logo
२०८० चैत्र १५ बिहीवार



परम्परागत डोको बुनेर जीविकोपार्जन

अर्थ |
प्रदेश |


परम्परागत डोको बुनेर जीविकोपार्जन


शेरबहादुर सार्की
बाजुरा, माघ २ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिका –६ बुडाबाडाका डम्मबहादुर बुढा डोका बुनेर जीविकोपार्जन गर्दै आउनुभएको छ । गाउँका युवाहरु सबै रोजगारी गर्न भारत जानेगरेको भएपनि बुढाले भने घरमै डोका, डाला, सुप्पा बुन्दै गाउँमा बिक्री गरेर जीविकोपार्जन गरिरहनुभएको हो ।

बुढाले यही व्यवसायबाट घर खर्चसँगै दुई छोरा, दुई छोरीलाई पनि विद्यालयमा पठनपाठन गराउन सफल हुनुभएको छ । बुढाबुढीलगायत ६ जनाको परिवार रहेको बुढाले छोरा छोरीलाई उच्च शिक्षासम्म अध्ययन गराउने बताउनुभयो । “यसै व्यवसायबाट नै छोराछोरीलाई उच्च अध्ययनसम्म पठन पाठन गराउँने लक्ष्य राखेको छुँ” उहाँले भन्नुभयो ।

गाउँ नजिकै रहेको बन मेलापातबाट निगालोको चोया ल्याएर त्यो चोयाबाट विभिन्न किसिमका डोका, डालो, सुप्पा लगायतका सामग्री तयार गरेर गाउँ बजारमा बिक्री गर्दैआएका बुढाले अहिलेसम्म रोजगारीका लागि अन्त धाउन नपरेको बताउनुभयो ।

बुढाले भन्नुभयो, “मेरो अघिल्लो पुस्ताले पनि यो व्यवसायले नै घर खर्च चलाउँदै आएका थिए । म पनि यो व्यवसायबाट नै घरपरिवारको खर्च चलाउँदै आएको छुँ । रोजागरीको लागि कतै जानुपरेको छैन् ।”

जसरी मेरो पुस्तालाई यो व्यवसाय चलाउन सहज थियो, त्यसरी अहिले मलाई यो व्यवसाय चलाउन त त्यति सहज छैन् । तैपनि व्यवसाय गर्न छोडेको छैन् उहाँले भन्नुभयो ।

पहिला पचासदेखि साठी डोका गाउँमा लगेर बिक्री गर्दा धेरै अन्न तथा पैसा आउने गरेपनि अहिले त्यति आम्दानी नरहेको उहाँले बताउनुभयो । “अहिले गाउँमा सडकको पहुँच छ, सबै ठाउँमा गाडी गुडिरहेको छ, केही पैसा भाडामै सकिन्छ, केही पैँसा खाना नास्तामौ खर्च हुन्छ, घरमा आइपुग्दा थोरै पैँसा मात्र बच्छ” बुढाले बताउनुभयो ।

स्थानीय सरकारले यो व्यवसायलाई व्यवसायीकरण गर्दै जाने हो भने याहाँका स्थानीयहरुलाई रोजगारी गर्न विदेश जानु नपर्ने उहाँको सुझाव छ । “एक दिनमा चारदेखि पाँचवटा डोको बुन्छु, एक डोकालाई पाँच सयमा बिक्री गर्छु” बुढाले थप्नुभयो, “डोका सबै बिक्री हुने हो भने म एक दिनमा दुई हजारभन्दा बढी कमाइ गर्न सक्छुँ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?