कृष्ण तिवारी ,
रौतहट, कात्तिक २८ गते । रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्ड अन्तर्गत झुन्खुनवा चोक नजिक शनिवार राति कार दुर्घटनामा परेर मृत्यु भएका चारै जना भारतीय नागरिकको सनाखत भएको छ ।
झुन्खुनवा चोकस्थित पेट्रोलपम्प भन्दा दुईसय मिटर उत्तर गौरतर्फ जाँदै गरेका युके १२ सि २९०० भारतीय नम्वरको स्वीफ्ट कार गए राति ९ बजे अनियन्त्रित भई दुर्घटना हुँदा सवार चारैजना भारतीय नागरिकको मृत्यु भएको थियो ।
अत्यधिक मदिरा सेवन गरी चलाएको कार तीव्र गतिका कारण अनियन्त्रित भई सडकभन्दा २० मिटर छेउमै रहेको ठुलो खाडलमा खसेको थियो । घटनास्थल नजिकै बम नहरमा रहेको सुरक्षा चेकजाँचको टोलिले तत्काल कारको सिसा फुटालेर उपचारको लागि जिल्ला अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको थियो ।
मृतक चारै जनाको खल्तीबाट बरामद आइडी कार्डको आधारमा भारत विहार राज्यको पूर्वी चम्पारण जिल्लाको पताही थाना बेतौना घर भएका २५ वर्षीय दिनानाथ साह, ३० वर्षीय अरुण साह, २८ वर्षीय दिलीप महतो र २७ वर्षीय अमित महतो रहेकाे भएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताउनुभयो। मृतकको पहिचानक लागि भारतीय प्रहरीलाई तस्वीरसहितको म्यासेज पठाएपछि उनीहरुका परिवारजन आएर सनाखत भएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिनुभयो।
स्थानीय देवाही गोनाही नगरपालिका ४ स्थित भिनाजु नरेश साहको घरमा छठको प्रसाद पुर्याउन आएका चारैजनालाई रातिको समयमा रोक्ने निकै प्रयास गरे पनि नमानेर हिंडेकाले उक्त घटना भएको पीडित परिवारको बुझाइ छ ।