अशोक अधिकारी
काठमाडौँ, मङ्सिर २० गते । नेपाली काँग्रेसको प्रदेश अधिवेशनअन्तर्गत चारवटा प्रदेशमा सम्पन्न मतदानको परिणाम सार्वजनिक भएको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा काँग्रेसले पहिलो पटक नेतृत्व पाएको हो ।
प्रदेश १ र लुम्बिनी प्रदेशमा भने मतगणना जारी छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार ती दुईवटा प्रदेशको मतदानको अन्तिम नतिजा सोमबार घोषणा गरिनेछ । प्रदेश २ को अधिवेशन उद्घाटन भए पनि निर्वाचन कार्यक्रम प्रभावित भएको छ । काँग्रेस प्रदेश १ का निर्वाचन संयोजक भरतबहादुर थापाका अनुसार काँग्रेसको प्रदेश सभापतिमा केन्द्रीय सदस्य गुरुराज घिमिरे र झापाका पूर्वजिल्ला सभापति उद्धव थापाले छुट्टाछुट्टै समूह बनाएर उम्मेदवारी दिनुभएको थियो ।
बागमती प्रदेशमा सभापति पदमा पुनः मतदान भएको हो । पहिलो चरणमा सभापति पदका तीन उम्मेदवार जगदीश्वरनरसिंह केसी, इन्द्र बानियाँ र भीमसेनदास प्रधानमध्ये कसैको पनि ५१ प्रतिशत नपुगेपछि पुनः मतदान भएको हो । दोस्रो चरणमा केसी र बानियाँबीच सभापति पदमा प्रतिस्पर्धा भएको हो ।
लुम्बिनी प्रदेश निर्वाचन समिति संयोजक डा. बुद्धबहादुर थापाका अनुसार काँग्रेस प्रदेश कार्यसमिति चयन गर्नका लागि भएको मतदानको अन्तिम परिणाम सोमबार आउने छ । लुम्बिनी प्रदेश सभापति पदमा भरतकुमार शाह र अमरसिंह पुनमगरले प्यानलसहित उम्मेदवारी दिनुभएको छ ।
बागमतीमा बानियाँ
नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी हुनुभएको छ । नवनिर्वाचित प्रदेश सभापति बानियाँले एक हजार ५८ मत प्राप्त गर्नुभएको छ । प्रदेश निर्वाचन समितिका अनुसार सभापति पदका प्रतिस्पर्धी जगदीश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गर्नुभएको छ ।
गण्डकीमा शर्मा
पोखराबाट होमराज रानाभाटले पठाएको समाचार अनुसार काँग्रेस गण्डकी प्रदेशको अधिवेशनले ६८ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । आइतबार घोषणा गरिएको मतपरिणाम अनुसार कास्की काँग्रेसका पूूर्वसभापति शुुक्रराज शर्मा गण्डकी प्रदेश सभापतिमा निर्वाचित हुनुभएको छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्यानल बनाएर चुुनावी प्रतिस्पर्धा गरेका थिए । प्रदेश कार्यसमितिमा एक पदाधिकारीका सभापति देउवा समूहबाट र छ पदमा वरिष्ठ नेता पौडेल पक्षले विजयी हासिल गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
प्रदेश सभापतिमा निर्वाचित शर्माले ६१२ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी अर्जुुनप्रसाद जोशीले ५३८ मत प्राप्त गर्नुुभएको निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाले बताउनुभयो ।
उपसभापतिमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ र कल्पना तिवारी निर्वाचित हुुनुुभएको छ । प्रदेश महामन्त्रीमा किरणबाबुु श्रेष्ठ र विष्णुु लामिछाने विजयी हुुनुुभएको छ ।
सहमहामन्त्रीमा कोपिला रानाभाट, रमेशकुुमार पाण्डे र रामचन्द्र जोशी निर्वाचित हुुनुुभएको छ । नवनिर्वाचित सभापति शर्मा पूर्वसांसद् हुनुहुन्छ । ७५ वर्षीय शर्मा २०४६ मा कास्की सभापति हुनुभएको थियो ।
कर्णालीमा शाही
सुर्खेत समाचारदाता ललित बसेलका अनुसार नेपाली काँग्रेस कर्णाली प्रदेश सभापति पदमा ललितजङ शाही निर्वाचित हुनुभएको छ । काँग्रेसका युवा नेता भूपेन्द्रजङ शाहीलाई पराजित गर्दै सभापतिमा शाही निर्वाचित हुनुभएको हो । उपसभापतिमा कालीबहादुर सहकारी र सनतकुमार कार्की, महामन्त्रीमा निरञ्जनकुमार केसी र कृष्णकुमार रोकाय विजयी हुनुभएको छ ।
सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछायाँकुमारी शाही विजयी हुनुभएको छ । २०१२ कात्तिक १५ गते जन्मनुभएका प्रदेश सभापति शाही प्रतिबन्धित कालमा काँग्रेसको जिल्ला सहसचिव हुनुभएको थियो । २०४९ देखि ५३ सालसम्म उहाँ जुम्ला काँग्रेसको कार्यवाहक सभापति हुनुभएको थियो । २०७० सालमा उहाँ संविधानसभा सदस्यमा निर्वाचित हुनुभयो । स्वअध्ययन गर्नुभएका शाहीलाई जुम्लाका मिलनसार र सबैलाई सहयोग गर्ने नेताका रूपमा परिचित हुनुहुन्छ । नवनिर्वाचित प्रदेश सभापति शाहीले पार्टीलाई सङ्गठित र थप क्रियाशील बनाउने आफ्नो मूल उद्देश्य रहेको बताउनुभयो ।
सुदूरपश्चिममा बलायर
धनगढीबाट अविनाश चौधरी र कृतबहादुर विष्टका अनुसार काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति पदमा वीरबहादुर बलायर निर्वाचित हुनुभएको छ । प्रदेश सभापति बलायर काँग्रेस केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारीमा रहिसक्नुभएको छ । उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह मनु र मेघराज खड्का विजयी हुनुभएको छ । सहमहामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिकाकुमारी चलाउने विजयी हुनुभएको छ ।