logo
२०८० चैत्र १६ शुक्रवार

   माओवादीको प्रदेश सम्मेलन   



पुस ३ भित्र पदाधिकारी चयन गर्न निर्देशन

राष्ट्रिय |


पुस ३ भित्र पदाधिकारी चयन गर्न निर्देशन


लक्ष्मण दर्नाल

काठमाडौँ, पुस १ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी पुस ३ गतेभित्र पदाधिकारी चयन गरिसक्न प्रदेश समितिलाई निर्देशन दिएको छ । मङ्सिर २५ गते उद्घाटन गरिएको १० प्रदेशका सम्मेलनले कार्यसमिति निर्वाचित गरेपनि केही प्रदेशले पदाधिकारी निर्वाचित गर्न नसकेपछि यस्तो निर्देशन दिइएको हो ।

माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको छ । त्यसअघि नै प्रदेशका पदाधिकारी टुङ्गो लगाउन निर्देशन दिइएको छ । स्थायी समिति सदस्य हरिबोल गजुरेलले भन्नुभयो,“प्रदेश २ ले समय मागेका कारणले पनि ढिलाइ हुन पुगेको हो । पुस ३ गतेसम्म सम्पन्न हुनेछ । ”

माओवादी केन्द्रका सात भौगोलिक र दुई गैरभौगोलिक प्रदेश समिति गरीनौमध्ये छवटामा अध्यक्षसहित पदाधिकारीमा विवाद हुँदा टुङ्गो लागेको छैन । माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका सदस्य विष्णुपुकार श्रेष्ठका अनुसार प्रदेश १, बागमती, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा प्रदेश कार्यसमिति मात्र निर्वाचित भएको छ । पदाधिकारी चयन भएको छैन । प्रदेश२ मा सम्मेलन उद्घाटन भए पनि बन्दसत्र सुरु नै भएको छैन ।

गण्डकी, कर्णाली र सम्पर्क समन्वय विषेश प्रदेश समितिले प्रदेशमा अध्यक्ष टुङ्गो लागेको छ । अन्य पदाधिकारी टुङ्गिएको छैन । गण्डकीमा गायत्री गुरुङ, कर्णालीमाविमला केसी र सम्पर्क समन्वयमा श्रीकृष्ण अधिकारी अध्यक्ष चुनिएका छन् । अन्य पदाधिकारी चयन बाँकी नै छ । उपत्यका विशेष प्रदेश समितिले मात्रै अध्यक्ष जगत सिम्खडासहित पदाधिकारी र कार्यसमिति चयन गरेको छ ।

प्रदेश–१ को अध्यक्षमा सुरेशकुमार राई, हेमराज भण्डारी, सुदन किराती र इन्द्र आङ्बोहाङले दाबी गरेपछि सर्वसम्मत हुन सकेको छैन । बागमती प्रदेशमा अध्यक्षका लागि प्रदेश समितिमा रहेका सरल सहयात्री पौडेल, दीनानाथ गौतम र डीपी ढकाल, विदुर खड्काले दाबी गर्नुभएको छ । अध्यक्षमा सर्वसम्मत नभएमा निर्वाचित प्रदेश समितिबाट मतदान गरेर टुङ्गो लगाउनुपर्ने व्यवस्था छ । लुम्बिनीमा अध्यक्षका लागि केन्द्रीय सदस्य हेमराज शर्मा ‘डाइमन’ र दीपेन्द्र पुन‘सिजल’ले दाबी गर्नुभएको छ।सुदूरपश्चिम प्रदेश अध्यक्षमा हरिराम चौधरी र नरेन्द्र कुँवरको दाबी रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?