logo
२०८१ फाल्गुन १५ बिहीवार



वृद्धाभत्ता मासिक पाँच हजार पुग्छ : उपप्रधानमन्त्री पोखरेल 

राष्ट्रिय |


वृद्धाभत्ता मासिक पाँच हजार पुग्छ : उपप्रधानमन्त्री पोखरेल 
फाईल तस्विर


ओखलढुङ्गा, फागुन १ गते । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पु¥याउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । चिसङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उहाँले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक रु पाँच हजार दिने बताउनुभएको हो ।    
    
 गत आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्तामा बढावा दिने तयारी गरिए पनि पार्टीभित्रको एउटा समूहले विरोध जनाएका कारण त्यो सम्भव नभएको भन्दै उहाँले आगामी दिनमा सरकारले लक्ष्यअनुसार काम गर्ने उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले काम गर्न नदिएर सरकारलाई असफल बनाउने र मुलुकलाई पछाडि धकेल्ने प्रयास गरेकाले ताजा जनादेशमा जानुपरेको बताउनुभयो । विकास र समृद्धिका अभियान निरन्तर अघि बढ्ने उहाँको भनाइ थियो ।    
    
 उहाँले अघिल्लो निर्वाचनमा प्रधानमन्त्री ओलीको हस्ताक्षरबाट उम्मेदवारी सिफारिस भएको स्मरण गर्दै विगतदेखि नै पार्टीको नेतृत्व ओलीले गरेकाले अहिले पनि ओली नेतृत्वको नेकपा नै आधिकारिक हुने बताउनुभयो । सूर्य चिह्न पनि ओली नेतृत्वको नेकपाकै हुने उहाँले जिकिर गर्नुभयो ।    
    
 खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले खानेपानीको समस्या समाधान गर्ने बताउनुभयो । ओखलढुङ्गासहितका पहाडी जिल्लामा खानेपानीको अभाव देखिएकाले त्यसको समाधानमा सरकार जुटेको बताउनुभयो । प्रधानमन्त्रीको नेतृत्वमा मुलुकको विकास अघि बढेको जिकिर गर्दै थापाले वर्तमान सरकारको विरोध गर्नेहरु विकासका बाधक बनेको आरोप लगाउनुभयो ।    
    
 प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपाको प्रचण्ड–नेपाल समूहलाई प्राइभेट कम्पनीको सङ्ज्ञा दिनुभयो । उहाँले प्रचण्ड–नेपाल समूहले फोहोरी खेलमा मुलुकलाई लैजान खोजेपछि ताजा जनादेशमा जानुपरेको बताउनुभयो । प्रधानमन्त्रीको कदम असंवैधानिक बताउने समूह नै विधिविधानभन्दा फरक बाटोमा गएको उहाँले आरोप लगाउनुभयो ।    
    
 प्रदेश नं १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले जिल्लाको विकासमा आफूले गरेका पहलबारे विस्तृतमा जानकारी गराउनुभएको थियो । उहाँले चिसङ्खुगढी गाउँपालिकामा प्रदेश सरकारबाट आएको बजेटबारे जानकारी गराउँदै स्थानीय सरकारले अपेक्षित काम गर्न नसकेको बताउनुभयो ।    
    
 ओलीको पक्षमा जनमत बटुल्न जनसभा आयोजना गरिएको चिसङ्खुगढीका नेकपा नेता अशोक थापाले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा हजारौँ सर्वसाधारण र नेकपाका नेता कार्यकर्ताको उपस्थिति थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?