मित्र भण्डारी
काठमाडौँ, मङ्सिर ५ गते । सङ्घीय संसद्मा रहेका अधिकांश दल यतिबेला आ–आफ्नो राष्ट्रिय महाधिवेशनमा सक्रिय भएका छन् । महाधिवेशनमा खर्च जुटाउन दलहरूले विभिन्न उपाय अवलम्बन गरेका छन् ।
दलहरूको आर्थिक खर्च व्यवस्थापन पारदर्शी नहुने गरेको तथा भड्किलोे कार्यक्रम हुने गरेकोजस्ता चर्चासमेत हुने गरेका छन् । तर, नेताहरूले निर्वाचन खर्चलाई मितव्ययी र पारदर्शी बनाउने दाबी गरेका छन् ।
सत्तारूढ नेपाली काँंग्रेस, नेकपा (माओवादी केन्द्र) देखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतका दल यतिबेला महाधिवेशनमा व्यस्त छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण दलहरूले निर्धारित समयमा अधिवेशन गर्न सकेका थिएनन् । यतिबेला दलहरूको अधिवेशनको चहलपहलसमेत बढेको हो ।
काँग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्न हाल सातै प्रदेश अधिवेशन जारी छ । अधिकांश क्षेत्रको मत परिणाम पनि सार्वजनिक भइसकेको छ । कुल चार हजार पाँच सयको हाराहारीमा महाधिवेशन प्रतिनिधिले काँग्रेसको भावी नेतृत्व चयन गर्नेछन् ।
अनुमानित रकम तय हुँदै
काँग्रेसले महाधिवेशनका लागि आर्थिक समिति संयोजकमा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी दिएको छ । उहाँ सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पनि हुनुहुन्छ । आर्थिक समितिले पूर्णता पाएसँगै १४औँ महाधिवेशनको व्यवस्थापन पक्षलगायत आय तथा खर्च विवरणको अनुमानित रकम तय हुने जानकारी उहाँले दिनुभयो ।
काँग्रेसले महाधिवेशनका लागि आवश्यक आर्थिक स्रोतका रूपमा पार्टीका झन्डै नौ लाख क्रियाशील सदस्य तथा महाधिवेशन प्रतिनिधिबाट सङ्कलन गर्दै आएको छ । अपुग रकम आन्तरिक स्रोतबाट सङ्कलन गर्ने जनाइएको छ । पार्टीका सचिव केशव रिजालले महाधिवेशनका लागि आवश्यक पर्ने भोजन, आवास, सजावट, होटल खाना, स्टेसनरी सामानलगायतको लागत अनुुमान गर्ने कार्य भइरहेको बताउनुुभयो ।
साढे सात करोड लाग्ने
प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को १०औँ महाधिवेशन मङ्सिर १० देखि १२ सम्म चितवनको सौराहामा हुँदै छ । पार्टीका विशेष आमन्त्रितबाहेक पाँच लाख कार्यकर्ता सहभागी हुने दाबी गरिएको छ । महाधिवेशन आर्थिक व्यवस्थापन समितिका संयोजक विष्णु रिमालका अनुसार, महाधिवेशनमा करिब साढे सात करोड रुपियाँ खर्च लाग्ने अनुमान छ ।
महाधिवेशन खर्च पार्टी र शुभेच्छुकबाट स्वेच्छिक सहयोग लिनेबाहेक चन्दा नउठाउने जनाइएको छ । एमालेमा साढे आठ लाख सङ्गठित सदस्य छन् । उनीहरूबाट कम्तीमा एक सय रुपियाँका दरले उठाउँदासमेत पार्टीको महाधिवेशन खर्च जुट्ने भनाइ नेताहरूको छ ।
लागत अनुमान बाँकी
सत्तारूढ नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म काठमाडौँमा हुने तय भएको छ । सम्मेलनको आर्थिकलगायतको व्यवस्थापनबारे स्थायी समितिको बैठकले तय गर्ने नेता गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । माओवादीको वडाधिवेशन शनिबारबाट सुुरु भइसकेको छ । सम्मेलनमा झन्डै एक हजार छ सयको हाराहारीमा प्रतिनिधि सहभागी हुनेछन् ।
राप्रपालाई दुई करोड
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि यही मङ्सिर १५ देखि १७ सम्म काठमाडौँमा महाधिवेशन गर्दै छ । पाँचौँ पटकसम्म कार्यतालिका परिवर्तन भएको राप्रपाको महाधिवेशनलाई एकता महाधिवेशन भनिएको छ ।
पशुपतिशमशेरले नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा लोकतान्त्रिक पार्टीको एकीकरणपछि हुन लागेको यो महाधिवेशनमा झन्डै चार हजार चार सय महाधिवेशन प्रतिनिधि सहभागी हुने महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले बताउनुुभयो । महाधिवेशनका लागि झन्डै दुई करोड रुपियाँ खर्च हुने अनुमान छ ।