logo
२०८१ बैशाख ८ शनिवार



माथिल्लो तामाकोसी भदौ अन्तिमदेखि पूर्ण क्षमतामा

अर्थ |


माथिल्लो तामाकोसी भदौ अन्तिमदेखि पूर्ण क्षमतामा


गोपालचन्द्र सुवेदी

काठमाडौँ, साउन ५ गते । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट भदौ अन्तिमसम्ममा पूूर्ण क्षमतामा विद्युत् उत्पादन थाल्ने कार्यसूची तय गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो युनिटबाट ७६ मेगावाटको परीक्षण उत्पादन सुरु गर्ने क्रममा गत असार २२ गते आयोजनाको उद्घाटन गर्नुभएको थियो ।
माथिल्लो तामाकोसी जलविद्युत् लिमिटेडका अध्यक्ष विज्ञान श्रेष्ठका अनुसार साउनभित्रै ३०४ मेगावाट विद्युत् उत्पादन थालिनेछ । विद्युत् उत्पादनका लागि विद्युत् गृहमा जडित छमध्ये चारवटा युनिट साउनभित्रै सञ्चालन गरिने आयोजनाले जनाएको छ । आयोजनाबाट हाल परीक्षणका रूपमा पहिलो र दोस्रो युनिटबाट विद्युत् उत्पादन थालिएको छ ।
आइतबार साँझबाट दोस्रो युनिट सञ्चालनमा ल्याइएको हो । “हामीले दोस्रो युनिट पनि चलाउन थालेको छौँ,” श्रेष्ठले भन्नुुभयो, “परीक्षण उत्पादनका क्रममा कुनै युनिट केही समय बन्द हुन सक्छन् तर अब व्यावसायिक उत्पादनको मिति पनि तोकेका छौँ । भदौ अन्तिमदेखि पूूर्ण क्षमतामा उत्पादन थाल्नेछौँ ।”
आयोजनाको विद्युत् गृहमा ७६ मेगावाटका छवटा युनिट जोडिएका छन् । तीमध्ये चारवटाको अझै परीक्षण उत्पादन गर्न बाँकी छ । परीक्षणका लागि प्राविधिकहरूले काम गरिरहेको र क्रमिक रूपमा टर्वाइनहरू परीक्षण गर्दै जाने उहाँले बताउनुभयो । श्रेष्ठका अनुसार सबै परीक्षण सकेर व्यावसायिक उत्पादनमा जाने मिति पनि तय भएको छ ।
पहिलो चार युनिटबाट ३०४ मेगावाट विद्युत्को व्यावसायिक उत्पादन हुनेछ भने बाँकी दुईसमेत गरी सबै युनिटबाट व्यावसायिक उत्पादन गर्न अर्को एक महिना लाग्नेछ । यसअनुसार माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट असोजको मध्यदेखि पूर्ण क्षमतामा व्यावसायिक विद्युत् उत्पादन थालनी हुनेछ । सामान्यतः टर्वाइनबाट १५ दिन परीक्षण उत्पादन गर्ने र त्यसपछि व्यावसायिक उत्पादन गर्ने गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?