गोरखापत्र अनलाइन
काठमाडौं, माघ १६ गते । नेपाली काँग्रेसले आफ्नो भ्रातृ संस्था नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिको गठन गरेको छ । काँग्रेस सभापति देउवाले नेविसंघको केन्द्रीय तदर्थ कार्यसमिति गठन गर्नुभएको हो । विघटन भएको करीब एक वर्षपछि काँग्रेसले आफ्नो विद्यार्थी संगठनलाई सक्रिय बनाउन लागेको हो ।
सुनसरीका राजिव ढुंगानालाई केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षको जिम्मेवारीमा मनोनित गरिएको छ । काठमाडौंका मनोज वैद्य र पाल्पाका महेश्वरी कुँवरलाई महामन्त्रीको जिम्मेवारी दिइएको छ । काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र गरिने जानकारी दिनुभयो ।
विद्यार्थी नेताहरुले काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक अघि गत् मङगलबार सानेपास्थित पार्टी कार्यालयमा तोडफोड र विरोध गरेका थिए । लगत्तै सभापति देउवाले तदर्थ समिति गठन गरी छ महिनाभित्र नेविसंघको १२ औं केन्द्रीय अधिवेशन सम्पन्न गर्न निर्देशन दिनुभएको छ । तदर्थ कार्यसमितिका अध्यक्ष, महामन्त्री लगायतका सदस्यहरु भने केन्द्रीय अधिवेशवनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ ।
नेविसंघको केन्द्रीय कार्यसमिति गत् वर्ष माघ २९ गते विघटन गरिएको थियो । विघटन भएको मितिसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेविसंघको १२ औं अधिवेशनमा भाग लिन पाउने व्यवस्था गरिएको छ ।