गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलविरुद्ध दश दलीय गठबन्धन बने पनि एमाले एक्लै बलियो रहेको बताउनुभएको छ । आगामी निर्वाचनमा एमाले एक्लै चुनावमा गएर सम्मानजनक बहुमत ल्याउने उहाँले दावी गर्नुभयो ।
नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटीले शनिबार यहाँ आयोजना गरेको नेपाल सम्बत् ११४२ को शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभयो । एमाले नेतृत्वको सरकारविरुद्ध सबै दलहरु मिलेर सरकार भत्काए पनि आगामी निर्वाचनबाट पुनः एमाले सरकारको नेतृत्वमा आउने उहाँले दावी गर्नुभयो ।
देशको विकासमा व्यवधान खडा गर्न जनताबाट निर्वाचित दलको सरकार भत्काएर अर्को सरकार गठन गरिएको पनि उहाँले टिप्पणी गर्नुभयो । “जनताद्वारा निर्वाचित बहुमत प्राप्त सरकार ढलाएर लोकतन्त्रको हुर्मत र संविधानको धज्जी उडाउने काम भएको छ” अध्यक्ष ओलीले थप्नुभयो, “आगामी निर्वाचनबाट पुनः हामी सम्मानजनक बहुमतसाथ सरकारको नेतृत्वमा आउँछौं ।”
काठमाडौं उपत्यका जीवित संग्रहालय भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले नेपाल देश प्राकृतिक सम्पदा, मानव निर्मित सम्पदाले सुन्दर र धनी रहेको चर्चा गर्नुभयो । सभ्यता र संस्कृतिको उदगम देश नेपाल भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “यो देश शास्त्र, ज्ञान, संगीत, कला, छन्द, धुन, गीत, नृत्य आदिको उदगम स्थल हो ।” सो अवसरमा अध्यक्ष ओलीले नेपाल सम्बत् ११४२, छठ, तिहार पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले देशको शीर उँचो पार्नेगरी काम गरिरहेको बताउनुभयो । जीवित सम्पदाको संरक्षणमा महानगरले ध्यान दिएको चर्चा गर्नुहुँदै उहाँले ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरुलाई साझा यातायातमा उपत्यकाभरि निःशुल्क यातायातको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
नेपाल सम्बत्को शुरुवातकर्ता शंखधर साख्वा भएपनि उहाँलाई राष्ट्रिय विभूतिकोरुपमा स्थापित एमालेले गरेको बताउनुभयो । २०५५ सालदेखि नेपाल सम्बत्को अवसरमा एमालेले शुभकामना आदानप्रदान गर्दैआएको उहाँले बताउनुभयो ।
एमाले काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, केन्द्रीय सदस्यहरु कृष्णगोपाल श्रेष्ठ, रामेश्वर फुयाल, विना श्रेष्ठ लगायतको सहभागिता थियो ।