काठमाडौं, कात्तिक १५ गते । गृहमन्त्री बालकृष्ण खाँणले सरकार धार्मिक र सामाजिक सदभावको पक्षमा रहेको बताउनुभएको छ । विश्व ॐकार महासङ्घको आज ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएको उहाँले सरकार सामाजिक विभेद नहोस् भन्ने पक्षमा रहेको बताउनुभएको हो ।
“हामी धार्मिक र सामाजिक सद्भावको पक्षमा छौँ, सरकार कतै पनि सामाजिक विभेद नहोस् भन्ने पक्षमा छ”, गृहमन्त्री खाँणले भन्नुभयो । सबैले समान रूपमा आफ्नो धर्म मान्न पाउनुपर्नेमा जोड दिँदै उहाँले वर्गीय र जातीय रूपमा विभेद् भए सामाजिक सदभाव खल्बलिने बताउनुभयोे ।
महासङ्घका तर्फबाट अध्यक्ष प्रेमलाल महर्जन, पण्डित दिनबन्धु पोखरेललगायतले आज गृहमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाउनुभएको थियो । चितवनको भरतपुर महानगरपालिका– ४ मा ५८ वर्षीय भीमबहादुर विश्वकर्माको कुटपिटबाट मृत्यु भएको विषयमा केही व्यक्तिले दुर्गा मन्दिरलाई जोडेर जातीय विभेद् र छुवाछुतको कारणले हत्या भएको भन्ने गलत र भ्रामक कुरा बाहिर ल्याएर जातीय द्वन्द्व मच्चाउन लागेको भन्ने आरोप लगाएकाले महासङ्घको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा महासङ्घको सक्रियता तथा नवदुर्गा मन्दिर व्यवस्थापन समितिको संयोजनमा कात्तिक ११ गते सर्वजातीय पूजा आयोजना गरी दलित तथा गैरदलितको उल्लेख्य सहभागिता गराएर सामाजिक सन्देश दिन सफल भएको पनि उल्लेख गरिएको छ ।