गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २५ गते । नेपाली काँग्रेसले सबै जिल्लामा क्रियाशील सदस्यताको विवाद किनारा लगाएको छ । बुधबार रौतहटको विवाद समाधान गरी क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएपछि ७७ वटै जिल्लाको विवाद मिलेको हो । केन्द्रीय महाधिवेशन आउन चार साता बाँकी रहँदा काँग्रेसले क्रियाशीलको विवाद मिलाएको हो ।
काँग्रेसको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवले क्रियाशीलको विवाद मिलेसँगै महाधिवेशन हुन बाँकी रहेका सबै जिल्लामा पार्टीको तर्फबाट प्रतिनिधि खटाइएको जानकारी दिनुभयो । अब महाधिवेशन निर्धारित समयमा हुने र त्यसमा कुनै समस्या नहुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।