धनगढी, मङ्सिर २ गते । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले पार्टी सम्बन्धित स्टिकर प्रत्येक घर–घरमा वितरण गर्ने अभियान सञ्चालन गर्ने जनाइएको छ ।
बिहीबार धनगढीमा सुदूपश्चिम प्रदेश कार्यालयको उद्घाटन कार्यक्रममा नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले सो स्टिकरमा पार्टीको विभिन्न नारा एवम् विवरण रहने बताउनुभयो ।
अध्यक्ष नेपालले प्रत्येकको घर–घरमा स्टिकर बिक्री गनुपर्ने र सबैभन्दा बढी स्टिकर बिक्री गर्नेको नाम सबैभन्दा माथि, कम बिक्री गर्नेलाई अन्तिममा र बिक्री नै नगर्नेलाई कालो पानामा नाम लेखिने बताउनुभयो ।
पार्टीमा राम्रो काम गर्ने र परिणाम दिनेको आधारमा मूल्यांकन गरिने बताउनुहुँदै नेपालले स्टिकर बिक्री गर्ने टोली गठन गर्दा कोही पनि छुट्न नहुने बताउनुभयो ।
'हामीले पहिला निर्माण गरेको ओरिजिनल पार्टी, नेकपा एमालेकै भवनमा आज नेकपा (एकीकृत समाजवादी) को झण्डा फहराउन सफल भएका छौँ। सुदूरपश्चिम प्रदेशमा हाम्रो पार्टी एक नम्बरमा छ र अझै बन्दै जानेछ । यहाँहरुलाई म विशेष धन्यवाद दिन चाहन्छु । तपाईँ हामी हातेमालो गर्दै अघि बढौं’, अध्यक्ष नेपालले भन्नुभयो ।