logo
२०७९ जेष्ठ ११ बुधवार

  किन पूर्ण सुरक्षित छैन हेलिकाेप्टर यात्रा ?  



जहाज जस्ताे उचाइमा जान सक्दैन जमिन हेरेर उड्नुपर्छ

मुख्य समाचार |


जहाज जस्ताे उचाइमा जान सक्दैन जमिन हेरेर उड्नुपर्छ


काठमाडौं, मङ्सिर २३ गते । बुधबार भारतको तामिलनाडुमा भारतीय वायु सेनाको एमआई–१७ भी ५ हेलिकप्टर दुर्घटना हुँदा भारतीय सेनाका चिफ डिफेन्स स्टाफ जेनरल विपिन रावतसहित १३ जनाको मृत्यु भयो । यो पछिल्लो उदाहरण हो । हेलिकप्टर दुर्घटनामा नेपालमा भिआइपी परेका थुप्रै घटना छन् ।

नेपाली हवाई दुर्घटनाको इतिहास हेर्दा डेढ दर्जन बढी हेलिकप्टर दुर्घटना हुँदा उच्च ओहोदाका व्यक्तिको मृत्यु भएको छ । ताप्लेजुङको घुन्सामा २०६३ असोज ७ गते हेलिकप्टर दुर्घटना हुँदा तत्कालीन वनमन्त्री गोपाल राईसहित २४ जनाको निधन भएको थियो । त्यसैगरी वि. सं. २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटना हुदाँ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पालगायत ६ जनाको मृत्यु भयो । यता राराताल अवलोकन गर्ने क्रममा हेलिकप्टर दुर्घटना हुँदा प्रेक्षा शाहको २०५८ साल कात्तिकमा मृत्यु भएको थियो । प्रेक्षा पूर्वराजा वीरेन्द्र शाहका कान्छा भाइ धिरेन्द्र शाहकी श्रीमती हुन् ।

नेपालमा भएका हवाई दुर्घटनाका प्रतिवेदनले ठोस कारण दिन सकेका छैनन् । भारतीय सेनाका चिफ डिफेन्स स्टाफ चढेको विशेष हेलिकप्टर दुर्घटनालाई यो क्षेत्रका विज्ञले चासोका साथ हेरेका छन् । एमआई–१७ भी ५ हेलिकप्टरको इन्जिनको क्षमता अरु हेलिकाेप्टर भन्दा राम्रो हुनुका साथै हाइअल्टिच्यूडसम्म उड्न सक्ने हेलिकप्टर पाइलट एवं पूर्वब्रिगेडियर जनरल गुञ्जमान लामा जानकारी दिनुभयो ।

हेलिकाेप्टर यात्रा सबैको सफल हुनुपर्छ । तर, भिआइपी चढ्ने हेलिकाेप्टरका पाइलटले अलग तालिम लिएका हुन्छन् । ‘दुर्घटना कतिबेला हुन्छ भनेर भन्न सकिँदैन । तर, भिआइपी र भीभीआइपी उडान गर्न पाइलटले आवश्यक तालिम लिएको हुनुपर्ने हुन्छ’, लामाले भन्नुभयो ।

सरकारले छुट्टै शाखा बनाएर भीभीआइपी उडान गर्दै आए पनि हाल नेपाली सेनामार्फत भीभीआइपी उडान हुँदै आएको छ । पछिल्लो समय नेपालमा निजी कम्पनीका हेलिकप्टरको प्रयोग ह्वात्तै बढेपछि भिभिआइपी उडान जथाभावी हुने गरेको पाइएको छ । जुनसुकै पाइलटले भिआइपी र भिभिआइपी उडान गर्ने गरेको देखिन्छ ।

नेता तथा कार्यकर्ता खुसी पार्न उच्च तहका व्यक्तिले जथाभावी उड्ने गरेको उहाँको भनाइ छ । यसरी जहाज र पाइलटको अवस्थालाई अध्ययन नै नगरी उड्नुले भिआइपी बढी दुर्घटनामा पर्ने गरेका छन् । ‘भिभिआइपी उडानका लागि पहिले टेस्ट ल्यान्डिङ गरेर सुरक्षाको अवस्था पूर्णरुपमा हुनुपर्र्छ, हवाई बाटोको अध्ययन गरेपछि मात्र उडान गर्नुपर्ने हुन्छ’, लामा भन्नुहुन्छ ।

नागरिक उडड्यन प्राधिकरणको तथ्याङक अनुसार एक दशक नबित्दै नेपालमा १२ वटा हवाई दुर्घटना भएका छन् । यी मध्ये सन् २०१० मा एक, २०११ मा एक, २०१४ मा एक, २०१५ मा दुई, २०१६ मा दुई, २०१८ मा चार र २०१९ मा दुई वटा दुर्घटना भएका छन् ।

जमिन छाडेर आकाशमा उड्ने एयरक्राफ्टबारे मौसम र भूगोलको अवस्थाबारे खास जानकारी दिने प्रणाली नहुँदा बढी दुर्घटना हुने गरेको हेलिकाेप्टर सञ्चालक मिङमा शेर्पाले बताउनुभयो । विमानस्थलबाट अर्को विमानस्थलको मौसमी अवस्थाको जानकारी भए पनि हवाई रुट र अन्य क्षेत्रको जानकारी नहुनु पनि दुर्घटनाको कारण भएको उहाँ बताउनुहुन्छ ।

‘हेलिकप्टर जहाज जस्तै माथि उड्न सक्दैन र जमिनलाई पछ्याउदै उड्नु पर्ने हुँदा दुर्घटनाको जोखिम बढी हुन्छ’, शेर्पा भन्नुहुन्छ । व्यवस्थित हेलिप्याड बाहेकमा पनि अवतरण गर्नुपर्ने बाध्यताले पनि दुर्घटना हुने गरेको उहाँको अनुभव छ । सरकारले निर्माण गरेका हेलिप्याडमा मानवीय जनशक्ति भन्दा पनि उपकरणको प्रयोगलाई जोड दिनुपर्ने उहाँको भनाइ छ ।

हाल नेपालमा नेपाली सेनाबाहेक सिम्रिक एयर, अल्टिच्यूड एयर, हेली एभरेष्ट, एयर डाइनेस्टी, फिस्टेल एयर, मनाङ एयर, मुस्ताङ एयर, कैलास एयर, प्रभु हेली कम्पनीका ३० बढी हेलिकप्टरले व्यवसायिक उडान भर्दै आएका छन् । विश्वभर हेर्दा हेलिकप्टरको प्रयोग आकस्मिक उद्धारका लागि मात्र प्रयोग गर्ने प्रचलन भए पनि पछिल्लो समय नेपालमा भने हेलिकप्टरले दैनिक रुपमा व्यवसायिक उडान नै गर्दै आएका छन् । हेलिकप्टरबाट व्यवसायिक उडान गर्ने नेपालमात्र एक भएको जानकारको भनाइ छ ।

दुर्घटना न्युनिकरणका लागि पाइलटलाई तालिम, हेलिप्याडको सुधार, जहाजको प्रविधिमा थप व्यवस्थासँगै पाइलटको तालिम र अध्ययन अनुगमन, जहाजको मर्मतको अवस्थालाई नियमित रुपमा जाँच गर्दै आएको नेपाल नागरिक उडड्य प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले बताउनुभयो । ‘प्राधिकरणले भिआइपीलाई मात्र छानेर उडान गर भन्दैनौ, लाइसेन्स प्राप्त पाइलटले जो कोहीलाई उडाउन सक्छ’, उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?