logo
२०८० चैत्र १६ शुक्रवार



सुन्तला बेचेर दोसल्लेमा रु. पचास लाख भित्रियो

अर्थ |


सुन्तला बेचेर दोसल्लेमा रु. पचास लाख भित्रियो


म्याग्दी, माघ ५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले सुन्तला बिक्रीबाट यसवर्ष रु ५० लाखभन्दा बढी रकम भित्रियाएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका दोसल्लेका किसानले उत्पादन गरेका सुन्तला बिक्रीबाट यस वर्ष रु. ५० लाखभन्दा बढी रकम भित्रियाएका हुन् ।

पोखरा, चितवन र काठमाडौंबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो सरदर रु ८० का दरले सुन्तला खरिद गरेका हुन् । दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले ६२ हजार ५०० किलो सुन्तला निकासी हुँदा रु। पचास लाख गाउँमा भित्रिएको जानकारी दिनुभयो ।

“गतवर्ष रु. २५ लाख बराबरको सुन्तला बिक्री भएको थियो”, उहाँले भन्नुभयो “नयाँ बिरुवा थपिएका, रोगकीराको समस्या कम र अनुकूल मौसमका कारण उत्पादन दोब्बरले बढ्यो ।” विगतका वर्ष मङ्सिर महिनामै सुन्तला बिक्री गरिसकेका हुन्थ्ये । यसपाली बढी मूल्य पार्नका लागि यहाँका किसानले पुसको अन्तिम सातादेखि सुन्तला टिपेर बजार पठाउन थालेका छन् ।

एक जना किसानले रु. तीस हजारदेखि रु. दुई लाख तीस हजारसम्मको सुन्तला बिक्री गरेका समूहले जनाएको छ । व्यापारीसँग समन्वय गरेर सुन्तला बजार पठाउन समूहले समन्वय गरेको थियो । ५७ घरधुरीको बसोबास रहेको दोसल्ले गाउँभरी सुन्तलाखेती भएको छ । पन्ध्र हजार बोटमध्ये करिब आठ हजार बोटबाट उत्पादन हुन थालेको छ । परम्परागत कोदो, मकै र गहुँ खेतीको विकल्पमा सुन्तला खेती गरेको किसान खगप्रसाद पाइजाले बताउनुभयो । वर्षमा तीन मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट रु. पचास हजारभन्दा बढी आम्दानी भएको उहाँले बताउनुभयो । सडक यातायातको सुविधा भएपछि बाँझिएकाे पाखो बारीमा झाडी फाडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाएका छन् ।

दश वर्षअघि स्थानीयवासी मिलन गर्बुर्जाको अगुवाइमा दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान सुरु भएको थियो । भीरालो पाखोमा अवस्थित दोसल्लेको भूगोल सुन्तला खेतीका लागि अनुकूल रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । दोसल्लेमा सुन्तलाखेती विस्तारका लागि नयाँ बिरुवा वितरण, किसानलाई बगैँचा र कीरा व्यवस्थापनसम्बन्धी स्थलगत तालिममा सहयोग गरिएको उहाँले बताउनुभयो ।

बेमौसममा सुन्तला बिक्री गर्नका लागि दोसल्लेमा तत्कालीन कृषि विकास कार्यालयको सहयोगमा सुन्तला भण्डार गृहको भवनसमेत निर्माण भएको थियो । दोसल्लेका बासिन्दासमेत रहेकी अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले सिँचाइ सुविधा र थप जमिनमा सुन्तलाखेती विस्तारमा जोड दिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?