुगेको छ । काठमाडौँमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार ७६३ पुगेको छ । ललितपुर जिल्लामा सङ्क्रमितको सङ्ख्या ५९ हजार ६७१ पुगेको छ भने ५० हजार ७३८ जना निको भएका छन् । ललितपुरमा अहिले आठ हजार २२० जना सक्रिय सङ्क्रमित छन् ।
यस्तै भक्तपुर जिल्लामा ३४ हजार ८६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । २९ हजार ७८२ जना निको भएका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?