logo
२०८० चैत्र १६ शुक्रवार



बेनी नगरपालिका भित्रका विद्यालय पनि माघ १५ सम्म बन्द

शिक्षा |
प्रदेश |


बेनी नगरपालिका भित्रका विद्यालय पनि माघ १५ सम्म बन्द


अमृतप्रसाद पौडेल
बेनी, माघ ५ गते । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका क्षेत्रका सबै शैक्षिक संस्थाहरु माघ १५ गते सम्मका लागि बन्द हुनेभएको छ । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालकाअनुसार कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको फैलावट बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै शैक्षिक संस्थहरु बन्द गर्ने निर्णय भएको हो ।

ढकालले भन्नुभयो “बुधबार बेनी नगरपालिकाको कोभिड द्रुत प्रतिकार्य टिम (क्युआरटी) को बैठकले १० दिनका लागि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । बेनी नगरपालिका– ७ बेनीमा रहेको बेनी सामुदायिक विद्यालयका विद्यार्थी र बेनी नगरपालिका– ९ नेप्टेचौरको राष्ट्रिय माध्यमिक विद्यालयमा पनि विद्यार्थीलाई कोरोना पोजिटिभ पाइएपछि दुवै बिद्यालय बुधबारदेखि बन्द गर्ने निर्णय विद्यालय व्यवस्थापनले गरेको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताउनुभयो ।

दुई वटा विद्यालय बन्द गर्ने निर्णय व्यवस्थापनले गरिसकेको अवस्थामा क्युआरटीको बैठकले नगरपालिका क्षेत्रका सबै शिक्षण संस्था बन्द गर्ने निर्णय भएको ढकालको भनाई छ । बेनी नगरपालिकाभित्र निजि तथा संस्थागत गरी ७० विद्यालय र एउटा क्याम्पस छ । सामुदायिक तर्फ ४१ आधारभूत, १५ माध्यमिक र १ क्याम्पस एवम् १४ वटा निजि विद्यालय सञ्चालित रहेका छन् ।

सामुदायिकतर्फ कक्षा १ देखि ५ मा दुई हजार तीन सय ६१, बालबिकासमा छ सय ७३, कक्षा छ देखि ८ सम्म एक हजार छ सय ८७ र कक्षा ९ देखि १२ सम्म एक हजार एक सय ८७ जना गरी पाँच हजार नौ सय आठ विद्यार्थी अध्ययनरत रहेको बेनी नगरपालिकाका शिक्षा शाखाका मोहन बानियाँले बताउनुभयो । त्यस्तै, नगरपालिका भित्रका निजि विद्यालयमा दुई हजार आठ सय विद्यार्थी अध्ययनरत रहेको प्याब्सन म्याग्दीका सदस्य राजु के.सीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?