logo
२०८० चैत्र १६ शुक्रवार



सत्र सय सुरक्षाकर्मी सङ्क्रमित

मुख्य समाचार |


सत्र सय सुरक्षाकर्मी सङ्क्रमित


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ९ गते । कोरोना भाइरस (कोभिड–१९) को चौतर्फी सङ्क्रमण बढेसँगै सुरक्षाकर्मीमा सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ ।
कोरोना सङ्क्रमणबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरतमध्ये एक हजार ७२१ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनको काममा सुरक्षाकर्मीहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खटिँदै आएका छन् ।

चारवटा सुरक्षा निकायमध्ये पहिलो पङ्क्तिमा खटिने नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मीमा सबैभन्दा बढी ९५५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्क्रमितमध्ये ६० जनालाई विभिन्न अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विष्णुकुमार केसीले कोरोना सङ्क्रमितको सङ्ख्या बढेको र सङ्क्रमितहरूमा जटिल स्वास्थ्य समस्या भने नदेखिएको जानकारी दिनुभयो ।

नेपाली सेनामा कार्यरतमध्ये ४१० जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये ४० जनाको अस्पतालमा उपचार भइरहेको छ भने अन्य सङ्क्रमितलाई आइसोलेसनमा राखिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले सङ्क्रमितमध्ये आठ जनालाई ‘हाई डिपेन्डेन्सी युनिट’ (आईसीयू)मा राखेर उपचार भइरहेको जानकारी दिनुभयो । सेनाले मातहतका सुरक्षाकर्मीलाई सरकारको निर्देशन र विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पूर्वसतर्कता र उपचार पद्धति अपनाएको जनाएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपालमा कार्यरत २७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले सङ्क्रमितलाई विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा राखेर उपचार भइरहेको जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठले सङ्क्रमितमध्ये अहिलेसम्म कसैलाई पनि जटिल स्वास्थ्य समस्या भने नदेखिएको जानकारी दिनुभयो ।
राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभागले सङ्क्रमितहरूलाई चिकित्सकको निगरानीमा उपचार भइरहेको जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?