काठमाडौं, कात्तिक २७ गते । राष्ट्रिय जनगणनाका लागि सभामुख अग्निप्रसाद सापकोटाको व्यक्तिगत तथा पारिवारिक विवरण सङ्कलन गरिएको छ ।
जनगणना सञ्चालन संयोजन समितिका राष्ट्रिय संयोजक डा रामकुमार फुँयालको नेतृत्वमा केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठसहितको टोलीले आज सभामुख निवास लैनचौर पुगेर उहाँको विवरण सङ्कलन गरेको हो ।
सो अवसरमा सभामुख सापकोटाले जनगणनामा सहभागी भइ साँचो विवरण उपलब्ध गराउन सबैमा आह्वान गर्नुभएको थियो । विभागका महानिर्देशकसहितको टोलीले यसअघि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको विवरण सङ्कलन गरेको थियो ।
‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ जनगणना यही कात्तिक २५ देखि आगामी मङ्सिर ९ गतेसम्म हुँदैछ ।