गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार गर्ने र गराउने दुवै राष्ट्रका शत्रु भएको बताउनुभएको छ । उहाँले नैतिकवान, मर्यादित र सभ्य समाजका लागि भ्रष्टाचार निर्मूल पार्नुपर्नेमा जोड दिनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले भ्रष्टाचारको बहुआयामिक दुष्चक्र नियन्त्रण नगरिँदा सार्वजनिक सेवा प्रवाह दुरुह बन्दै समुन्नतिको बाटोसमेत रोकिँदै जाने बताउनुभयो ।
उहाँले राज्यबाट प्रदान गरिने सेवा, सुविधा र अवसरहरू जनताले सरल र सहज रूपमा प्राप्त गर्न तथा सरकारी एवं सार्वजनिक सम्पत्तिको संरक्षण र सदुपयोग गर्नमा आयोगको भूमिका अझ सशक्त हुने बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचारमा देखिएका विभिन्न पात्र र प्रवृत्तिलाई पूर्णरूपमा निरुत्साहित नगरेसम्म राज्यले अपेक्षा गरेको सुशासन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय साझा आकाङ्क्षा प्राप्त गर्न कठिन हुन्छ ।”
उहाँले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन र विधिको शासन कायम गर्न सबै क्षेत्रको सहकार्य र सहयोग जरुरी रहनेसमेत बताउनुभयो । उहाँले भ्रष्टाचारको स्वरूप र शैलीमा परिवर्तन हुँदै गइरहेकाले भौतिक स्रोत, साधन र सवल जनशक्तिद्वारा अगाडि बढ्न आयोग अग्रसर हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले आयोगको स्मारिका–२०७६ को लोकार्पण तथा आयोगका कर्मचारीहरूलाई ‘उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ र ‘उत्कृष्ट अख्तियार सेवा पुरस्कार’ प्रदान गर्नुभएको थियो ।
भ्रष्टाचार अन्त्य गर्ने प्रण गरौँ : प्रम
सोही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई पक्षधरता होइन, निष्पक्षताको विषय बनाउनुपर्ने बताउनुभयो । उहाँले लोकतान्त्रिक व्यवस्थामा संवैधानिक निकाय र अङ्गले निष्पक्ष एवं स्वतन्त्रतापूर्वक कार्य सम्पादन गर्ने विश्वास व्यक्त सरकारले अख्तियार आयोगलाई प्रभावित पार्ने मनसायसमेत नराख्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सरकार त्यस्ता कुरामा सरिक हुँदैन । कर्तव्य पालनामा निर्वाध सहयोग रहन्छ ।”
उहाँले विकासको आकाङ्क्षा र स्वच्छ समाजका लागि महारोगका रूपमा रहेको भ्रष्टाचार नियन्त्रणमा सबैभन्दा पहिला आफँै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म प्रतिबद्ध छु, भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ । राजनीतिज्ञ, कर्मचारी, उद्यमी, व्यवसायी सबैमा आग्रह गर्दछु, सबैखालका भ्रष्टाचार अन्त्य गर्ने प्रण गरौँ ।”
उहाँले भ्रष्टाचारमुक्त, स्वच्छ, पारदर्शी समाज हामी सबैको चाहना भएको बताउनुभयो । उहाँले अख्तियारद्वारा आयोजित वक्तृत्वकला तथा कविता प्रतियोगितामा विजयीहरूलाई पुरस्कार वितरण गर्नुभयो । कविता प्रतियोगितामा हेटौँडाका पुजन ढुङ्गाना र वक्तृत्वकलामा गुल्मीका विक्रम पन्थी विजयी हुनुभएको थियो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले कसैप्रति आग्रह पूर्वाग्रह नराखी भ्रष्टाचार छानबिन गरिरहेको बताउनुभयो । उहाँले गत वर्ष अख्तियारमा ३० हजार उजुरी परेको, ३५१ मुद्दा दर्ता गरिएको र १४१ स्टिङ अप्रेसन गरिएको जानकारी दिनुभयो ।
यस्तै आयोगका आयुक्त डा. सावित्री थापा गुरुङले भ्रष्टाचारविरुद्धको कारबाही थप सशक्त र प्रभावकारी बनाउन रणनीतिक योजना सार्वजनिक गरिएको बत(ाउनुभयो । सो अवसरमा आयोगका दुई जना कर्मचारीलाई उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार र १३ जना कर्मचारीलाई उत्कृष्ट अख्तियार सेवा पुरस्कार प्रदान गरिएको थियो ।
सो पुरस्कार प्राप्त गर्नुहुनेहरूमा दीपकप्रसाद खतिवडा, भीष्म हुमागाईं, प्रदीपकुमार कोइराला, शेरजङ कार्की, अरुणकुमार बीसी, मदन कोइराला, रमेश ढकाल, गोकुल बाँस्तोला, सुशीला अधिकारी, गणेश गैरे, सुशील श्रेष्ठ, दीपक श्रेष्ठ, मधुकुमार थापा, प्रवीण पोखरेल र सञ्जिवबाबु खड्का हुनुहुन्छ ।