logo
२०८१ बैशाख ८ शनिवार



माओवादी प्रदेश सम्मेलन एकैसाथ

राष्ट्रिय |


माओवादी प्रदेश सम्मेलन एकैसाथ


लक्ष्मण दर्नाल

काठमाडौँ, मङ्सिर २३ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को १० वटा प्रदेश सम्मेलन एकैसाथ उद्घाटन हुने भएको छ । यही मङ्सिर २५ गते हुने सम्मेलनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले काठमाडौँबाट प्रदेश सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । माओवादी केन्द्रको सङ्गठन संरचनामा सात भूगोल र तीन गैरभूगोल प्रदेश छन् । गैरभूगोलमा सम्पर्क समन्वय प्रदेश, प्रवास प्रदेश र उपत्यका विशेष प्रदेश छन् ।

एउटा प्रदेशको सम्मेलनमा न्यूनतम छ सय प्रतिनिधि सहभागी हुँदै छन् । सङ्ख्याका आधारमा प्रदेश पार्टीले थप व्यवस्थापन गर्न सक्ने व्यवस्था मिलाइएको छ । माओवादीले पालिकास्तरीय सम्मेलन सम्पन्न गरिसकेको छ ।
कार्यालय सचिव ढकालका अनुसार ९६ प्रतिशतभन्दा बढी पालिकाका सम्मेलन सम्पन्न भइसकेका छन् । उहाँले भन्नुभयो, “केही पालिकामा सम्मेलन गर्न बाँकी छ । चार प्रतिशत पालिकामा विभिन्न प्राविधिक कारणले सम्मेलन हुन सकेको छैन । केन्द्रीय सम्मेलनअगावै त्यहाँ सम्पन्न हुनेछ ।”

कुल ८० वटासम्म पालिका भएका प्रदेशमा १७५ सदस्यीय कार्यसमिति निर्वाचित हुने व्यवस्था छ । त्यस्तै ८० भन्दा बढी पालिका र निर्वाचन क्षेत्र भएका प्रदेशमा कार्यसमितिको सङ्ख्या बढ्नेछ । प्रदेश सम्मेलनको तयारी अन्तिम चरणमा रहेको पार्टी कार्यालयले जनाएको छ ।

पालिकास्तरीय सम्मेलनबाट चुनिएका प्रतिनिधि प्रदेश सम्मेलनमा सहभागी हुनेछन् । प्रदेश सम्मेलनले प्रदेश कार्यसमिति र केन्द्रीय प्रतिनिधि निर्वाचित गर्नेछ । प्रदेश सम्मेलनबाट निर्वाचित प्रतिनिधि आगामी पुस ११ देखि १३ सम्म काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?