logo
२०८० चैत्र १५ बिहीवार



आउन थाल्यो तरूल

अर्थ |


आउन थाल्यो तरूल


सीता शर्मा

काठमाडौँ, पुस २७ गते । माघे सङ्क्रान्ति आउन तीन दिन बाँकी रहँदा उपत्यकाका बजारमा धमाधम तरुल भित्रिन थालेको छ । तरुल किन्नेको भीड पनि बढ्न थालेको छ । पुस महिना सुरु भएदेखि कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुल भित्रिन थालेको हो । माघे सङ्क्रान्तिलाई लक्षित गरेर व्यापारीले उपत्यकाका बजारमा देशका विभिन्न ठाउँबाट बजारमा तरुल भित्र्याइरहेका हुन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार यो साताको दुई दिनमा मात्रै कालीमाटी बजारमा तीन लाख ४५ हजार ३८० केजी तरुल भित्रिएको छ भने पुस महिनाको २५ गतेसम्म छ लाख ६९ हजार ९७८ केजी तरुल भित्रिएको थियो । गत वर्षको पुसमा यस बजारमा १० लाख ५६ हजार ९७० केजी तरुल भित्रिएको थियो ।

कालीमाटी समितिका सूचना अधिकारी विनय श्रेष्ठले तरुल भित्रिने यही साता भएको र अहिलेसम्मको अवस्था हेर्दा बजारमा गत वर्षभन्दा बढी तरुल भित्रिने अवस्था देखिएको जानकारी दिनुभयो । बजारमा अहिलेसम्म तराईबाट आउने तरुल मात्रै आइरहेको र पहाडी जिल्लाबाट आउने महँगो तरल भने मङ्गलबारदेखि भित्रिने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार बजारमा अहिलेसम्म तराईका जिल्लाबाट आउने घर तरुल र फाटफुट रूपमा सिमलतरुल आएको छ । सिमल तरुल, वन तरुल, पताले तरुल, हात्तीपाइले तरुल, घर तरुल मङ्गलबारदेखि भित्रिन सुुरु गर्ने सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । समितिका अनुसार माघे सङ्क्रान्तिमा सिमल तरुल, वन तरुल, पताले तरुल, घर तरुल र हात्तीपाइले तरल बढी माग हुने गर्छ र यी जातका तरुल अन्यभन्दा महँगा पनि हुन्छन् । कालीमाटीका थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बजारको ठूलो हिस्सा तराईका घर तरुलले ओगटे पनि मूल्य हिसाबले पहाडबाट आउने पताले तरुल, वन तरुल, इस्कुसका जरा, पानी तरुल महँगो हुने गरेको बताउनुभयो ।

समितिले सोमबारका लागि तोकेको तरुलको मूल्य वन तरुल प्रतिकेजी १२० देखि १५० रुपियाँ, हात्तीपाइले÷घर तरुल ८० रुपियाँ, इस्कुसका जरा प्रतिकेजी १४० रुपियाँ, रातो पताले १४० रुपियाँ, सिमल तरुल १२० रुपियाँ थोक मूल्यमा कारोबार भइरहेको छ । पर्याप्त तरुल भित्रिएमा अहिलेको मूल्यमा घट्न पनि सक्छ र कम आएमा अहिलेको मूल्य अधै धेरै बढ्ने उहाँको भनाइ छ । समितिका अनुसार माघे सङ्क्रान्तिका लागि काठमाडौँ उपत्यकामा सर्लाही, सुनसरी, धरान, चितवन र धादिङबाट तरुल भित्रिएको छ ।

यस वर्षको माघे सङ्क्रान्तिलाई लक्षित गरेर पिँडालु दुई लाख १५ हजार ३२८ केजी, सखरखण्ड एक लाख ३५ हजार ८७० केजी भित्रिएको समितिले जनाएको छ । गत वर्ष कालीमाटीमा भित्रिएको तरुलमध्ये ४३ प्रतिशत सर्लाही, १४ प्रतिशत मकवानपुर, १३ प्रतिशत धादिङबाट र ४ प्रतिशत भारतबाट आएको छ भने बाँकी २६ प्रतिशत अन्य जिल्लाबाट आएको समितिको तथ्याङ्कमा उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?