logo
२०७९ श्रावण २८ शनिवार



जय भीम न्यायको आवाज

शनिवार |


जय भीम न्यायको आवाज


सुकृत नेपाल

चलचित्र ‘जय भीम’ दक्षिण भारतमा बसोबास गर्ने एउटा जातिको कथा हो । चलचित्रको नाम सुन्दा जो कोहीलाई पनि लाग्नसक्छ, “यो एउटा एजेन्डाका लागि बनाइएको चलचित्र हो तर त्यही एजेन्डालाई पनि साँचो तरिकाले देखाइन्छ भने स्वागतयोग्य भन्नैपर्छ ।”
चलचित्रको सुरुवातमा प्रहरीले अपराधमा संलग्न व्यक्तिलाई जातका आधारमा विभाजन गरेको देखाइएको छ । माथिल्लो जातका मानिसले गरेको अपराधमा उन्मुक्ति दिने तर तल्लो जातका मानिसले अपराध नै नगरेको भए पनि सीधै जेल हालिदिने गरेको चलचित्रमा देखाइन्छ । जेलबाट कैदमुक्त भएका कैदीलाई प्रहरी अधिकारीले जात सोधेरै उच्च जात भएकालाई घर जान आदेश दिने र दलित तथा आदिवासी समुदायलाई जातकै आधारमा पुनः झुटो मुद्दा चलाएर जेल चलान गर्ने गरेको पनि देखाइएको छ । चलचित्रको दृश्यमा दलित समुदायका मानिसहरू अत्यन्तै डराएका छन् । यसले जातकै आधारमा मानिसले प्रहरीको दुव्र्यवहार कतिसम्म सहनुपर्छ । यो चलचित्रको सुरुवाती दृश्य भए पनि, यसमार्फत अरूले गरेका गलत कामका लागि दलित समुदायका मानिसले निरन्तर दुव्र्यवहार भोग्नुपरेको चलचित्रमा बारम्बार देखाइन्छ ।

गाउँको प्रधानपञ्चको घरमा भएको चोरी पत्ता लगाउन नसक्दा दबाबमा आएको प्रहरीले पक्राउ गरेको आरोपित र उनका परिवारका अन्य दुई सदस्यलाई चोरी गरेकै हो भन्न लगाउन उनीहरूमाथि गरिएको दमनको दृश्यले धेरैको मन रसाउँछ । टीजे ज्ञानवेलीले निर्देशन गर्नुभएको यस चलचित्रको मुख्य भूमिकामा तामिल अभिनेता सूर्या नायकका रूपमा हुनुहुन्छ । चलचित्रमा सूर्या एक वकिलको भूमिकामा देखिनुभएको छ, जसले गर्भवती महिलाको श्रीमान्को न्यायका लागि वकालत गर्नुहुन्छ । दलित परिवारका यी व्यक्तिलाई गाउँका प्रधानपञ्चको घरमा चोरी गरेको आरोपमा जेल चलान गरिएको हुन्छ । उनलाई जबरजस्ती चोरी गरेको हो भन्न पनि लगाइन्छ । ती दलितलाई न्याय दिलाउन के–कस्तो परिस्थितिबाट सूर्या गुज्रन्छ भन्ने कुरा चलचित्रको मुख्य विषयवस्तु हो ।

मुसा समात्ने एक जना आदिवासी राजाकनुलाई स्थानीय प्रधानपञ्च आफ्नो घरमा रहेको विषालु सर्प समाउन बोलाउँछन् । त्यही बीचमा उनको घरमा रहेको गहना चोरी हुन्छ । त्यो दोष राजाकनुलाई लगाइन्छ । उनले गर्दै नगरेको अपराध कबुल गराउन उनी र उनका दुई साथीलाई प्रहरीले चरम् यातना दिन्छ । त्यसकारण राजाकनुको प्रहरी हिरासतमै हत्या हुन्छ । राजाकनुको गर्भवती श्रीमतीले न्याय पाउनका लागि एक जना वकिलको मद्दत लिन्छिन् र अन्त्यमा उनले न्याय पाउँछिन् ।चलचित्रमा भारतको तामिलनाडुमा सन् १९९३ मा भएको घटनालाई देखाइएको छ । भारतको मद्रास उच्च अदालतका पूर्वन्यायाधीश के चन्द्रुको जीवनको महìवपूर्ण योगदान र उहाँलाई चिनाउनमा मद्दत पु¥याएको मुद्दामा आधारित रहेर निर्देशकले चलचित्रको कथावस्तुलाई पस्कनुभएको छ ।

चलचित्रको कथा धेरै नै भावुक छ । भारतमा कुल २० प्रतिशत दलित समुदाय छन् । उनीहरूलाई संरक्षण गर्ने कानुन पनि छ तर सधैँ उनीहरूले भेदभाव र हिंसाको सामना गरिरहनुपरेको छ । जस्तोसुकै कार्य होस्, उनीहरूलाई सधैँ तल्लो दर्जामा नै पारिएको छ । चलचित्रमा सन् १९९३/९४ मा प्रहरीले पिछडिएका जातिमाथि गरेको अत्याचारलाई देखाइएको छ ।
यस्तै चलचित्रको अर्कोे पक्ष भनेको कम्युनिस्ट झन्डा बोकेका आन्दोलनकारीहरूले पीडितको पक्षमा आन्दोलन गरेका छन् । ‘कमरेड’, ‘लालसलाम’ जस्ता शब्दहरू पटक–पटक चलचित्रमा बोलेको सुनिन्छ । चलचित्रका कलाकार चन्द्रु (सूर्या)को अफिसमा अम्बेडकर, कार्लमाक्र्स र दक्षिण भारतका प्रसिद्ध नास्तिक ‘पेरियार’को तस्बिर झुण्डिएको देखिन्छ । चलचित्रको एउटा दृश्यमा नायकले एउटा संवाद बोलेका छन्, “यहांँ गान्धी, नेहरूको चर्चा हुन्छ तर अम्बेडकरलाई किन भुलिन्छ ?” यसबाहेक अम्बेडकरको अथवा अम्बेडकरवादको चर्चा खासै हुँदैन ।भारतको संविधान निर्माता भीमराव रामजी आम्बेडकर आफँै दलित हुनुहुन्थ्यो । उहाँले दलित समुदायको हकहितलाई संविधानका प्रावधानमा लेखे पनि त्यो व्यवहारमा लागू भएको छैन । संविधानमा कुनै पनि व्यवस्थाको उल्लेख गर्न‘ र व्यवहारमा त्यो लागू हुनु दुई फरक विषय भएको चलचित्रमा देखाउन खोजिएको छ । चलचित्रमा मुख्य कलाकार सूर्याको अभिनयको जति तारिफ गरे पनि कम हुन्छ । उहाँको अभिनयले धेरैको मन जित्छ । यस्तै गर्भवती महिला सेनेगेनीको भूमिकामा देखिनुभएकी लिजोमोल जोशको अभिनय राष्ट्रिय फिल्म पुरस्कार नै पाउने खालको छ । उहाँमाथि जेलभित्र प्रहरीले गरेको अत्याचार र उहाँले पुलिसबाट खाएको पिटाइको दृश्यले त धेरै दर्शकको आखाँबाट आँसु झर्छ । यी दुवै कलाकारका साथै अन्य कलाकार मणिकनन्दन, राजिसा विजयवन, राव रमेश र प्रकाश राजले पनि तारिफयोग्य अभिनय गर्नुभएको छ ।

चलचित्रको स्क्रिनप्ले एकदमै राम्रो छ । चलचित्रको हरेक दृश्यपछि अर्को दृश्यलाई यसरी देखाइएको छ कि चलचित्र हेर्ने दर्शक कोही पनि कथाबाट अन्त भाग्दैनन् । यस्तै चलचित्रको निर्देशकीय पक्ष पनि धेरै राम्रो छ । निर्देशकले चलचित्रबारे नराम्रो भन्ने केही छाडेका छैनन् । कुनै पनि जाति सानो ठूलो हुँदैनन्, सबै समान हुन्छन् भन्ने कुरा चलचित्रले दर्शाउन खोजेको छ । चलचित्र भारतको राजनीतिक अवस्थाको एउटा टिप्पणी हो र सामाजिक विकृतिको ऐना । चलचित्रको कथा २०औँ शताब्दीको दशकको कथा हो ।

जब देशमा मण्डल आयोग लागू भएको थियो र तामिलनाडुको राजनीतिमा जयललिताको प्रभुत्व थियो तर चलचित्रमा त्यो अवधिको राजनीति देखाइएको छैन । केवल पीडित आदिवासीमाथि प्रहरीले गरेको अत्याचार र न्यायपालिकामाथि केन्द्रित छ । कसरी एउटी पीडित आदिवासी महिलाले आफ्नो श्रीमान्को हत्यामा न्याय पाउँछिन् र कतिञ्जेल यसरी तल्लो जातका मानिसले प्रहरीको अत्याचार सहनुपर्ने हो भन्ने प्रश्न यसले उब्जाइदिएको छ । दक्षिण भारतमा निर्मित चलचित्र ‘जय भीम’ अहिले विश्वमा सबैभन्दा बढी रेटिङ भएको चलचित्र बन्न सफल भएको छ । चलचित्रले ‘द शोशंक रिडेम्पसन’ र ‘द गडफादर’जस्ता ‘क्लासिकल’ चलचित्रलाई समेत उछिनेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?